‘निमोनया’ भन्नाले व्यक्तिको श्वासप्रश्वासको तल्लो भाग फोक्सोमा भएको किटाणुको संक्रमण भन्ने बुझिन्छ । निमोनिया पनि ब्याक्टेरियल र भाइरल गरी २ किसिमका रहेका छन् । भाइरल निमोनिया भने प्रायजसो बढी र साझा रुपमा देखा पर्ने निमोनियामध्ये एक हो ।
जिवाणुहरुको संक्रमणको तथा विशेष गरेर वयस्कहरुमा देखापर्ने निमोनियालाई ब्याक्टेरियल निमोनिया भनिन्छ भने भाइरल निमोनिया प्रायजसो धुलो, धुवाँ तथा प्रदुषित वातावरणका कारण लाग्ने गर्छ । यस निमोनियाले प्रत्यक्ष रुपमा बिरामीको फोक्सोमा असर पुर्याउँछ ।
यसका साथै किटाणुहरु चिसोमा बढी सक्रिय रहने भएकाले चिसोलाई पनि यसको संक्रमणको अर्काे कारक तत्व मान्न सकिन्छ । विशेष गरेर ६० वर्ष कटेका वृद्ध उमेर समूह र २ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुमा यो निमोनियाको जोखिम उच्च रहन्छ ।
निमोनियाको संक्रमणले बिरामीको शरीरको तल्लो तथा माथिल्लो भागमा असर पुर्याउने भएकोले यसले उनीहरुको निकट भविष्यमा समेत असर पु¥याउने सम्भावना प्रबल रहन्छ । तसर्थ कुनै पनि व्यक्तिले आफू तथा आफ्ना बालवालिकालाई निमोनियाको संक्रमण हुन नदिन विशेष रुपमा ध्यान दिनु पर्दछ ।
निमोनियाका लक्षण
- श्वास फेर्दा वा खोक्दा छाती दुख्नु
- वृद्ध व्यक्तिहरुमा मानसिक स्थितीमा परिवर्तन देखा पर्नु
- रुघा तथा खोकी लाग्नु
- पसिना तथा ज्वरो आई शरीर काप्नु
- थकान महसुस हुनु
- घ्यारघ्यार हुनु
- झाडा बान्ता हुनु
- शरीरको तापक्रममा कमी आउनु (विशेष गरेर वृद्धहरुमा) ।
रोकथाम तथा उपचार
निमोनिया हुन नदिन सर्वप्रथम हामीले स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । आफ्नो वरपरका वातावरण पनि स्वच्छ राख्नु पर्दछ । धुलो, धुवाँ तथा चिसोबाट बची धुम्रपानबाट पनि टाढै रहनु पर्दछ । यसका साथै बालबालिकाको हकमा भने हामीले उनीहरुलाई चिसो तथा धुलोहरुमा बढी खेल्न दिनु हुँदैन ।
उनीहरुको सरसफाइमा विशेष ध्यान राखी उनीहरुलाई गुन्द्री, सुकुल तथा गलैंचाहरुबाट आउने धुलो धुवाँबाट समेत टाढै राख्नुपर्दछ । र, यससँगसँगै कुनै पनि व्यक्ति वा बालवालिकामा ज्वरो तथा रुघाखोकी देखा परेमा हेलचेक्रयाँइ नगरी तुरुन्त सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्दछ ।