मानिसको शरीरमा कयौँ किसिमका अंग तथा तत्वहरूले एकसाथ काम गरिरहेका हुन्छन्, जसबारे सबैलाई जानकारी हुँदैन । सबैलाई जानकारी नभएको तर महत्वपूर्ण अंग वा ग्रन्थी थाइराइड पनि हो । यो गर्दनको बीचमा कण्ठनलीभन्दा तल सास–नलीभन्दा माथि दुईतिर मटरको आकारमा पुतलीको रुपमा अवस्थित हुन्छ । पुरुषको भन्दा महिलामा यो ग्रन्थी केही ठूलो आकारमा हुन्छ । खानपिन, रहनसहन, प्रजनन क्रियाको सिलसिलामा यसको आकार बदलिन्छ । महिलाहरूको ‘महिनावारी’ (रजश्वला) वा गर्भावस्थामा यसको आकार बढ्नेगर्छ । ग्रीक भाषाबाट आएको यो शब्द ‘थाइरोइड’को अर्थ ‘ढाल’ (शिल्ड) भन्ने बुझिन्छ थाइरोइड मानिस लगायत सबैजसो जीवजन्तुमा हुन्छ ।
थाइरोइडले रगतबाट आयोडिन तत्व ग्रहण गर्दछ । शरीरको कुल आयोडिन मात्रामध्ये २५ प्रतिशत यही ग्रन्थीमा जम्मा भएको हुन्छ । शरीरमा आयोडिनको कमि हुँदा जेजस्ता लक्षण देखापर्ने गर्छन्, त्यस्तै लक्षण थाइरोइडको गडबढीमा देखापर्छन् । मानिसको दिमाग, मुटु, कलेजो, किड्नी र फियोसँग थाइरोइडको प्रत्यक्ष सम्बन्ध रहेको छ । त्यसैले थाइरोइडको गडबढीमा जेजस्ता परिणाम देखिन्छन्, त्यसको प्रत्यक्ष असर शरीरका यी भित्री महत्वपूर्ण अंगमा परिरहेको हुन्छ । जहाँ खानामा आयोडिनको मात्रा आवश्यकताभन्दा कम रहेको हुन्छ, त्यहाँका जनसमुदायमा गलगाँड बढ्ने समस्याको कारण थाइरोइड बढ्न जानाले हो ।
गर्भवती महिलामा आयोडिनको कमी हुन गयो भने उनले थाइरोइडबाट उत्पन्न हुने हर्मन कम भएको नानी जन्माउँछिन् । त्यसले गर्दा थाइरोइडको भूमिका कमजोर भएर बच्चाको शारीरिक, मानसिक र दिमागी विकास हुन सक्दैन । तर आवश्यकताभन्दा बढी आयोडिन तत्व ग्रहण गर्दा पनि अनेक बिकार पैदा हुनजान्छन् । आयोडिनयुक्त नून सेवन गर्न जोड दिनुको कारण यही हो ।
थाइरोइडले शरीरभित्रको क्षयात्मक परिवर्तनलाई व्यवस्थित गर्ने हर्मन (उत्तेजकतत्व) निकाल्छ । यसले थाइराक्सिन र ट्राइआयोडोथाइरोनिन भन्ने दुईटा तत्व उत्पन्न गर्छ ।
जब यसले यस्ता हर्मन स्राब गर्न छोड्छ वा कम हर्मन छोड्छ तब मानिस मोटाउने, कामोत्तेजनामा कमी आउने, पखाला लाग्ने, पुरुष वा महिलामा बाँझोपन ल्याउने, सन्तानहिन हुने, नवयुवतीका स्तन नबढ्ने, पुरुषको विर्यमा शुक्राणुको सँख्या कम हुने र सबल वा स्वस्थ वा प्रजननशील नहुने अवस्था ल्याउँछ । बाल–बालिकाहरू मन्दबुद्धि वा सुस्त मनस्थितिका हुन्छन् । मानसिक विकासमा अवरोध आउँछ । शारीरिक विकास अवरूद्ध भएर मानिस पुड्के हुनसक्छ । अल्छी हुने, सुस्तीपन आउने, बस्दाबस्दै निदाउने, स्मरणशक्ति कम हुने, धेरै विकार देखिए बौलाउनेसम्मको अवस्था आउँछ । उमेरअनुसार यौनको रुचि नहुनु आदि कारणले बैवाहिक जीवन असफल हुने जोखिम आउँनसक्छ ।
थाइरोइड ग्रन्थी आवश्यकताभन्दा बढी क्रियाशील हुँदा सामान्य स्थितिमा पनि धेरै पसिना आउने, सम्भोग गर्न असमर्थ हुने, मुटुको धड्कन गति तथा रक्तचाप बढेर जाने, आँखा बाहिर निस्कने, रगतको कमि हुने, मानिस दुब्लो र कमजोर हुने अवस्था आउनसक्छ । थाइरोइडमा समस्या उत्पन्न हुने कारणमा— विचलित, कुण्ठाग्रस्त तथा विक्षिप्त मनोदशा, एलोप्याथिक औषधिको अत्यधिक सेवन, अवसाद (डिप्रेसन) तथा तनाब पैदा भइरहने, खानामा हाइड्रोजन तथा कार्बन, गुलियोको धेरै उपभोग, शारीरिक श्रम नहुने तथा ब्यायामबिहिन जीवनशैली, रासायनिक पदार्थको अत्यधिक प्रचलन वा उपयोग, अनियन्त्रित वायु प्रदूषण, टन्सिल, हिस्टिरिया तथा अन्य भित्री कारण पर्दछन् ।
उपचार ः
थाइरोइडको समस्या नेपालमा पनि दिनहुँ बढिरहेको छ । थाइरोइडको खराबीले धेरै किसिमका शारीरिक र मानसिक समस्या उत्पन्न गराउँछ । युरोपमा उन्नाइसौँ शताब्दीमै थाइरोइडबारे निकै जानकारी आइसकेका थिए । सन् १९०९ मा थियोडोर कोचर नामक एक स्वीस चिकित्सकले थाइरोइड ग्रन्थीबारे शारीरिक तथा प्याथोलोजी संरचना र शल्यक्रियाबारे नोबेल पुरस्कार पाएपछि यसको अध्ययनमा संसारभरि नौलो लहर आएको हो ।
थाइरोइडबाट वियोजन हुने हर्मोन शरीरको लागि अतिआवश्यक तत्व हो, तर यो कम वियोजन भयो भने रोग निम्त्याउँछ र बढी हुँदा पनि शरीरमा असन्तुलन पैदा भएर रोग लाग्दछ । त्यसैले यस्तो हर्मोनलाई सन्तुलनमा राख्ने प्रयत्न भइरहनु पर्छ । आजकाल यस ग्रन्थीका विशेषज्ञ, जसलाई ‘इन्डोक्राइनोलोजिस्ट’ भनिन्छ, धेरै भएका छन् । रोगका लक्षण थाहा भए वा शंका लागेमा त्यस्ता विशेषज्ञलाई जचाएर सल्लाह लिन सकिन्छ । मुख्यतः यसको निदान र उपचार रगतको जाँचद्वारा नै हुन्छ, जसमा ‘टी–थ्री’ र ‘टी–फोर’ नामक दुई अवस्थाको जाँच हुन्छ ।
मानिसको खानपानले रोग वा आरोग्यमा निर्णायक प्रभाव राखिरहेको हुन्छ । थाइरोइडको समस्यामा दूध, दही, घिऊ, खुर्सानी, अचार, चुरोट–बिँडी, खैनी आदि पूरै त्याग्नुपर्छ । योगसाधना गर्नेहरूले ‘उज्जयी’ नामको प्राणायम विधिले पनि थाइराइडलाई सन्तुलनमा राख्न अति उपयोगी हुनेगरेको बताएका छन् । यस प्राणायममा मुख बन्द गरेर नाकले लामो स्वरसहित श्वास लिने गरिन्छ । यस्तो विधि १०÷१२ पटक गर्नु उपयोगी हुने बताउँछन् योगसाधकहरू ।
(डा विष्ट स्वास्थ्यसेवा विभागका पूर्व महानिर्देशक हुन् )