शरीरको फोहोर फाल्ने ठाउँलाई नेपाली समाजमा चर्पी, शौच, ट्वाइलेटजस्ता विभिन्न नामले नामाकरण गरिएको पाइन्छ । यसरी शरीरको फोहोर फाल्ने ठाउँबाट नै पनि व्यक्तिमा संक्रमण हुने गर्छ भन्ने विषयमा जो कोहीले सोचेका पनि हुँदैनन् । तर, यो सत्य हो । विभिन्न ब्याक्टेरिया, भाइरस तथा जिवाणुहरु शरीरमा प्रवेश गर्नुलाई नै संक्रमण भनिन्छ । यसबाट व्यक्तिमा बढीजसो झाडापखाला, बान्ता, हैजा, टाइफाइडजस्ता विभिन्न किसिमका सरुवा रोगहरु देखा पर्दछ । यो दिसा पिसाबको माध्यमबाट नै व्यक्तिको शरीरमा प्रवेश गर्दछ ।
पहिलेको तुलनामा हेर्ने हो भने हाल अधिकांश परिवारहरुले ट्वाइलेटको प्रयोग गर्ने गरेका छन् । तर, पनि अझै पनि केही समूहहरु भने दिसा पिसाबकै संक्रमणबाट ग्रसित भई उपचारका निमित्त आउने गर्छन् ।
यसका विभिन्न कारणहरु छन् । हामीले के बुझ्नुपर्छ भने शौचालयको प्रयोगले मात्रै व्यक्ति त्यस्ता संक्रमणबाट भने जोगिन कदापि सक्दैन । शौचालय पनि सफा हुनु आवश्यक छ । शौचालय फोहोर भएकै कारण ब्यक्तिमा त्यस्ता संक्रमणहरु देखा पर्ने हो । त्यसैले व्यक्तिले सफा शौचालय मात्रै प्रयोग गर्नुपर्छ ।
विदेशतिरको कुरा गर्ने हो भने उनीहरु गेष्ट हाउसमा बस्दासम्म पनि शौचालय सफा छ कि छैन भन्ने कुरामा ध्यान दिन्छन् । उनीहरुले शौचालयको सरसफाइमा विशेष ध्यान पु¥याउने कुरा विभिन्न सर्वेहरुले पनि पुष्टि गरिसकेको छ । तर, नेपालको सन्दर्भमा भने त्यो छैन । यहाँ अधिकांश मानिसहरु सर्वप्रथम अन्य सुविधाहरु खोजेर मात्रै अन्तिममा शौचालयको स्थितीबारे बुझ्छन् । त्यसैले हालसम्म पनि यहाँ दिसा पिसाबकै कारण संक्रमित हुने व्यक्तिहरु पनि छन् । शौचालय हाम्रो स्वस्थ्य जीवनसँग जोडिएको एक अभिन्न पाटो हो भन्ने कुरा सबैले आत्मसात गर्नुपर्छ । यसलाई पनि हामीले अन्य सेवा सुविधाहरुलाई जस्तै विशेष प्राथमिकता दिनुपर्दछ ।
अधिकांश मानिसहरु खानालाई झाडाबान्ता, टाइफाइड र हैजाका मुख्य कारण मान्छन् । फोहोर, बासी तथा खुल्ला राखिएका अस्वस्थ्यकर खानाले व्यक्तिमा यस्ता समस्याहरु देखा परेतापनि । खाना मात्रै यी संक्रमणहरुको कारण भने होइन । यस्ता समस्या व्यक्तिमा दिसा, पिसाब तथा जथाभावी शौचालयको प्रयोगको कारण पनि देखा पर्ने गरेको पाइन्छ । प्रत्येक व्यक्तिले आफ्नो घरको शौचालय दिनमा करिब २ पटकसम्म त सफा गर्नैपर्छ । यसले पनि व्यक्तिलाई शरीरमा देखा पर्न सक्ने विभिन्न संक्रमणहरुबाट बचाउँछ ।
नेपालको सन्दर्भमा अस्पताल, बैंक, विद्यालयजस्ता अधिकांश क्षेत्रको सार्वजनिक शौचालयहरु फोहोर हुने गर्छन् । जसबाट पनि व्यक्तिमा संक्रमणहरु देखापर्ने सम्भावना उत्तिकै रहन्छ । तसर्थ, जथाभावी सार्वजनिक शौचालयहरुको प्रयोग गर्दा पनि हामीले सावधानी अपनाउनुपर्छ । यदि हामीले प्रयोग गर्नुपूर्व कोही टाइफाइड, झाडाबान्ता जस्ता संक्रमित भएका बिरामीहरु आएर शौचालय प्रयोग गरेको रहेछ भने त्यसबाट पनि हामी संक्रमित हुन सक्छौं । यस्तै शौचालय प्रयोग गरेर आएको व्यक्तिको हात राम्ररी पखालिएको छैन भने त्यसको माध्यमबाट पनि हामीलाई संक्रमण हुन सक्ने डर हुन्छ । त्यसकारण हामीले जथाभावी र सार्वजनिक शौचालयको प्रयोग सकेसम्म गर्नु हुँदैन । यसका लागि हामीले बिहान आफ्नै घरमा नै वा बाहिर निस्कनुअघि नै शौचालय जाने बानी बसाल्नु पर्दछ । शौचालय प्रयोग गर्नुपर्ने अवस्था आएमा शौच बस्नुअघि पानीले सफा गरेर मात्रै बस्नु पर्दछ ।
नेपालजस्तो कम विकसित शौचालयमा सबैभन्दा दुखद् र कहाली लाग्दो पक्ष सार्वजनिक शौचालय पनि एक हो । नेपाल सरकारले ‘एक घर, एक चर्पी’को अभियान ल्याएता पनि विशेष गरेर सार्वजनिक शौचालयहरुको उचित व्यवस्थापन भने गर्न सकेको छैन । सार्वजनिक रुपमा प्रयोग गरिने अधिकांश शौचालयहरु फोहोर हुने गरेको पाइएको छ । तसर्थ, कुनै पनि व्यक्तिले व्यक्तिगत रुपमा यस्ता संक्रमणहरुबाट बच्न विभिन्न उपायहरु अपनाएतापनि कहिंलेकाहिं अपरझट पर्दा सोही शौचालय प्रयोग गर्नुपर्ने देखिन्छ । सार्वजनिक शौचालयको अवस्था सुधार गर्न सरकारी व्यवस्थापन पनि बलियो हुनुपर्ने देखिन्छ । यसका निम्ति व्यक्तिले ब्यक्तिगत रुपमा, सरकारी क्षेत्र तथा सार्वजनिक क्षेत्रले पनि यसतर्फ ध्यान दिनु आवश्यक रहेको देखिन्छ ।
हेल्थ आवाजकी सृजना मगरसँगको कुराकानीमा आधारित