२०८१ फागुन १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमोटोपना किन हुन्छ ? कसरी घटाउने ?

मोटोपना किन हुन्छ ? कसरी घटाउने ?


पर्याप्त व्यायामको कमी, अव्यवस्थित खानपान र खराब जीवनशैलीका कारण मोटोपनको समस्या बढिरहेको छ । विशेषगरी, सहरी क्षेत्रमा मानिसहरू धेरै व्यस्त हुन्छन् र आफ्नो जीवनशैली र स्वास्थ्यबारे पर्याप्त ख्याल राख्न पाउँदैनन् ।

जसकारण, धेरैमा मोटोपनको समस्या देखिने गरेको छ । मोटोपनले मानिसलाई भद्दा देखाउने मात्रै होइन, अन्य स्वास्थ्य समस्या निम्त्याउने जोखिमसमेत रहन्छ । त्यसैले हामीले आफ्नो हाइटअनुसार तौल छ वा छैन भन्ने विषय ख्याल गर्नुपर्छ ।

कसरी हुन्छ ?

  • यसको प्रमुख कारणमध्ये एक अव्यवस्थित जीवनशैली हो । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा पनि मोटोपन हुने गर्छ ।
  • टेबल वर्क गर्नेहरूको शारीरिक कसरत निकै कम हुन्छ । उनीहरू व्यायामका लागि पनि समय निकालिरहेका हुँदैनन्, जसकारण तौल बढ्न थाल्छ ।
  • थाइराइड भन्ने हर्मोन कम हुँदा हाइपोथाइरोइड हुन्छ । पछिल्लो समय अधिकांश मानिसमा थाइराइड हर्मोनको मात्रा कमी हुँदा मोटोपन भएको देखिएको छ । यस्तो हर्मोनको डिसब्यालेन्सले मोटोपन निम्त्याउँछ ।
  • कतिपयमा वंशाणुगत कारणले पनि मोटोपन हुन्छ । यस्ता मानिस खाना कम खाए पनि बढी खाएपनि मोटाउने गरेको पाइन्छ ।

कसरी घटाउने ?

मोटोपना घटाउनका लागि हाम्रो दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्छ । होटेलमा तयार भएका र प्याकेटका खानेकुरा (जंकफुड) कम गर्नुपर्छ । मैदाबाट बनेका खानेकुरा सकेसम्म खानु हुन्न ।

  • कार्बोहाइड्रेटको मात्रा कम भएका खानेकुरा खानुपर्छ । झोलिलो र पोषक खानेकुरा धेरै खानुपर्छ । फाइबर भएका खानेकुरा जस्तैः हरियो सागपात बढी खायो भने पेट भरिन्छ तर क्यालोरी कम प्राप्त हुन्छ र स्वास्थ्य पनि राम्रो हुन्छ । झोलिलो पदार्थ जुस, सुपलगायत धेरै खानुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा खानु हुँदैन ।
  •  हामीले शारीरिक क्रियाकलापलाई जोड गर्नुपर्छ । मर्निङ वाक गर्ने, योगाभ्यास गर्ने, जिम जाने गर्नुपर्छ । त्यस्तैः स्विमिङ, साइकिलिङ गर्ने वा फुटसल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेल खेल्न सकिन्छ ।
  • घरको सामान्य क्रियाकलापमा सक्रिय हुनुपर्छ । यसले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ ।
  • पछिल्लो समय १६ घन्टे फास्टिङ पनि मोटोपन कम गर्ने प्रभावकारी विधि बनेको छ । आठ घन्टे फास्टिङमा पनि बेलुकीको खाना लाइट गर्नुपर्छ । यसले केही हदसम्म मोटोपन कम हुन्छ ।
  • कतिपयमा पर्याप्त शारीरिक व्यायाम गर्दा पनि तौल नियन्त्रण भएको देखिन्न । शरीरमा अन्य रोगका कारणले गर्दा पनि मोटोपन नघटेको हुन सक्छ । त्यसैले तौल बढिसकेपछि त्यसलाई नियन्त्रण गर्नेभन्दा पनि तौल अनावश्यक रूपमा बढ्न नदिनु नै राम्रो हुन्छ । समयमै मोटोपन पहिचान गरेर नियन्त्रणका लागि जीवनशैलीमा सुधार ल्याउनुपर्छ ।
  • महिलामा पाठेघरको समस्या देखिन सक्छ । मोटोपन भएपछि पाठेघरमा सिस्ट भएर बच्चा नहुनेसम्म खतरा हुन सक्छ । त्यसका लागि जाँच गरेर समयमै उपचार गर्नुपर्छ । आफ्नो शरीरको तौल सन्तुलनमा राख्न जरुरी छ ।
  • मोटोपनले धेरै रोगको जोखिम निम्त्याउँछ । मोटोपन भएपछि ब्लडप्रेसर, सुगर, कोलेस्ट्रोललगायत बढ्छ । जसका कारण मुटुको समस्या देखिन सक्छ । त्यसैले कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श गरेर चेक जाँच गर्नुपर्छ । औषधि सेवन गर्नुपर्छ । रक्तचाप उच्च हुँदा हृदयाघातको जोखिम बढ्ने भएकाले यसलाई नियन्त्रणमा राख्नुपर्छ । समय–समयमा चेक जाँच गर्नुपर्छ ।
  • मोटोपन बढ्ने बित्तिकै घुँडाको समस्या हुन सक्छ । घुँडाको हड्डी खिइने समस्या देखिन सक्छ । साथै, कम्मर दुख्ने, ढाड दुख्ने समस्या हुन सक्छ । चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्छ ।

मोटोपन घटाउने केही टिप्स

१. व्यवस्थित र सन्तुलित खानाका लागि तालिका बनाउने ।
२. ब्रेकफास्ट मानिसका लागि निकै महत्वपूर्ण भएकाले अनिवार्य रूपमा लिने । तर, ओभर डाइट नहोस् भन्ने कुरामा पनि ध्यान पु¥याउन आवश्यक हुन्छ ।
३. बोसोयुक्त, चिल्लो, मसालेदार, भुटेको र तारेको खानेकुरा नखाने ।
४. बजारमा पाइने जंकफुड र फास्टफुडलाई दैनिकीबाट हटाउने ।
५. अत्याधिक गुलियो खानेकुराको प्रयोग नगर्ने ।
६. उसिनेका खानेकुरालाई बढीभन्दा बढी प्राथमिकता दिने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ