पिसाब संक्रमण अर्थात ‘युरिनरीट्याक्ट इन्फेक्सन’ पिसाब प्रणालीको कुनै पनि भागमा हुने संक्रमण हो । पिसाब प्रणालीमा मुत्रनली, मुत्राशय र मिर्गौला पर्दछन् ।
धेरैजसो संक्रमण पिसाब नली, पिसाबथैली र मुत्र मार्गमा हुने गर्दछन् । पिसाब संक्रमण मिर्गौलासम्म पुग्यो भने गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ ।
लक्षणहरु
- भत्तभत्ती पिसाब पोल्नु
- छिनछिनमा पिसाब लाग्ने
- थोरै पिसाब आउने
- पिसाबमा रगत जाने
- तल्लो पेट भरी हुने, दुख्ने
- वाकवाक लाग्ने, वान्ता हुने
- ज्वरो आउने
- खुलेर पिसाब नआउने अलिअलि गर्दै पिसाब आउने ।
पिसाब संक्रमणले असर गर्ने भागहरु
मिर्गौला
मुत्राशय
मुत्रमार्ग
पिसाब संक्रमण भएको कसरी जाँच गर्ने ?
सबैभन्दा पहिला लक्षणहरु हेरिन्छ । लक्षणहरुबाट पनि अलिअलि थाहा हुन्छ ।
त्यसबाहेक पिसाबको जाँच गर्ने र पिसाबको रुटिन र कल्चर जाँच गराउनुपर्छ ।
रुटिनमा पिपको मात्राहरु देखिन्छ । ४८ देखि ७२ घण्टामा कल्चर गरेर हेर्दा कुन किटाणु छ स्पष्ट हुन्छ ।
किटाणु र किटाणुको लागि कुन औषधी दिने कल्चरले देखाउँछ । भिडियो एक्स–रे गरेर पनि हेरिन्छ । भिडियो एक्स–रे बाट किन पिसाबको संक्रमण भएको वा नभएको पत्ता लाग्छ ।
पिसाब संक्रमणको उपचार
यसको उपचारमा सुरुमा सबैभन्दा कमन किटाणुलाई टार्गेट गरेर किटाणु मार्न एन्टिबायोटिक दिइन्छ । पिसाब सितल बनाउने औषधी दिइन्छ ।
छिनछिनमा पिसाब नलाग्ने, पिसाबको चंचलता कम गर्ने औषधी सेवन गर्नुपर्छ । ज्वरो आएको छ भने सिटामोल दिने गरिन्छ ।
यो सबै कल्चर आउनुभन्दा अगाडिको औषधीहरु हुन् । कल्चरको रिपोर्ट आइसकेपछि कल्चरले भनेअनुसारको औषधी दिइन्छ ।
पिसाब संक्रमणको रोकथामका उपाय
- दिनमा साढे दुईदेखि तीन लिटर पानी सेवन गर्ने
- सरसफाइमा विशेष ध्यान दिने
- महिलाहरुले प्रजनन अंग सफा राख्ने
- लामो समय सम्म पिसाव रोकेर राख्ने बानी हटाउने
- कागती र अनारजस्ता भिटामिन सी भएका रसिला फलफूलहरु खाने
पिसाब संक्रमणले मिर्गौला कसरी असर गर्छ ?
पिसाबथैली संक्रमण भइसकेपछि पिसाबथैलीबाट संक्रमण फैलिए पिसाबनली हुँदै मिर्गौलासम्म पुग्छ । पिसावथैलीको संक्रमणले मिर्गौलासम्म असर गर्दा मिर्गौला सुनिन्छ । मिर्गौला पनि संक्रमण हुन्छ । यसले मिर्गौलालाई ड्यामेज गर्न सक्छ ।
पिसाब संक्रमण मानिसहरुमा धेरै देखिन्छन् । युरोलोजीको पहिलो नम्बरको रोग भनेको नै पिसाब संक्रमण हो । यो रोग सबै उमेरको व्यक्तिमा देखा पर्छन् ।