२०८१ मंसीर ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यडा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने अपांगता

डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने अपांगता


शारीरक बनावटका कारणले नै साधारण रुपमा गर्न सक्ने काम गर्न नसक्ने वा त्यस्ता काम गर्न असहज हुने व्यक्तिलाई अपांगता भएका व्यक्ति भनिन्छ । आज हामी विश्व अपांग दिवस मनाउँदैंछौं । पछिल्लो एक नयाँ कानुनअनुसार शारीरिक रुपले अपांग भएकै कारण असक्षम भएका व्यक्ति समूहलाई असक्षम नभई ‘डिफ्रेन्ड वे अफ एबल’ अर्थात् ‘छुट्टै किसिमले सक्षम व्यक्ति समूह’ भनिनुपर्ने नियम बनेको छ ।

कुनै पनि व्यक्ति अपांगता हुनुपछाडिका थुप्रै कारण तथा घटनाक्रमहरु जोडिएका हुन सक्छन् । तर, जन्मजात रुपमा नै अपांग भएर जन्मिएका व्यक्तिहरु भने केही विशेष कारणहरुले गर्दा यस्तो समस्याको शिकार हुन पुग्छन् । गर्भावस्थामा रहँदा नै भ्रुणको उचित विकास हुन नसकेको खण्डमा र विभिन्न कमीकमजोरीको कारण शिशुहरु जन्मजात रुपमा नै अपांग जन्मिने हुन्छन् । यसका थुप्रै कारणहरु रहेका छन् ।

अपांगताका केही कारणहरु ?

  • वशांणुगत कारण
  • क्रोमोजमको गडबडी
  • गर्भवती गर्ने मद्यपान तथा धुम्रपान सेवन
  • आवश्यक पौष्टिक आहराको कमी
  • वातावरणीय प्रभाव
  • विकीरणहरुको प्रभाव
  • र, विभिन्न औषधीहरुको सेवन ।

रोकथाम तथा उपचारका उपायहरु

यसरी जन्मजात रुपमा बालबालिका अपांग भएर जन्निुका थुप्रै कारणहरुमध्ये केही कारणहरु हाम्रै गतिविधिको प्रमाण हुन्छन् भने केही कारणहरुलाई भने हामी रोक्न सक्दैनौ । जसमध्ये वंशाणुगत गुण पनि एक हो । सामान्यतयाः कुनै पनि महिलाको गर्भ बस्ने क्रममा आमा र बावु दुवैको क्रोमोजोममा देखा परेको गडबडी तथा कमीकमजोरीको कारण पनि बालवालिका अपांग जन्मिने हुन्छन् । यस्ता समस्या के कारणले देखा पर्छ, कुरा पत्ता लगाउन निकै गाह्रो हुने भएकोले यी कारणहरुलाई हामी रोक्न पनि सक्दैनौं ।

तर, यसबाहेकका पनि अन्य केही गतिविधिहरु छन्, जसलाई हामी हाम्रो गतिविधि तथा क्रियाकलापको परिवर्तनको माध्यमबाट नै रोक्न सक्छौ । यसको निमित्त कुनै पनि दम्पत्तीले आफ्नो बालवालिकामा यस्ता समस्या नदेखियोस्, भन्नका निम्ति सर्वप्रथम गर्भवत्ती हुने, बच्चा जन्माउने योजना गरेलगत्तै सर्वप्रथम आफ्नो स्वास्थ्य जाँच गराई सम्बन्धित चिकित्सकसँग आवश्यक सर—सल्लाह तथा सुझाव लिनु पर्दछ । यसलाई मेडिकल टममा ‘प्री–कन्सेप्नल काउन्सिल’ पनि भनिन्छ ।

यस्ता काउन्सिलबाट सम्बन्धित चिकित्सकले कुनै पनि दम्पत्ती तथा महिलालाई गर्भवत्तीको दौरानमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको राम्ररी जानकारी प्रदान गर्ने भएकोले यो पारिवारिक योजना बनाएका प्रत्येक दम्पत्तीको निमित्त अत्यावश्यक र उचित रहन्छ । तर, यदि कुनै पनि योजनाबिना नै आफ्नो गर्भ बस्यो भने त्यस समयमा महिलाले आफू गर्भवत्ती भएको समयको पहिलो महिनादेखि नै नियमित रुपमा गर्भ जाँच गराउनु पर्छ । आवश्यक जिज्ञासा र समस्याहरु खुलस्त रुपमा चिकित्सक समक्ष खुलाउनु पर्दछ ।

यसबाहेक प्रत्येक दम्पत्ती अझ विशेष गरेर महिलाले गर्भावस्थाको दौरानमा के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्नेबारे राम्ररी जानकार हुनु पर्दछ । र, आफूमा केही समस्या देखा परेमा सम्बन्धित चिकित्सकसँग तुरुन्त परामर्श लिनुपर्छ । यस्तै वर्तमान परिप्रेक्ष्यमा भने हामी अस्पतालमा चेकजाँचको निम्ति जाँदा अल्ट्रासाउण्ड गर्ने भएकोले हाल यसले पनि धेरै हदसम्म यस्ता समस्याहरु पहिचान गर्न सकिने भएकोले चिकित्सकको परामर्शअनुसार अल्ट्रासाउण्ड गराउनु पनि उचित मानिन्छ ।

उपचार 

कुनै पनि बालवालिका जन्मजात रुपमा अपांगता भएर जन्मिएको अवस्थामा सर्वप्रथम हामीले उक्त शिशुमा देखिएको समस्या सामान्य छ वा जोखिमयुक्त छ भन्ने कुराको निक्र्यौल गर्नुपर्छ । जस्तोः कुनै पनि बालवालिकामा भएको ६ वटा औंला, कानको भागमा पलाएको मासु तथा ओठ चिरेकोजस्ता समस्याहरुलाई सामान्य समस्याको रुपमा लिइन्छ । यी समस्याहरुलाई भने हामी अप्रेशनको माध्यमबाट निर्मुल बनाउन सक्छौ ।

तर, कुनै कुनै बालवालिकामा भने मुटु तथा मिर्गौला सम्बन्धि विभिन्न समस्या, पेट र ब्रेन नै राम्ररी नबन्नेजस्ता गम्भीर समस्याहरु देखा पर्ने गर्छ । यस्तो अवस्थामा भने हामीले उनीहरुको उपचार गर्न सक्दैनौं । तसर्थ, यस्ता समस्या नदेखियोस् भन्नको निमित्त नै हामीले परिवारको योजना बनाउनु अगाडि नै सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ