२०८२ वैशाख ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’

‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’


कोशी अस्पतालको इनफर्टिलिटी’ क्लिनिकमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अन्जु देव र डा. मधुमिता राभाले निःसन्तान दम्पत्तिको उपचार गर्दै आएका छन् । सोमबारदेखि औपचारिक रुपमा इनफर्टिलिटी क्लिनिक उद्घाटन भएपछि उनीहरुले सेवा आरम्भ गरेका हुन् । डा. अन्जुको दुई वर्षअघिको योजना अहिले आएर पूरा भएको छ । उनले निःसन्तान दम्पत्तिको उपचारको लागि दुई वर्ष अघि तालिम लिएर आएकी थिइन् ।

डा. मधुमिताले पनि केही समय अघि तालि लिएकी हुन् । उनीहरुले हप्ताको तीन दिन कोशीमा इनफर्टिलिटी सेवा दिने बताएका छन् । सेवा सुरु भएसँगै अस्पतालको स्त्री तथा प्रसूति विभागको प्रमुखसमेत रहेकी डा. अन्जुसँग अनिल श्रेष्ठले निःसन्तान दम्पत्तिको उपचार कसरी हुन्छ ? यस विषयमा केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानीः

इनफर्टिलिटी क्लिनिक खोल्ने योजना कसरी बनाउनुभयो ?
कोशी अस्पतालमा आउने बिरामी विपन्न नागरिकहरु हुने गर्दछन् । त्यसमाथि पनि अस्पतालको गाइनो वार्डमा पनि यस्तै खालका बिरामीहरु आउँछन् । यहाँ आएकामध्ये १० प्रतिशत बढी दम्पत्ति सन्तान नभएको भन्दै आउने गरेका छन् । उनीहरुलाई हामी परामर्श मात्र दिन सक्ने गरेका थियौं । तर, कोशीमा उपचार हुँदैन थियो । उहाँहरुको समस्या सुनेपछि मैले दुई वर्षअघि इनफर्टिलिटीको टे«निङ पनि लिए । त्यसपछि कोशी अस्पतालमा निःसन्तानपनको उपचार गर्ने योजना पहिले देखिको थियो । अहिले आएर कोशी अस्पतालको मेसु डा. रुना झा म्यामको साथ सपोर्टले यो सेवा सुरु गर्न पाएका छौं ।

कोशी अस्पतालमा निःसन्तान दम्पत्ति कति पाउने गर्दछन् ?
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागको गाइनो वार्डमा दैनिक ओपीडिमा ७० देखि ९० जनासम्म बिरामी आउने गरेका छन् । यहाँ आएकामध्ये १० देखि १५ जनासम्म बिरामी सन्तान नभएको भनेर आउने गरेका छन् । तर, कोशीमा निःसन्तान दम्पत्तिको लागि उपचार थिएन । त्यसपछि हामीले मेडिकल कलेजहरुमा पठाउने गरेका थियौँ । अब अन्य हस्पिटलमा रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अब कोशी अस्पतालमा निःसन्तान दम्पत्तिको उपचार भरपर्दो गरेर उनीहरुको मुहारमा खुसी छर्ने प्रयत्न हामी गर्नेछौं । त्यसको लागि इनफर्टिलिटी क्लिनिक खुलेको छ । हप्ताको तीन दिन हामीले सेवा दिने तयारी गरेका छौं । यसमा कुन—कुन बार भन्ने विषयमा छलफल भइरहेको छ ।

निःसन्तान समस्या कस्तो अवस्थालाई भनिन्छ ?
कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म प्रयास गर्दा पनि सन्तान नबस्ने समस्यालाई निःसन्तानपन भनिन्छ । उमेर पुगेका महिलाले नियमित यौन सम्पर्क गर्दा पनि ६ महिनासम्म सन्तान नभए त्यसलाई पनि निःसन्तानपन भनिन्छ ।

निःसन्तानको समस्या के कारणले हुन्छ ?
निःसन्तानको समस्या महिला र पुरुष दुवैमा हुन्छ । महिलामा पाठेघरको मुखमा घाउँ हुने, मासु पलाएको, धेरै सेतो पानी बग्ने, विभिन्न संक्रमणका कारण निःसन्तानको समस्या हुन सक्छ । नली ब्लक भए, डिम्बाशयमा समस्या भएपनि निःसन्तानको समस्या हुन्छ । हर्मोनल गडबडी, अण्डा नबन्ने समस्याका कारण पनि हुन्छ । पाठेघरको राम्रोसँग विकास नभएको, जालो पलाएको, गर्भपतन गराएकोमा पाठेघर टाँसिनेजस्ता समस्याले पनि सन्तानमा अवरोध हुन्छ । पुरुष शुक्रकिटको मात्रामा कमी आउनु, गति राम्रो नहुनु, बनोट राम्रो नहुनु कारण हुन्छन् । बच्चामा हुने हाँडे रोगका कारण अण्डकोष सुकेर जाने भएकाले शुक्रकिट नबन्ने समस्या हुन्छ । जन्मजात नै अण्डकोष आफ्नो ठाउँमा नबसी पेटमा बस्दा पनि शुक्रकिटमा समस्या आउँछ ।

निःसन्तान दम्पत्तिको उपचार कसरी हुन्छ ?
अहिले विवाहित दम्पतिका लागि निःसन्तान एक मुख्य समस्या हो । अस्वस्थकर र निष्क्रिय जीवनशैलीले निःसन्तानको समस्या बढाउँदै लगेको छ । कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म सन्तानको प्रयास गरेको छ तर बच्चा बसिरहेको छैन भने त्यसलाई निःसन्तानको समस्या भनिन्छ । निःसन्तानको समस्या हुनुमा महिला र पुरुष दुवै जिम्मेवार हुन सक्छन् । समयमै समस्या पत्ता लगाएर उपचारमा जान सके निःसन्तानपनको समस्याबाट जोगिन सकिन्छ ।

सबै किसिमको निःसन्तानको उपचार नेपालमै सम्भव छ । हर्मोनको गडबडी, अण्डाको समस्या, पाठेघरको खराबीदेखि उनीहरुको समस्या अनुसार उपचार हुन्छ । शुक्रकिटको जाँचदेखि अण्डकोषको अल्ट्रासाउण्ड गर्ने सबै सेवा र उपचार छन् । कुनै बेला शुक्रकिट आउने नली ब्लक हुँदा पनि समस्या हुन्छ । ब्लक भएको उक्त नली शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ ।

निःसन्तानको समस्या बढी कसलाई देखिन्छ ?
भविष्यमा केन्द्रित भई काममा निकै व्यस्त रहने महिलाहरुमा निःसन्तानपनको समस्या बढी देखिन्छ । ढिला उमेरमा विवाह गर्दा पनि निःसन्तानको समस्या देखिने गरेको छ । रक्सी चुरोटको अत्यधिक प्रयोग गर्ने, तनावपूर्ण वातावरणमा काम गर्ने र कडा व्यायाम गर्ने पुरुषमा पनि निःसन्तानको समस्या देखिन्छ । विदेशमा काम गर्न गएका पुरुषहरुमा शुक्रकिटको समस्या देखिने गरेको छ ।

निःसन्तानको समस्याबाट कसरी जोगिन सकिन्छ?
निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । खानपिनसँगै राति सुत्ने र बिहान उठ्ने समयको तालमेल मिलाउनु पर्छ । धेरै तनावपूर्ण वातावरणमा काम गर्नु हुँदैन । विवाहित महिलाले २५ वर्षदेखि सन्तानको योजना बनाउनु आवश्यक छ । अहिले अण्डा फ्रिजिङ्ग गरेर राख्ने प्रविधिको सुविधा पनि छ । यसले ढिला बच्चा जन्माउनेलाई सहज बनाउँछ । एक वर्षसम्म पनि सन्तान नभए तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ