मानिसको शरीर संरचना र प्रकृति, हिँडडुल गरिरहनु र अंगहरूलाई चलायमान बनाइरहनु पर्ने किसिमको छ । यसका मांशपेशी, भित्री अंग, रगत, रासायनिक तत्व, ज्ञानेन्द्रीय, कर्मेन्द्रीय, दिमाग, स्नायु, जोर्नी, हड्डी, पाचन प्रणाली आदि सबैले शरीर चलायमान भएमा मात्र राम्रोसँग आ–आफ्नो काम गर्नसक्दछन् । हामी धेरैले अनुभव गरेका हौँला, जो वैज्ञानिक अनुसन्धानले पनि प्रमाणित गरेको छ— मानिस अल्छी, विलासी, हिँडडुल गर्न र नियमित ब्यायाम गर्न नचाहने भयो भने अंगप्रत्यंग शिथिल र प्रायः निष्कृय हुनथाल्दा अनेक रोग वा शारीरिक समस्याले आक्रमण गर्न थाल्छन् । त्यसमाथि अधिक चिल्लो, अति पोषक र धेरै खाने हो भने शरीर अतिमोटो हुने समस्या (ओबेसिटी) हुन्छ । यसकारण शारीरिक ब्यायामले मानव शरीरमा अत्यन्त महत्व राख्दछ । मान्नुहोस्, ब्यायाम वा शारीरिक सक्रियता स्वस्थ हुनका लागि खानपान, निद्राजस्तै जरुरी आवश्यक ठहराइएको छ ।
अरब मुलुक, युरोपेली, अमेरिकी तथा अन्य विकसित राष्ट्रमा डिपार्टमेन्टल स्टोरमा हिँडेर कसरत पुग्ने गरी तिनीहरूको निर्माण भएको छ । बलको काम मेशिनमा सारिएको छ । ब्यायामका लागि मात्र शारीरिक बलको काम आउन थालेको छ ।
ब्यायाम धेरै किसिमबाट गर्न सकिन्छ । डोरी नाघ्ने, नौका खियाउने, बिहान–बेलुकी डुल्ने, घरको भ¥याङ्मा धेरैबेर लगातार चढ्ने–ओर्लिने, हाइकिङ्मा जाने, टेबुल टेनिस, ब्याडमिन्टन आदि खेलहरू ब्यायामका राम्रा उपाय हुन् । एरोबिक अभ्यासलगायत चिनियाँहरूको ‘ताइची’ आदि धेरै विधाहरू आजकाल प्रचलित छन् । बाह« मिनेटभन्दा बढीको कुनै शारीरिक गतिविधि, जसले शरीरमा अक्सिजन ग्रहण बढाउँछ, लाई ‘एरोबिक’ भनी परिभाषित गरिएको छ । ब्यायामले उमेर हेरी ४० देखि ६० प्रतिशत बढी अक्सिजन ग्रहण बढाउँछ । हामीले लिने अक्सिजनमध्ये २० प्रतिशत मात्रा दिमागले खपत गर्छ भने ब्यायामबाट बढेको अक्सिजन ग्रहणबाट दिमागमा सोच्ने क्षमता, चेतना शक्ति, स्मरण शक्ति, स्नायु प्रणाली स्वतः बढ्छ । स्वस्थ दिमागको लागि ब्यायाम अति आवश्यक हुन्छ ।
शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयाघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाब, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन् र शारीरिक बल तथा मनोबलको विकासका लागि ब्यायाम सर्बोत्तम उपाय हो । ब्लडसुगर घटाएर नियन्त्रणमा राख्ने, मुटुसम्बन्धी (कार्डियोभास्कुलर) बिमार घटाउने, शरीरको बोसो एवं मोटोपन घटाउने, शरीर दुख्ने वा शथिलता वा थकान हटाउने, स्वासप्रश्वास इन्फेक्सनलाई २९ प्रतिशतसम्म घटाउन सकिने वैज्ञानिक ठहर, कार्यसम्पादन क्षमता बढाउने, मिजास तथा मानसिक स्थितिलाई उन्नत बनाउने आदि सबै कुरा नियमित ब्यायामबाट पाइन्छ ।
डिमेन्सिया (मनोनास), जो प्रायः बृद्धावस्थामा देखिने बिमार हो, यसको जोखिमलाई ब्यायामले घटाइदिन्छ । ब्यायाम नगर्नेको तुलनामा ब्यायाम गर्नेको डिमेन्सिया ५९ प्रतिशतसम्म कम हुनसकेको तथ्य अनुसन्धानबाट पाइएको छ । भोगाइ र अनुभवका आधारमा के पनि पाइएको छ भने रक्सी खाँदा भएको मस्तिष्क–क्षयलाई ब्यायाम गरेर रक्तसञ्चारद्वारा दिमागमा अक्सिजनको मात्रा बढाएर नियन्त्रण गर्न सकिन्छ । २००५ मै चिकित्सा विज्ञानको अनुसन्धानले निष्कर्ष बनाएको छ, निद्रा नलाग्नेहरूका लागि औषधी–चक्कीको राम्रो बिकल्प हो ब्यायाम । स्लिपिङ् ट्याब्लेटले अन्ततोगत्वा खतरनाक असर देखाउन थाल्छ । ब्यायाममा त्यस्तो कुनै खतरा छैन । हल्का अवसाद (माइल्ड डिप्रेसन) हटाउनका लागि पनि ब्यायाम नै उत्तम उपचार हो ।
ब्यायामले तपाईँ–हाम्रो मनस्थितिदेखि यौन क्षमतासम्म सुधार देखाउँछ । दीर्घजीवन, स्वस्थ शरीर, उत्साही मन र सकारात्मक सोच बनाउन चिकित्सकीय अनुसन्धानलाई अमेरिकास्थित ‘मायो क्लिनिक’का बिश्लेषकहरूले शारीरिक सक्रियता वा ब्यायामलाई सात फाइदामा विभक्त गरेका छन् । यी फाइदाले ब्यायाम गर्न नचाहनेहरूलाई पनि आकर्षक गर्नसक्छ । पहिलो फाइदा— मोटोपन छ भने घटाउने र आवश्यकताभन्दा तौल कम छ भने बढाउनका लागि ब्यायाम उपयोगी हुन्छ । जति ब्यायाम ग¥यो शरीरको क्यालोरी (ताप वा उर्जा) त्यति नै प्रज्वलन हुन्छ र शरीरमा ताप बढ्छ । शरीरलाई ठीक अवस्थामा राख्न ब्यायाम वा दिनभरिको शारीरिक क्रियाशीलता उपयोगी हुन्छ ।
दोस्रो फाइदा, उच्चरक्तचाप वा मुटुको रोग हटाउन, रगतमा उत्तम कोलेस्टोरल (एचडीएल्) बढाउनुका साथै अस्वस्थ ट्राइग्लिसराईड घटाउन, दोस्रो टाइपको (उच्च ब्लड्सुगरको कारणबाट हुने) मधुमेहलाई नियन्त्रण गर्न, किड्नीमा असर रोक्न, मुटुको बिमार तथा हृदयाघातको जोखिम घटाउन, डिप्रेसन, कतिपय क्यान्सर, गठिया (अथ्र्राइटिस) आदि हटाउन ब्यायाम अति उत्तम हुन्छ । तेस्रो फाइदा मनस्थिति सुधार्नमा हुन्छ । आधाघन्टाको फटाफट हिँडाइ वा जिम जानाले दिमागमा ‘सेरोटोनिन्’, ‘डोपामिन’ ‘न्युरोफोपिन’ आदि धेरै किसिमका रासायनिक तत्व पैदा हुन्छन् जसलाई ‘न्युरोट्रान्समिटर’ भनिन्छ, त्यसले दिमागबाट मनमा आनन्द तथा खुसीयालीको सञ्चार गर्दछ । त्यसैले मानसिक उल्झन हट्छन्, आत्मविश्वास, खुसमिजास र अरुका प्रति सकारात्मक सोच बन्छ । दिमागका कोशिकाहरूको सक्रियता बढेर सेरोटोनिन् आदि तत्व पैदा भई हाम्रा ध्यान, चिन्तन, स्मरण र लगावमा पनि सकारात्मक प्रभाव उत्पन्न हुन्छ । सेरोटोनिन पैदा हुन छोड्यो भने डिप्रेसन पैदा हुने जोखिम हुन्छ ।
चौथो फाइदा, ब्यायामले मांसपेशीको शक्ति र कामको सहनशक्ति बढाउँछ । मुटु, मांसतन्तु (टिस्यु), स्नायु, जोर्नीहरू स्फूर्त भएर क्रियाशील हुन्छन् जसबाट स्वस्थ रहन गहकिलो सहयोग हुन्छ । मुटु र फोक्सोले राम्रोसँग काम गर्नसक्नुको अर्थ नै काममा पूmर्तीलो हुनु हो । पाँचौ फाइदा, ब्यायामले राम्रो निद्रा ल्याउँछ । माथि नै लेखियो, अनिदो रहने रोग (इन्सोम्निया) हटाउनका लागि औषधीको उत्तम विकल्प नै ब्यायाम हो । सुत्नुभन्दा ठीकअघि ब्यायाम नगर्नु राम्रो, सुत्नुभन्दा एकघन्टा अघिको ब्यायामले फाइदा गर्छ । छैठौँ फाइदा, यौन आनन्द नपाएको समस्याले बेचैन भइरहेकाहरूका लागि ब्यायाम समाधानको राम्रो उपचार हो । सातौँ फाइदा, ब्यायामले मस्ती र मजा पनि दिन्छ । नृत्य कक्षा, जिमखाना, हाइकिङ्, खेलकुदमा साथीहरूसँगको हेलमेलका लागि ब्यायाम एउटा माध्यम हुनसक्छ ।
सबै किसिमका मानिसका लागि उपयुक्त ब्यायाम हुन्छन् । पाको उमेरका होउन् वा बालबालिका, शारीरिक अपाङ्गता भएका मानिस हुन् वा भर्खर तङ्ग्रिनथालेका बिमारीहरू, सबैका लागि ब्यायाम अनिवार्य छ भन्ने कुरा आधुनिक चिकित्सा विज्ञानले प्रमाणसिद्ध गरेको छ । नाच्नु, पौरी खेल्नु, साइकल चलाउनु, खेलकूदमा भाग लिनु, शारीरिक सक्रियताका ब्यावसायिक काम गर्नु, हिँड्नु वा दौडनु, योग गर्नु यी सबै शरीर चलायमान राख्ने र यिनैबाट ब्यायाम पु¥याउन सकिने क्रिया हुन् । एक्लै ब्यायाम गर्नुभन्दा समुहमा र मनपरेको संगीतका साथ गर्नु अझ लाभदायक हुन्छ । घरका कामहरू गर्दा पनि शरीरको कसरत हुन्छ । शारीरिक काम गरेर थाक्नु वा पसिना आउनुलाई चिकित्साशास्त्रले पनि उत्तम मानेको छ । ब्यायामले ‘स्वास्थ्य नै धन हो’ भन्ने उक्तिलाई सार्थक बनाई जीवनको लक्ष्य हासिल गर्न योगदान पु¥याउँछ ।
(स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देक डा. विष्ट “स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्य र डाक्टरको सल्लाह” पुस्तकका लेखक हुन् ।)