सरकारको बेवास्ता र जनचेतना अभावले कानको समस्या बढ्दो रहेको छ । जनचेतनाको अभाव र पूरानो सोचमा परिवर्तन आउन नसक्दा कानको समस्या जटिल बन्दै गएको छ । नेपालको जनसंख्याको १६ प्रतिशत जनसंख्या बहिरोपनबाट प्रभावित छ । यसको मुख्य कारण राज्य र नीति निर्माणमा भएका नेतृत्वले गम्भीर चासो नदेखाउनु मुख्य जडको रुपमा रहेको छ ।
बालबालिकालाई जथाभावी कानमा तेल तथा औषधिका नाममा विभिन्न बोटविरुवाको दूध हाल्ने, कान कोट्याइदिने र आमाले सुतेर दूध खुवाउनेजस्ता कारणले कानको समस्या जटिल बन्दै गएको हो । सोबाहेक बढ्दो ध्वनि प्रदूषण र पोखरीमा नुहाउने प्रवृत्तिका कारणले पनि कानका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।
बढ्दो उमेसँगै मानिसको सुन्ने क्षमतामा कमी आउने गर्छ । विशेषगरी, कलकारखानालगायतका ठूलो आवाज आउने ठाउँमा काम गर्ने मानिसको सुन्ने क्षमता चाडैं कम हुने गर्छ । कहिलेकाही विभिन्न औषधि प्रयोग, इलेक्ट्रोनिक उपकरणको अधिक प्रयोगका कारण पनि सुन्ने क्षमतामा कमी आउने गर्छ ।
कान कम सुनिन थालेको सुरुमा सजिलै थाहा नहुन सक्छ । तर, जति—जति कान कम सुनिन थाल्छ, सुन्ने क्षमतामा अझ धेरै कमी आउन थाल्छ । त्यसैले, यस्तो समस्याको सकेसम्म छिटो उपचार गर्नु नै बेस हुन्छ ।
लक्षणहरु
- ठूलो आवाज भएको ठाउँमा सामान्य कुराकानी सुन्नमा समेत कठिनाई महसुस हुनु ।
- कुराकानीका क्रममा बारम्बार ‘के भनेको’ भनेर सोध्नु ।
- फोनको आवाज राम्ररी नसुनिनु ।
- ज्यादा तेज आवाजमा रेडियो वा टिभीको साउण्ड सुन्नु ।
- पानी परेको तथा चराचुरुङ्गीका आवाज सुन्नमा समेत कठिनाई महसुस हुनु ।
- बालबालिकाले ठूला व्यक्तिले जस्तो आफ्नो समस्या बताउन सक्दैनन् । त्यसैले अभिभावकले नै केही लक्षणको ख्याल गर्नुपर्ने हुन्छ । बच्चाहरुले सुन्ने तर रेस्पोन्स नगर्ने गर्छन् ।
- बालबालिकाको कानमा संक्रमण भयो भने उनीहरू कानमा समातेर रुन्छन् । ज्वरो आउने, स्तनपान गर्न नमान्ने, अन्य खानेकुरा खुवाउँदा रुने र खाना निल्न गाह्रो मान्छन् भने उनीहरूको कानमा संक्रमण भएको हुन सक्छ ।
उपचार विधि
- संक्रमणका कारण श्रवणशक्ति कम भएमा औषधिद्वारा उपचार गर्न सकिन्छ ।
- कानको जाली बिग्रिएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
- नसामा आएको समस्याका कारण सुन्ने क्षमतामा कमी आएमा त्यसले नसामा पार्ने असरलाई बेवास्ता गर्न त सकिन्न् तर हेयरिङ ऐडको प्रयोगद्वारा असर कम गर्न सकिन्छ ।
- ५० वर्ष कटेपछि कानको नसा कमजोर हुने भएकोले पचास कटेपछि कानको नियमित चेकजाँच आवश्यक छ ।
कान बचाउने तरिका
- बच्चाको हकमा बच्चा जन्मनासाथ कानको जाँच गराउने ।
- बढी आवाज आउने ठाउँमा काम गर्दै हुनुहुन्छ भने कानमा कपास लगाएर वा इयर प्लग लगाएर पनि कानको बचावट गर्न सकिन्छ ।
- हेडफोन वा हेडससेटको मद्दतले आइप्याड, एमपी३ प्लेयर ठूलो आवाजमा सुन्नु पनि कानको लागि हानिकारक हुनसक्छ ।
- म्युजिक सुन्दा सदैव म्युजिकको भोल्युमलाई मध्यम वा न्युन लेभलमा राखौँ । लामो समयसम्म इयर फोनमा गीत सुन्नाले पनि कान तथा श्रवण शक्ति कमजोर बनाउन सक्छ ।
- गीत, संगीत सुन्न बजारमा विभिन्न थरीका हेडफोज तथा इयर फोन पाइन्छ । इयर फोन कानको कैनल भित्र छिराएर सुनिन्छ भने हेडफोन बाहिरबाटै लगाइन्छ । यस अर्थमा इयर फोनको तुलनामा हेडसेट कानको लागि सुरक्षित मानिन्छ ।
बच्चालाई कानको संक्रमण, जाली फाट्ने जोखिम
बच्चाहरूमा प्रायः कानको संक्रमण हुने जोखिम हुन्छ । नुहाउँदा कानमा पानी पसेर, दूध खुवाउने सही आसन नमिलेर कान पाक्ने गर्छ । बच्चाको कान पाकेपछि कतिपयले घरेलु औषधि समेत लगाइदिने गर्छन् ।
बालबालिकामा कानको संक्रमण आम समस्यामध्ये एक हो । साना बच्चालाई बढी रुघा लाग्ने भएकाले उनीहरूमा कान पाक्ने समस्या धेरै देखिन्छ । किनकी, नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । जसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ । बच्चाहरूलाई रुघा लागेपछि त्यही पाइप हुँदै कानमा संक्रमण हुन्छ ।
यी दुई कारणले मात्र नभई बालबालिकाको कानमा अन्य कारणले पनि संक्रमण हुन सक्छ । केही बालबालिकामा जन्मजात नै कानको संक्रमण हुन सक्छ । बच्चा जन्मिएपछि कानमा तेल हालिदिने, कान सफा गर्न भन्दै कोट्याइदिने, धेरै रुघा लाग्ने र नाक टाल्लिने समस्या भएका बच्चामा कान पाक्ने तथा मध्य कानको संक्रमण हुने जोखिम हुन्छ ।
दीर्घकालीन समस्या समेत निम्त्याउँन सक्छ
बच्चामा कानको संक्रमण भएर रोयो भने बच्चालाई भोक लागेर रोयो कि भनेर आमाले सुताएर दूध खुवाइदिन्छन् । जसले गर्दा झन् संक्रमण बढ्छ । लामो समयसम्म कानको संक्रमण भइराख्यो भने कानको जाली फाट्ने समस्या हुन सक्छ ।
कान पाक्ने समस्या दोहोरिइरह्यो वा लामो समय रह्यो भने त्यसले मध्य कानको हड्डीमा संक्रमण भएर जटिल समस्या देखिन्छ । यो संक्रमण मध्य कानमा पुगेर पिप बग्ने र सुनाइ कम हुने गर्छ भने समस्या जटिल हुँदै गएमा संक्रमण फैलिएर मस्तिष्कमा समेत पुग्न सक्छ ।
कानको संक्रमणको उपचार समयमा भएन भने कानको जाली फाटेर पछि गएर बच्चाले कान कम सुन्ने, मुख बाङ्गो हुने, दिमागमा पिप बग्नेजस्ता जटिल समस्या निम्तिन सक्छन् ।
संक्रमण रोक्न के गर्ने
बालबालिकामा कानको संक्रमण तथा कान पाक्ने समस्या छ भने कान जथाभावी कोट्याउनु हुँदैन् । साथै कानमा तेल वा अन्य तरल पदार्थ पनि हाल्नु हुँदैन् । विशेषगरी बच्चामा बेला—बेलामा रुघाखोकी लागि रहन्छ भने सतर्कता अपनाउनुपर्छ । आमाले बच्चालाई सुताएर स्तनपान नगराउने, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिनुपर्छ ।
कान पाक्यो वा कानमा संक्रमण भयो भने फार्मेसीबाट झोल औषधि ल्याएर कानमा हाल्दिनु पनि गलत हो । कस्तो संक्रमण भएको हो त्यो पत्ता लगाएर मात्र औषधि प्रयोग गर्नुपर्ने भएकाले नाक, कान तथा घाँटी विशेषज्ञको परामर्शमा मात्र कानमा औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।
उपचार
अहिलेसम्म यसलाई निको पार्ने यही औषधि र उपचार प्रक्रिया भनेर तोकिएको छैन । तर, यसलाई विधिबाट उपचार गर्ने गरिन्छ ।
जस्तैः सुन्ने शक्ति कमजोर भएमा हेयरिङ एयर बड, शल्यक्रिया, कान च्यातिएमा शल्यक्रिया, इयरफान, भिटामिन र सप्लिमेन्टको कारण भएमा त्यो औषधि दिने, व्यवहार मानसिक समस्या भएमा एन्जाइटी मनोचिकित्सकको परामर्श दिने, सुत्न नसक्ने भएमा टिनिटस मास्कर जसले कान कराउने आवाजलाई कम गर्न मद्दत गर्छ । यस्तो समस्यामा टिनिटस थेरापी गराउने गरिन्छ ।
रोकथाम
कानेगुजी निकाल्ने, कान नकोट्याउने, तेल नराख्ने, धुम्रपान नगर्ने, कानको समस्या निरन्तर वा लामो समय भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ ।
बहिरोपनको प्रमुख समस्या
जनचेतना अभावसँगै राज्य र राज्य संयन्त्रले बहिरोपनलाई समस्याको रुपमा नलिनु बहिरोपन बढ्नुको प्रमुख कारण हो । नेशनल प्रोटोकलल्सहरु डेभलभ भएको छ ।
म अध्यक्ष भएपछि आफ्नै पहलमा वर्ल्ड हेल्थ अर्गनाइजेसनको पहलमा बहिरोपन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरेर दुई वर्ष अगाडि स्वास्थ्य मन्त्रालयलाई तीन महिनाको म्यान्डेड दिएर ताकेता दिँदासमेत केही सुनुवाई भएन् । सरकारी वेवास्ताकै कारण पछिल्लो समय बहिरोपनको समस्या विकारल बन्दै गएको छ ।