विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याप्रोस्कोपी’ सर्जरी सेवा सुरु भएको छ । मोरङको २२ वर्षीय एक जना किशोरीको अण्डासयमा भएको सिस्टको ल्याप्रोस्कोपी प्रविधिबाट सफल शल्यक्रिया गर्दै सेवा सुरू भएको हो ।
अस्पतालको स्त्री तथा प्रसूती विभागीय प्रमुख डा. डा. अन्जु देवसहितको चिकित्सकीय टिमले ल्याप्रोस्कोपी प्रविधिबाट उपचार गर्दै आएका छन् । गत शुक्रबार मोरङकी २२ वर्षीय ती महिला असाय पीडा भएपछि कोशी अस्पताल आएकी थिइन् । ‘६ महिनादेखि उनको पेट दुख्ने समस्या रहेको थियो । स्वास्थ्य परीक्षण गराउँदा अन्डासय बाहिर सिस्ट देखियो । त्यसपछि हामीले ल्याप्रोस्कोपी प्रविधिबाट उपचार गरिएको हो,’ उपचार संलग्न डा. देवले भनिन् । अन्जुसहित डा. तुलसी महतो र डा. विशाल देवसहितको टिमले उपचार गरेको हो ।
पछिल्लो केही समययता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ । पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा डिम्बासयमा सिस्टहरू पलाएको भएमा ल्याप्रोस्कपिक सर्जरीको माध्यमबाट अपरेसन गर्न सकिन्छ ।
‘ल्याप्रोस्कोपिक सर्जरी’ र ‘ओपन सर्जरीमा’ धेरै भिन्नता छन्। ल्याप्रोस्कोपी सर्जरी गर्दा पेटमा सानो प्वाल बनाएर सर्जरी गरिन्छ,’ डाक्टर अन्जुले भनिन्, ‘ओपन सर्जरी गर्दा कम्तिमा ३ देखि ४ दिन अस्पताल बस्नुपर्छ । ल्याप्रोस्कोपिक सर्जरी चाडै निको हुने भएकाले यो सर्जरीको महत्व बढेको हो ।’
इन्फर्टिलिटी समस्या समाधान गर्न समेत ल्याप्रोस्कोपिकले सहयोग गर्छ । सानो दुरविन पाठेघरमा छिराएर यसको अवस्था हेरिन्छ । यसलाई हिस्ट्रोस्कोपी ल्याप्रोस्कोपी भनिने उनले बताइन् ।