२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकाठमाडौं महानगवासीले अब निःशुल्क रगतका लागि कसैलाई सिफारिस गराउन नपर्ने

काठमाडौं महानगवासीले अब निःशुल्क रगतका लागि कसैलाई सिफारिस गराउन नपर्ने


काठमाडौं– महानगरका बासिन्दालाई निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउन आज काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस अघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्त तत्त्व निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, रगत प्राप्त गर्न कसैलाई फोन गराउनु पर्ने, सिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताइन्  । ‘नियमित रक्तदान कार्यक्रम र सङ्कलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यस बेला कसैलाई सिफारिस गर्नु पर्ने स्थिति हुँदैन ।’ उनले भनिन्–‘महानगर बासीबाट थालिएको निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’

जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार, महानगरपालिकाका बासिन्दालाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजाबापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने बुँदा महत्त्वपूर्ण छ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले भने, ‘रक्त व्यवस्थापनमा महानगरपालिकाले लिएको नेतृत्वबाट ठुलो सघाउ पुग्नेछ ।’

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।

बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरू (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, वीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा बागमती प्रदेशका बिरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्त्वको खर्च व्यहोर्ने सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहोर्ने छ ।

पौडेलकाअनुसार, डेङ्गी, क्यान्सरलगायत केही रोगमा बिरामीको रगतमा तत्काल प्लेटलेट्स घट्छ । यस्तो अवस्थामा सामूहिक रक्तदानमा सङ्कलन भएको ६ जनादेखि ८ जनासम्मको रगतबाट प्लेटलेट्स छुट्टाएर एक जना बिरामीका लागि आवश्यक मात्रा तयार पारिन्छ । अहिले नेपाल रेडक्रस सोसाइटीले १ जना योग्य व्यक्तिबाट महानगरपालिकाको सिफारिसमा रक्त सञ्चार सेवाले एफेरेसिस व्लड डोनेसन (सिङ्गल डोनर प्लेटलेट्स) उपलब्ध गराउनेछ । यो भनेको प्रति माइक्रोलिटर १ लाख ५० हजार प्लेटलेट्स गणना हुने १८ बर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्तिबाट प्लेट्लेट्स लिनु हो । सामान्यतया: ६ जनादेखि ८ जनासम्म व्यक्तिबाट सङ्कलन गरिएको रगतबाट प्लेटलेटस छुट्टाएर  एक व्यक्तिका लागि आवश्यक मात्रा बनाइन्छ । धेरै व्यक्तिबाट सङ्कलन गरिएको प्लेट्लेट्सभन्दा योग्य एकै जना रक्तदाताबाट सङ्कलन गरिएको प्लेटलेट्स बढी शक्तिशाली र प्रभावकारी हुन्छ ।

नेपाल रेडक्रस सोसाइटीसँग मात्र यस प्रकारको प्रविधि उपलब्ध छ । सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँ सराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता कागजमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई बिरामी वा बिरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ ।

आकस्मिक र आपत्कालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ