पाठेघरको भित्री पत्रलाई ‘इन्ड्रोमेट्रियम’ भन्छ । बीचको पत्रलाई ‘मायोमेट्रियम’ भन्छ । इन्ड्रोमेट्रियम हरेक महिना पाठेघरबाट निस्किएपछि महिनावारी हुन्छ । महिनावारीको समयमा रगत बाहिर निस्किनुपर्छ ।
तर, केही रगत महिलाको पेटभित्र जान्छ । यो प्रायः सबै महिलालाई हुन्छ । रगत बाहिर आउँदा डिम्ब बाहिनी नलीबाट अलिकति रगत भित्र पनि जान्छ । भित्र गएको रगत सामान्यतयाः शरीरले आफैं सफा गर्छ । यदि शरीरले सफा गर्न सकेन भने त्यो रगत त्यही रहिरहन्छ ।
त्यसले महिलाको महिनावारी हुँदा धेरै रगत जाने, ढाड दुख्ने, काम गर्न नसक्ने, तल्लो पेट दुख्नेजस्ता समस्याहरु आउँछन् । त्यसलाई ‘इन्ड्रोमेट्रियसिस’ भनिन्छ । यो एकदमै कमन रोग हो । यो धेरै महिलाहरुमा देखिन्छ । यसले गुणस्तरीय जीवनलाई असर गर्दछ ।
नेपालमा अहिले २५ देखि ४० प्रतिशत महिलाहरुलाई तल्लो पेट दुख्ने समस्यामा कही न कही ‘इन्ड्रोमेट्रियसिस’ समस्या जोडिएको छ । धेरै पेट दुःखिरहेको छ भने चेक जाँच गरेर समयमै यसको उपचारतिर लाग्नुपर्छ । अन्यथा यसले धेरै दुःख दिन्छ ।
इन्ड्रोमेट्रियसिसको लक्षण
तल्लो पेट दुख्ने
महिनावारी हुँदा धेरै रगत जाने
ढाड दुख्ने
दुखाइ धेरै भएर कुप्रो परेर हिड्ने
इन्ड्रोमेट्रियसिसका असर
असामान्य दुखाइ
श्रीमान श्रीमतीबीच सम्बन्ध राख्न अप्ठ्यारो हुने
बाँझोपन हुने
थकान
कब्जियत हुने
इन्ड्रोमेट्रियसिसले शरीरको कुन—कुन अंगमा असर गर्छ ?
इन्ड्रोमेट्रियसिसले शरीरको कुनै पनि भागमा असर गर्न सक्दछ । केही अंगहरु जस्तैः
फोक्सोः कतिपय महिलाहरुलाई महिनावारी भएर जानुपर्ने रगत फोक्सोमा गएर बस्छ । जसले गर्दा खोक्दा रगत आउँछ ।
पेटः महिनावारी भएको रगत पेटमा पनि जान सक्छ । पेटमा घाउ छ भने पेटको घाउ कहिल्यै निको हुँदैन् । त्यहाँ महिनावरी भएको बेलाको रगत गएर बसेको हुन सक्छ ।
डिम्वासयः डिम्वासयमा पनि महिनावारी भएको रगत गएर बसेको हुन्छ । यसले डिम्वासयमा पनि समस्या उत्पन्न गर्छ ।
अन्य ठाउँः महिनावारी भएको रगत शरीरको जुन भागमा पनि जान सक्छ । यसले समस्याहरु निम्त्याउँछ । जुन ठाउँमा जान्छ, त्यो ठाउँमा पहिले नै घाउ छ भने त्यसलाई निको हुन दिँदैन् ।
उपचार कहिलेबाट सुरु गर्ने ?
‘इन्ड्रोमेट्रियसिस’ महिनावारी भएको बेलामा साना—साना नानीहरु धेरै पेट दुःखेर स्कुल जान सक्दैनन् । धेरै पेट दुख्ने, सिधा उभिन नसक्ने हुन्छ । त्यतिबेला नै ‘इन्ड्रोमेट्रियसिस’ भएको हुन सक्छ । त्यतिबेला नै चेक जाँच गरी उपचार गर्नुपर्छ । र समयमै उपचार गर्दा यो रोग निको हुन्छ ।
उपचारमा ढिला हुँदा के हुन्छ ?
‘इन्ड्रोमेट्रियसिस’को उपचार समयमा नै गर्नुपर्छ । उपचारमा ढिला गर्दा पेट सधैँ दुःखिरहने, पेट दुःखेको कहिले ठिक नहुने र बाँझोपनजस्ता समस्या हुन सक्छ । अहिले पछिल्लो समयमा उपचार गर्न ढिला हुँदा १ देखि २ प्रतिशत महिलाहरुमा क्यान्सरको पनि जोखिम भएको देखाएको छ ।
प्रस्तुतिः श्रृजना खड्का