काठमाडौं–नेपाल, बंगलादेश, भुटान र थाइल्याण्ड विश्व स्वास्थ्य संगठन (डब्ल्यु.एच.ओ) दक्षिण–पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो मुलुक बनेका छन् । यी देशहरुमा पाँच वर्षमूनिका बालवालिकाहरुमा उक्त प्राण घातक रोगको संक्रमण एक प्रतिशतभन्दा कम रहेको डब्ल्यु.एच.ओले शुक्रबार घोषणा गरेको हो ।
‘जुनसुकै समयमा हरेक स्थानमा प्रत्येक बालवालिकासम्म हेपाटाइटिस बी भ्याक्सीन पु¥याउने दृढ संकल्पले नै यो स्तरको उपलब्धि सम्भब भएको हो,‘ विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालले भनिन्, ‘यो सफलता यी देशका बालवालिका र समग्र नागरिकको स्वास्थ्यका विषयमा स्वास्थ्यकर्मी र समुदायको प्रतिबद्धता र अथक प्रयासको प्रमाण हो ।‘
नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डको ‘बच्चाको प्रतिरक्षा तथ्यांक‘को समीक्षापछि हेपाटाइटिस बी नियन्त्रण प्रमाणीकरण गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको विशेषज्ञ टोलीले यी देशको प्रमाणीकरण गर्न सिफारिस गरेको हो । विगत लामो समयदेखि यी देशका ९० प्रतिशत शिशुमा हेपाटाइटिस बी भ्याक्सीन पुगेको पाइएको छ ।
यी देशहरुमा पाँच वर्षका बालवालिकामा गरिएको अध्ययनले हेपाटाइटिस बीको प्रसार हुने दर एक प्रतिशतभन्दा कम रहेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका ११ देशहरुमा ‘राष्ट्रिय खोप कार्यक्रम’मार्फत बालवालिकालाई जन्मेको पहिलो वर्षमा ३ डोज हेपाटाइटिस बी भ्याक्सीन दिइएको थियो । जुन ८ राष्ट्रहरुले पनि आमाबाट शिशुमा सर्ने रोग नियन्त्रणका लागि जन्मेको समयमा (बर्थ डोज) हेपाटाइटिस बी खोप दिएका छन् ।
बाल्यकालमा हेपाटाइटिस बीको संक्रमण नियन्त्रणले वयस्क अवस्थामा क्रोनिक इन्फेक्सन, कलेजोको क्यान्सर र सिरोसिसबाट समेत रक्षा गर्छ ।
दक्षिण–पूर्वी एसिया क्षेत्र खोप कार्य योजना अन्तर्गत सन् २०२० सम्ममा यी राष्ट्रमा इम्युनाइजेसनको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्ने लक्ष्यले गति लिएको छ ।
‘हेपाटाइटिसलाई सहजै नियन्त्रण र उपचार गर्न सकिन्छ । सदस्य राष्ट्रहरुले यसका विषयमा जनचेतना फैलाउने र सुरक्षित सुईको प्रयोग, सुरक्षित रक्तदान, संक्रमण नियन्त्रण र रोकथाम जस्ता अन्य निवारक उपायहरु अवलम्बन गर्न आवश्यक छ,‘ क्षेत्रिय निर्देशकले भनिन् ।
रोकथाम गर्न सकिने भए पनि हेपाटाइटिसका कारण दक्षिण–पूर्वी एसिया क्षेत्रमा प्रत्येक वर्ष ४ लाख १० हजार मानिसहरुको ज्यान जाने गरेको छ, जममा धेरै युवावस्थाका रहेका छन् । झण्डै ९० मिलियन मानिसहरु क्रोनिक लिभर रोगहरुबाट संक्रमित छन्, जुन यो क्षेत्रमा लिभर क्यान्सर र सिरोसिसको प्रमुख कारक बनेको छ ।