“तपाईंको मानसिक अवस्था कस्तो छ? मनोविमर्शदातासँग केही छलफल गर्नु भएको छ ? कतै डिप्रेसनमा त हुनुहुन्न ?” यस्ता सामान्य प्रश्नहरू धेरैले सुनेका छन्। यद्यपि, हाम्रो मानसिक स्वास्थ्यको बारेमा सोध्न र बुझ्न आवश्यक छ। समाजमा मानसिक स्वास्थ्यको विषयमा अझै पनि लाज र हिच्किचाहट छ, जसले गर्दा मानिसहरू आफ्नो समस्याबारे खुल्न सक्दैनन्। मानिसहरूलाई आफ्नो मानसिक स्वास्थ्यको अवस्थाबारे परिवारसँग पनि छलफल गर्न डर लाग्छ, अनि चिकित्सकसँग जाँदा त झनै अप्ठ्यारो महसुस गर्छन्। यस्तो सोचले मानसिक समस्यालाई अझ जटिल बनाउँछ।
नेपालले दशकौं लामो राजनीतिक अस्थिरता, महँगो जीवनयापन, वेरोजगारी, गरिबी, र सामाजिक असमानताका कारण मानिसहरू मानसिक तनावको शिकार भइरहेका छन्। परिवारको असमझदारी, दाम्पत्य जीवनमा असन्तुष्टि, सामाजिक अपमान र असुरक्षा र अझ धेरै प्रविधि र मोबाईल र इन्टरनेटको अत्यधिक प्रयोगको कारणहरूले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछन्।
मानसिक समस्याका लक्षणहरू:
मानसिक समस्याका लक्षणहरू प्रत्येक व्यक्तिको लागि फरक-फरक हुन सक्छन्, तर सामान्यतया तलका लक्षणहरू देखिन्छन्:
- अत्यधिक डर वा तनाव महसुस गर्नु।
- हातखुट्टा पसिना आउने, मुटुको गति असामान्य रूपमा बढ्ने।
- निद्रा नलाग्ने वा धेरै निद्रा लागिरहने।
- खुशी र दुखी हुने भावनाहरूमा अचानक परिवर्तन आउनु।
- दैनिक काममा रुचि नहुनु र थकान महसुस गर्नु।
- आत्मविश्वासमा कमी आउनु वा निराश महसुस गर्नु।
- अत्यधिक रिसाउने र झर्किने।
- बेहोस हुने वा बेसुरले बोल्ने।
मानसिक स्वास्थ्यप्रति समाजको गलत धारणा:
नेपालमा मानसिक स्वास्थ्यलाई प्रायः ‘पागलपन’ मात्र भनेर बुझिन्छ, जुन गलत धारणा हो। मानिसको शरीरमा हुने रसायनको असन्तुलन वा अस्थायी तनावका र कारण मानसिक समस्या उत्पन्न हुन सक्छ। यी समस्याहरू सामान्य हुन् र उपचार गर्न सकिन्छ।
धेरै मानिसहरू मानसिक समस्यालाई लुकाउने प्रयास गर्छन्, तर यो बुझ्न महत्त्वपूर्ण छ कि मानसिक समस्या पनि अन्य शारीरिक समस्याजस्तै सामान्य हुन् र यसको उपचार र परामर्शबाट सुधार गर्न सकिन्छ।
समाधान के हुन सक्छ?
मानसिक समस्यालाई लुकाउनु हुँदैन
समस्या लुकाएर वा बेवास्ता गरेर समाधान हुँदैन। जसरी शारीरिक रोगका लागि डाक्टरको सल्लाह लिन्छौं, त्यस्तै मानसिक समस्याका लागि पनि मनोपरामर्श आवश्यक छ।
सचेतना अभिवृद्धि गर्नुपर्छ
समाजमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आवश्यक छ। यसलाई कलंकको रूपमा होइन, स्वास्थ्यको महत्वपूर्ण हिस्सा रूपमा बुझ्नुपर्छ।
मनोविमर्श र उपचार
औषधि उपचार र निरन्तर मनोविमर्शद्वरा मानसिक समस्याहरूलाई समाधान गर्न सकिन्छ। प्रारम्भिक अवस्थामा ध्यान दिएमा समस्या जटिल हुनबाट बच्न सकिन्छ।
बिरामी आफैं पनि हिम्मत गर्नुपर्छ
“म समाजको कुरा सुन्दिनँ, मलाई समस्या छ, म चिकित्सकसँग परामर्श गर्छु” भन्ने आत्मविश्वास मानसिक समस्याबाट निको हुनका लागि पहिलो कदम हो।
के हो त मनोविमर्श (Psychotherapy):
मनोविमर्श एक प्रकारको उपचार विधि हो, जसमा मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, चिन्ता, तनाव, आदि उपचार गर्न मद्दत पुर्याउँछ। यस प्रक्रियामा व्यक्ति आफ्नो भावना, सोच र व्यवहारमा सुधार ल्याउनको लागि मनोविमर्शदातासँग कुरा गर्छ।
मनोविमर्शको प्रक्रिया:
समस्या पहिचान
पहिलो चरणमा, व्यक्ति र मनोविमर्शदाता मिलेर समस्या पहिचान गर्छन्। यसले व्यक्तिगत समस्याहरू र भावनात्मक अवस्थाहरू बुझ्न मद्दत गर्दछ।
चिन्ता र डरको नियन्त्रण
मनोविमर्शदाताले चिन्ता र डरको कारणहरू पहिचान गरेर, ती भावनात्मक अवस्थाहरूलाई नियन्त्रण गर्नका लागि उपायहरू प्रयोग गर्छन्।
सकारात्मक सोच र व्यवहार परिवर्तन
नकारात्मक सोच र व्यवहारलाई सुधार्नका लागि रणनीतिहरू लागू गरिन्छ, जस्तै संज्ञानात्मक व्यवहारिक थेरापी (CBT), जसले व्यक्तिको नकारात्मक सोचलाई सकारात्मक विचारमा परिवर्तन गर्ने प्रयास गर्दछ।
भावनात्मक अभिव्यक्ति
व्यक्ति आफ्नो भावना र समस्याहरू खुला रूपमा व्यक्त गर्छ, जसले मानसिक बोझ कम गर्न मद्दत पुर्याउँछ।
स्वस्थ रणनीतिहरू र समाधान
मनोविमर्शले जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि आवश्यक उपायहरू सिकाउँछ, जसमा सम्बन्ध सुधार्ने र आत्मसम्मान बढाउने उपायहरू समावेश छन्।
मनोविमर्शका फाइदाहरू
- मानसिक शान्ति र स्थिरता प्राप्त गर्न।
- आत्मसम्मान र आत्मविश्वासमा सुधार।
- चिन्ता, तनाव, र डिप्रेसन कम गर्न।
- व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउन।
- मानसिक स्वास्थ्य समस्याहरूको समाधानमा सहयोग।
मानसिक तनाव र यसको प्रभाव:
मानसिक तनावका कारण मानिसलाई थुप्रै शारीरिक समस्या उत्पन्न हुन सक्छ। डिप्रेसन, निराशापन, एन्जाइटी, अनिन्द्रा, र ग्याष्ट्रीक समस्याहरू यसको केही उदाहरण हुन्। तनावको परिणामस्वरूप मानिसहरूले विभिन्न प्रकारका नशालु पदार्थहरू जस्तै रक्सी, गाँजा र अन्य ड्रग्सको सेवन गर्न सक्छन्। मानसिक तनावका कारण पागलपनको समस्या पनि उत्पन्न हुन सक्छ।
मानसिक तनावबाट बच्ने उपाय:
मानसिक तनावबाट बच्नका लागि दुई मुख्य उपाय छन्:
जोगिनु: जीवनलाई व्यवस्थित गर्नु, सकारात्मक सोच राख्नु र स्वस्थ्य जीवनशैली अपनाउनु।
उपचार गर्नु: चिकित्सकको परामर्श लिनु र आवश्यक भएमा औषधिको प्रयोग गर्नु।
यसका साथै, नियमित व्यायाम, ध्यान र समय व्यवस्थापन जस्ता उपायहरूले मानसिक तनावलाई कम गर्न मद्दत पुर्याउँछन्।
मानसिक स्वास्थ्यमा ध्यान दिने हो भने हामी एन्जाइटी, डिप्रेशन र अन्य मानसिक समस्याबाट सजिलै बच्न सक्छौँ। तनावको समयमै उपचार र सही उपायहरू अपनाएर जीवनलाई स्वस्थ र सुखमय बनाउन सकिन्छ।
मानसिक स्वास्थ्यबारे कुरा गर्नु कमजोरी होइन, बरु यो सचेतताको संकेत हो। मानसिक समस्या कुनै पनि व्यक्तिलाई कुनै न कुनै समयमा हुन सक्छ। यसलाई लुकाएर वा बेवास्ता गरेर समस्या झन् जटिल बनाउनुभन्दा, सही समयमा उपचार र परामर्श लिनु महत्त्वपूर्ण हुन्छ। “स्वस्थ मन, स्वस्थ जीवन” को अवधारणा हाम्रो जीवनको आधार हो।