विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निछ । लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता प्राप्त हुन्छ । यसमध्ये ७ प्रतिशत दम्पतीमा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना रहने र बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिने सिनियर गाइनोलोजिष्ट कन्सल्ट्यान्ट डा. अनिषा अग्रवाल बताउछिन् ।
उनका अनुसार यी हुन् बाँझोपनका कारण
- महिलाको महिनावारी गडबड हुनु – महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ । कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ।
- डिम्बवाहिनी नली बन्द हुनु – जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।
- पाठेघरको संक्रमण – यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहियाजस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।
- पाठेघरको ट्युमर – पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ ।
- महिलाको बढ्दो उमेर – ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।
- जन्मजात पाठेघरको विकास नहुनु
- गर्भपतन – पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ ।
- पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) ।
- पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा ।
पुरुषको गुप्तांगको विकास राम्रोसँग नभएमा ।
पुरुषमा सन्तान नहुने कारण
– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।
– वीर्यमा शुक्रकीट उत्पादन नहुनु ।
– वीर्यमा संक्रमण ।
– शुक्राणुको बनावटमा खराबी ।
– हार्मोनमा गडबडी ।
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।
– शुक्रनली वा अन्य भागमा केही अवरोध हुनु ।
महिलामा सन्तान नहुने कारण
– अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै स–साना डिम्ब बने पनि नबढ्ने ।
– पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।
– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुँदा ।
– हार्मोनमा गडबडी ।
– पाठेघरको झिल्लीमा मासु बढ्नु ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।
बाँझोपनको उपचार
– उपयुक्त परामर्श र काउन्सिल्लिङ : निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सिलिङ प्रदान गर्नुपर्छ । आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतीको घर–परिवारसहितलाई पनि काउन्सिल्लिङ गर्नुपर्ने हुन्छ ।
–औषधी पद्धतिद्वारा उपचार र मेडिकल थेरापी : महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन clomipnene औषधी प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्याउँछ ।
– आइयुआई र आइभिएफ प्रविधि : आइयुआई भन्नाले पुरुषको वीर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब २० प्रतिशतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ । आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ । त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ । यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ । यो साधारणतयाः ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ ।
– शल्यक्रिया, ल्याप्रोस्कोपिक : यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ ।
– हिस्टेरोस्कोपिक : यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली यौनांगको बाटोबाट निकालिन्छ ।
बाँझोपन समाधानको उपायहरु
– विवाह समयमा गर्ने
–समयमा बच्चा जन्माउने
– असुरक्षित गर्भपतन नगर्ने
– इन्फेक्सनको समयमा नै उपचार गर्ने
– गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषज्ञहरुसँग परामर्श लिने
–समय समयमा पाठेघरको चेकजाँच गर्ने ।