रोग प्रतिरक्षा भनेको के हो ?
हाम्रो शरीरमा दुई कुरा हुन्छ—एउटा शरीरको अस्तित्व र एउटा शरीरलाई हानी गर्ने भित्रकै तत्वहरु । त्यसलाई शरीरले कुन लाभदायक तत्व हो वा कुुुन हानिकरक तत्व हो भनेर छुट्याउँछ । आन्तरिक वा बाह्य हानिकारक तत्व जुन भएपनि त्यो विरुद्ध हाम्रो शरीरले प्रतिरोधात्मक प्रतिक्रिया दिन्छ, त्यो नै प्रतिरक्षा हो ।
यसले हाम्रै शरीरका विकार तत्व विरुद्ध पनि लड्छ । जस्तोः क्यान्सर कोष, चोटहरुले सिर्जेका विकार तत्व यी र बाहिरका तत्व जस्तो व्याक्टेरिया, भाइरस, फंगल्स विरुद्ध पनि लड्छ । यो हाम्रो शरीरलाई रक्षात्मक भूमिका खेल्ने प्रणाली हो ।
प्रतिरक्षा प्रणाली निर्धारण कसरी हुन्छ ?
प्रतिरक्षा प्रणाली मानिसको जीनले सञ्चालन गर्छ । यो जन्मसिद्ध निर्धारण हुन्छ । तर, मानिस जन्मिसकेपछि वातावरणीय प्रभावले मोडिफाइ गर्न सक्छ वा पराअनुवंसिक प्रभाव थोरै मात्रामा भूमिका खेल्छन् ।
मुख्य कुरा जीनले नै गर्छ । तर, इम्युन सिस्टम एउटा इन्जिन हो, त्यसलाई राम्रो सञ्चालन गर्न बाहिरबाट अन्य कुराहरु भर्नुपर्ने हुन्छ । त्यो भनेको राम्रो वातावरण, व्यालेन्स डाइट आवश्यक पर्छ । ब्यालेन्स डाइटले आफै इम्युनिटी पावर बनाउने होइन् तर हामीभित्र रहेको इम्युन सिस्टमलाई राम्रो सञ्चालन गर्न मद्धत गर्छ ।
मानिसहरुमा के खाएमा इम्युनिटी बढ्छ के नखाए घट्छ भन्ने भ्रम छ । स्वस्थकर खानाले इम्युन सिस्टम काम गर्न उत्प्रेरक हुन्छन् । बंशाणुगत रुपले यो निर्धारित हुन्छ ।
बच्चाको इम्युन सिस्टम कमजोर हुन्छ भन्ने कुरा कति सत्य हो ?
हाम्रो शरीरमा असंख्य सेलहरु हुन्छ । ती सेलले कसरी काम गर्ने, कस्तो अंग बन्ने भन्ने कुरा र कस्तो बन्ने भन्ने प्रारुप लिएर आएको हुन्छ । ती जन्म अघि र पछि विस्तारै विकसित हुँदै कुनै संख्यामा बढ्दै जान्छन्, कुनै प्रारुप परिवर्तन हुन्छ । त्यसमा एउटा म्याचुरिटी हुनका लगि समय लाग्न सक्छ ।
बच्चामा पनि प्रणालीगत रुपमा फरक पर्दैन तर उत्पादन हुने सेलहरुको हिसाबले केही फरक पर्छ । वातावरणीय रुपबाट वा अन्य कारणले हुने एक्सपोजरका हिसावले पनि फरक पर्छ । कतिपय सेलहरु विकास हुँदै गर्दै सिस्टम पनि पूर्ण हुँदै जाने कुरा हो । वच्चाहरुमा ती सेलहरुको पूर्णता नभएका कारण सिस्टम पूर्ण भइनसकेको हुन सक्छ ।
कतिबेला बच्चा रोग प्रतिरोधात्मक कमजोर भएको भनेर सोच्ने वा विशेषज्ञकोमा लैजाने ?
हामीले अध्ययन गर्दा विशेषगरी १० वटा क्राइटेरियालाई आधार मानेर अध्यापन गराइएको थियो । जसमा एउटा बच्चालाई वर्षमा ४ पटकभन्दा बढी कानको इन्फेक्सन, २ चोटीभन्दा बढी साइनस (पिनास)को इन्फेक्सन, २ पटकभन्दा बढी निमोनिया वा छातीको इन्फेक्सन—श्वास नलीको इन्फेक्सन, २ पटकभन्दा बढी हाम्रो आन्तरिक अंगमा पिप जम्ने वा नजम्ने प्रकृतिको वा शरीरलाई गाल्ने प्रकृतिको इन्फेक्सन, २ पटकभन्दा बढी बच्चा वा किशोर—किशोरीलाई सुइँबाट दिने औषधिको आवश्यक पर्नु वा एन्टीबायोटिक्सहरुको कम प्रभाव हुने अवस्था, २ पटकभन्दा बढी गम्भीर प्रकारको संक्रमण हुनु जस्तोः मेनेन्जाइटिस वा छालामा गम्भीर प्रकृतिको संक्रमणहरुको अवस्था ।
बाबुआमा वा परिवारमा इम्युन सम्बन्धि कुनै रोगको समस्या भएमा, छालामा डल्ला भएको वा कोषहरु अत्याधिक बढ्ने वा कम होइन तर त्यो क्यान्सर होइन भन्ने त्यसलाई पनि सम्झनुपर्छ । यस्ता समस्या आएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।