जाडो मौसममा व्यक्तिको शरीरभन्दा बाहिरी वातावरण बढी चिसो हुने भएकोले व्यक्तिमा चिसो लाग्ने तथा छातीको समस्या बढी देखिने गर्दछ । चिसो मौसममा छातीको संक्रमण गराउने किटाणु वा बाहिरी ब्याक्टोरियाहरु विशेषगरी बाहिरी वातावरणको कुहिरोको कणहरुमा तैरिएर बसेको हुन्छ ।
अन्य समयमा यस्ता किटाणुहरु सामान्यतयाः जमिनको तल्लो भागमा रहने भएतापनि यस समयमा भने वायुमण्डलमा चिसोको कण वा कुइरोमा बढि सक्रिय रहन्छन् । तसर्थ यो व्यक्तिमा बाहिर निस्किदा नाकको माध्यमद्धारा श्वास प्रश्वास प्रणालीमा प्रवेश गर्ने भएकोले यसको संक्रमण छिटो हुन्छ । जसकारण जाडो मौसममा छातीको समस्या हुने व्यक्तिको श्वास प्रश्वासमा साँघुरोपना बढ्न गै व्यक्तिमा दमको समस्या पनि देखा पर्दछ ।
चिसोबाट बढी जोखिम समूह
वयस्क तथा युवाहरुको तुलनामा ५ वर्षमुनिका बालवालिका, गर्भवती तथा सुत्केरी महिला र ६० वर्ष कटेका वृद्धवृद्धाहरुमा चिसोको समस्या बढी देखा पर्ने हुन्छ । यो समूह अन्य समूहको तुलनामा बढी नै संवेदनशील हुने भएकोले उनीहरुमा यस्ता समस्या देखा पर्ने हुन्छ । यसका साथै जाडोमा श्वासनली चिसोको कारण साँघुरिने हुँदा व्यक्तिमा अक्सिजनको कमी हुने कारण दमको लक्षण अझ बढी बढेर जान्छ ।
जसकारण यसबेला विशेषगरी छातीमा समस्या भएका तथा पहिलेदेखि नै शरीरका विभिन्न किसिमका रसमस्याहरु भएका ब्यक्तिहरुमा यस्ता किटाणुहरुले छिटो आक्रमण गर्दछ । यस्ता समूहहरुको शरीर अन्यको तुलनामा बढी संवेदनशील हुने भएकोले पनि यस्ता व्यक्तिहरुमा जाडोको प्रभाव छिटो पर्ने हुन्छ । तसर्थ यस्ता समूहहरुले जाडोमा अन्य समयको तुलनामा आफ्नो बढी ख्याल राख्नुपर्ने हुन्छ ।
जाडोमा बढी मात्रामा देखा पर्ने समस्याहरु
- सामान्य रुघाखोकी
- भाइरल ज्वरो तथा निमोनिया
- दम
- श्वासप्रश्वास प्रणालीमा समस्या
- सिडिओपी
- छाला स’ख्खा तथा फुस्रो हुने ।
रोकथाम तथा बच्ने उपाय
सर्वप्रथम हामीले के ख्याल राख्नुपर्छ भने चिसोकै कारण यी समस्याहरु देखापर्ने भएकोले हामीले चिसोबाट छिटो संक्रमित हुने समूहको विशेष ख्याल राख्नुपर्दछ । जाडोयाममा हाम्रो शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम कम हुने भएकोले हामीलाई चिसो लाग्ने तथा त्यसबाट विभिन्न किसिमका संक्रमणहरु हुने हुँदा शरीर न्यानो गरी राख्नु पर्दछ । त्यसका लागि हामीले निम्नि उपायहरु अपनाउनु पर्दछ :
- भ्याक्सिनको प्रयोग (बालवालिका तथा वृद्धवृद्धाहरुको लागि मात्र)
- तातो तथा स्वस्थ्य खानाको सेवन
- धुम्रपानबाट टाढै रहने
- इनहेलर औषधिको मात्रा नघटाई नियमित रुपमा गर्ने (प्रयोग गरेका व्यक्तिहरुले मात्र)
- झोलिलो तथा पानीको उच्च प्रयोग
- हिटर तथा आगोको प्रयोग
- शरीर ढाक्ने कपडा लगाउने
- धुलो धुवाँबाट टाढै रहने
- ‘टेन नाइन्टी वान’जस्ता मास्कको उचित प्रयोग गर्ने
- शारीरिक क्रियाकलापहरुमा सक्रिय रहने
- विहान घाम झुल्किएपछि मात्रै बाहिर निस्किने ।
अन्त्यमा….
हामीले शरीर न्यानो बनाउने क्रममा प्रयोग गरेको आगो तथा हिटरका कारण विभिन्न घटनाहरु घट्दै आएको समाचार हामीले सुन्दै आएका छौ । शरीर न्यानो होस् भन्नाका लागि प्रयोग गरिने आगो तथा हिटरको प्रयोगले कतिपय व्यक्तिहरुमा उचित भ्यान्टिलेसन तथा डिहाइड्रेशनको कमीका कारण शरीरमा कार्वाेनमोनो अक्साइडको मात्रा बढी हुन जान्छ ।
तसर्थ यी दुवै न्यानो दिने सामाग्रीको प्रयोग उचित रुपमा गर्न नजान्दा व्यक्तिमा श्वासप्रश्वासमा नकरात्मक असर पर्न गई ब्यक्ति गुम्सिने तथा निस्सासिने हुन्छ । जसबाट ब्यक्तिको मृत्यु समेत हुन सक्ने सम्भावना उच्च रहन्छ । तसर्थ, हामीले यी सामाग्रीहरुको प्रयोग गर्दा उचित भ्यान्टिलेसन तथा हावा प्रवाह हुने ठाउँमा बस्नु पर्दछ ।
यसका साथै व्यक्तिमा जाडोमा प्रायजसो ब्यक्तिलाई भाइरल इन्फेक्शन देखिने सम्भावना प्रबल रहन्छ । हामीले के ख्याल गर्नु पर्छ भने सामान्य रुपमा देखा परेका भाइरल इन्फेक्शन अन्तर्गतका सामान्य रुघाखोकी तथा ज्वरोहरुको निमित्त हामीले कुनै पनि किसिमका औषधिहरु प्रयोग गर्नु हुँदैन । यसका निमित्त हामीले सकेसम्म घरेलु औषधि उपचार अपनाउनु उचित हुन्छ ।
तर, कुनै पनि व्यक्तिमा ३ दिनभन्दा बढी लगातार रुघाखोकी तथा ज्वरो देखा परेपछि वा व्यक्तिको खकार तथा सिँगान पहिले सेतो र क्रमसः रुपमा पहेंलो देखा पर्न थाल्यो भने हामीले त्यो ब्याक्टेरियल इन्फेक्सन भन्ने बुझ्नु पर्दछ । तसर्थ यस्तो समयमा भने तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।
प्रस्तुतीः सृजना मगर