२०८१ मंसीर ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके जाडोमा टाउको दुख्नु सामान्य हो ? यसबाट कसरी बच्न सकिन्छ ?

के जाडोमा टाउको दुख्नु सामान्य हो ? यसबाट कसरी बच्न सकिन्छ ?


जाडो मौसममा स्वास्थ्यलाई असर पर्ने समस्यामध्ये टाउको दुखाइको समस्या पनि एक हो । जुन समस्या हामी धेरैमा देख्न सक्छौं । यसलाई समान्य रुपमा पनि लिने गरिएको छ ।

तर, के टाउको दुख्नु सामान्य हो ? कतिपय अवस्थामा अत्याधिक टाउको दुखाइलाई शरीरमा हुन सक्ने कुनै खतराको संकेत मान्न सकिन्छ । जाडो मौसममा शरीरलाई अत्याधिक चिसो भयो भन्ने सूचना दिने माध्यम टाउको दुखाइ हुन सक्छ ।

भौगोलिक बनावटअनुसार हाम्रो शरीर न पूरै चिसोको लागि बनेको हो न त पूरै गर्मीका लागि । जसका कारण चिसोमा सुरुमा हाम्रो शरीरले चिसोसँग घुलमिल हुन समय लगाउने गर्छ । जाडो महिनाको सुरुवातमै शरीरमा रुघाखोकी लाग्नु, टाउको दुख्नु शरीरले चिसो भयो भने सुचना दिएजस्तै हो ।

टाउको दुखाइको लक्षण शरीरमा चिसोले प्रवेश गर्‍यो भन्ने हो । तर, कतिपय अवस्थामा अन्य कारणले पनि टाउको दुखेको हुन सक्छ । जाडो मौसममा धेरैमा टाउको दुखाइको समस्या भैरहेको हुन्छ । जाडोमा टाउको दुख्नु सामान्य रुपमा लिनु भने हुँदैन् । कतिपय अवस्थामा टाउको दुख्नु शरीरमा हुन सक्ने कुनै जटिल समस्याको सूचना पनि हुन सक्छ ।

जाडोमा टाउको दुखाइ माइग्रेनको समस्या भएका मानिसहरुलाई बढी हुन सक्छ । जसलाई ‘ट्रिगेनिङ् फयाक्टर’ भनिन्छ । चिसोले गर्दा रगतको नसा खुम्चिनाले टाउको दुख्ने गर्छ । टाउकोको नसा कसरी खुम्चिन्छ भन्दा मुटुबाट रगतको बगाई फ्लो नै ढिलो भयो भने त्यो एउटा कारण हो ।

अर्को, चिसोमा पानीको कमी हुन्छ । पानीको कमी हुनुको कारण बाक्लो लुगा लगाउँछौं र त्यो लुगा नखोली बस्छौं । जसकारण भित्रको पसिना भित्र नै बस्छ । चिसोमा शरीरको तापक्रम मेन्टेन गर्नुपर्ने हुन्छ । पानीको कमी भएपनि रगतको फ्लोमा कमी आउने गर्छ । नसा खुम्चिने गर्छ, त्यसले गर्दा टाउको दुखाइ चिसोमा बढी देखिने गर्छ । त्यस्तै, चिसोमा पिनासहरूका समस्या भएका मानिसहरुमा टाउको दुखाइ बढ्ने गर्छ ।

चिसो आउने बित्तिकै टाउको दुख्छ भने त्यो ‘कोल्ड एलर्जी’ पनि हुन सक्छ । अर्को भनेको पहिले कहिले नदुखेको जसरी टाउको दुख्यो भने त्यो खतराको संकेत पनि हो । त्यसो भयो भने एक पट्क डाक्टरको सल्लाहमा लिनुपर्छ । तर, चिसोमा गएर टाउको दुख्यो र आफूलाई न्यानो राखेपछि आफै ठिक भएर गयो भने त्यो सामान्य हो ।

जाडो मौसममा समान्य मानिसहरुलाई केही समय टाउको दुख्नु र आफै ठिक भएर जानुलाई चिसोको कारण टाउको दुखेको भन्न सकिन्छ । तर, आफूलाई चिसोबाट बचाउँदा पनि टाउको दुखाइ अत्याधिक बढेर गयो भने त्यसलाई सामान्य लिनु हुँदैन । चिसोमा टाउको दुखाइबाट अरु समस्याहरु रगतको नसा खुम्चिएर प्यारालाइसिस हुन सक्ने, मुटुमै हान्न सक्ने सम्भावना बढ्ने गर्छ । नसा खुम्चिने समस्याहरुले गर्दापछि ठूलो समस्या पनि आउन सक्छ । शरीरले दिएको संकेतहरु बुझ्न आवश्यक हुन्छ ।

टाउको दुखाइबाट कसरी बच्ने ?

चिसोबाट बच्न नाक र कान छोप्नुपर्छ । नाक र कानबाट टाउकोमा चिसो पस्ने हुँदा नाक र कान पूरै छोप्नु पर्छ । चिसोमा तामा, गुन्द्रुकको झोल, अचार प्रायःले खाने गर्छन् ।

यी खाना खायो भने माइग्रेनका बिरामीलाई टाउको दुखाइ बढाउने गर्छ । त्यस्तै पिनासका बिरामीलाई माछा खानाले पनि टाउको दुखाइ बढ्छ । त्यस्ता खाने कुराहरु कम गर्नुपर्छ । रक्सीले पनि टाउको दुखाइ बढाउने हुँदा रक्सी पनि खानु हुँदैन् ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ