कलेजोले हाम्रो शरीरमा विभिन्न महत्वपूर्ण काम गर्छ । यसले हामीले खाने खानाबाट आउने अत्याधिक ग्लुकोजलाई ग्लाइकोजनको रुपमा भण्डारण गर्छ र हाम्रो शरीरलाई चाहिएको बेला ग्लाइकोजन ब्रेकडाउन गरेर इनर्जी प्रदान गर्छ ।
यसले शरीरमा पित्त बनाउने गर्छ, जसले हामीले खाने बोसो पाचनमा मद्दत पु¥याउँछ । पित्तले विभिन्न बोसो घुलनशील भिटामिन ए, डी, ई र के को ओसार—पसारमा मद्धत गर्छ । त्यस्तै, हाम्रो शरीरमा विभिन्न किसिमका प्रोटिनहरू बनाउन मुख्य भूमिका खेल्दछ । जस्तै, रगतमा क्लोटिङ तथा प्रोथ्रोम्बिन एल्बुमिन, कोलोस्ट्रोलको शरीरमा प्रवाह गर्ने लिपोप्रोटैन बनाउने । हाम्रो प्रतिरक्षा प्रणालीका लागि चाहिने प्रोटिन बनाउने काम गर्छ । यसले थाइराइड हर्मोनको मेटाबोलिज्म टी४ बाट टी३ मा रुपान्तरण गर्दछ । बोसोका लागि डेटोक्सीफाइ गर्दछ ।
त्यस्तै, प्रतिरक्षा प्रणालीमा पनि मुख्य भूमिका खेल्छ । यो शरीरको एउटा मुख्य पाले पनि हो । विभिन्न औषधीहरु जुन निष्क्रिय अवस्थामा हुन्छ, त्यसलाई सक्रिय बनाउने काम गर्छ । हामीले खाने विभिन्न औषधीलाई शरीरबाट बाहिर निकाल्ने काम डेटोक्सीफाइ (विषहरण) तथा मेटाबोलिज्म गरेर उत्सर्जन बाहिर पिसाब वा दिशामार्फत फाल्ने काम गर्दछ । यसले हानिकारक कीटाणु ब्याक्टेरियाहरुलाई पनि शरीरबाट बाहिर निकाल्ने भूमिका खेल्छ ।
कलेजो कसरी खराब हुन्छ ?
कलेजो खराब हुने विविध कारणहरुमध्ये अल्कोहल नै प्रमुख हो । अल्कोहलले लिभरलाई ड्यामेज गर्छ । अर्को, हेपाटाइटिस हो । भाइरल इन्फेक्सन, हेपाटाइटिस बी, हेपाटाइटिस सीले गर्दा लिभरलाई हानी गर्छ । हेपाटाइटिस बी र सी का भाइरस हाम्रो शरीरमा लामो समयसम्म बस्ने गर्दछन् र यसले विस्तारै सुजन गरेर क्रोनिक लिभर ड्यामेज गर्दछ ।
अहिले एकदमै देखिएको भनेको नन अल्कोहोलिक हो । जसलाई हामी नन अल्कोहोलिक फ्याट्टी लिभर डिजिज भन्छौं । यो धेरै मोटो मानिसहरुमा हुने, डाइबिटिज भएका व्यक्तिहरू वा टाइप २ डाइबिटिज डिजिज भएर इन्सुलीनमा वा खानामा अत्याधिक बोसो खाने व्यक्तिहरुमा देखिने गरेको छ ।
त्यस्तै अफलाटोक्सीन (Aflatoxin) यो एक प्रकारको हानिकारक फंगस वा विषाणु पदार्थ हो, जुन प्रायः ढुसी परेको खाद्यवस्तुबाट हाम्रो शरीरमा जाने गर्छ । यसले पनि कलेजोलाई खराब बनाउने गर्छ, कलेजोलाई हानी पु¥याउँछ । यी सबै कारणहरुले क्रोनिक लिभर डिजिज (सिडिएल) हुने गर्दछ । विस्तारै कलेजो खराब भएर जाने हुन्छ । यी सबै कारणहरुले लिभर क्यान्सरको जोखिम बढेर जाने गर्दछ । जेनेटिक कारणले कलेजो क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।
यसको उपचार के हो ?
कलेजो के कारणले बिग्रिन्छ त्यहीअनुसार त्यसको उपचार गरिन्छ । रक्सी वा कुनै औषधीको कारणले कलेजो खराब भएको छ भने पहिले ती कुरा खान बन्द गर्नुपर्छ । र, उपचारको लागि अगाडि बढ्नुपर्छ ।
कलेजोमा समस्या हुँदा के-के लक्षण देखिन्छन् ?
सामान्यतयाः कलेजोमा समस्या आएको थाहा हुँदैन् । कलेजो बिगार्ने कीटाणु विस्तारै सक्रिय हुन्छन् । तर, कलेजो खराब भइसकेपछि थकान हुने खुट्टा सुनिने जस्ता लक्षणहरु देखिन थाल्छन् । जसमध्ये केही प्रमुख लक्षणहरु तल उल्लेख गरिएको छ ।
- बिना कारण तौल घट्नु
- भोक नलाग्नु
- माथिको पेट दुख्नु
- वाकवाक लाग्नु र वान्ता आउनु
- शरीर कमजोर हुनु
- पेट फुलेर आउनु
- पेटमा पानी जम्नु
- जन्डिस देखिनु (आँखा पहेंलो हुनु, चिलाउने, पिसाव पहेंलो हुनु)
- सेतो दिशा हुनु
के कलेजोको क्यान्सर शल्यक्रियापछि पूर्ण निको हुन्छ ?
सुरुमा त कलेजोको क्यान्सर कस्तो प्रकारको हो र कुन भागमा कति वटा क्यान्सर छन् भनेर पहिले पहिचान गरिन्छ । क्यान्सर पहिचान र चरण हेरेर मात्र क्यान्सरको शल्यक्रिया गरिन्छ ।
यदि सम्पूर्ण जाँच गरिसकेपछि जस्तैः मानौ क्यान्सर एउटा मात्रै भागमा छ र ब्लड सप्लाई गर्ने नलीहरु बचाउन सकिन्छ । त्यसलाई काट्दा मार्जिन नेगेटिभ हुन्छ भने त्यसको एकदमै राम्रो उपचार शल्यक्रिया नै हो ।
क्यान्सरमा सय प्रतिशत निको हुने सम्भावना त हुँदैन तर मार्जिन नेगेटिभ भएको केसमा लामो समयसम्म फ्लोअप बस्दा क्यान्सर फर्केर आउने सम्भावना एकदमै कम हुन्छ । त्यसैले क्यान्सरको प्रकार र त्यसको चरणहरु हेरेर मात्रै यो कतिसम्म निको हुन्छ भन्ने कुरा थाहा हुन्छ ।
कलेजो स्वस्थ्य राख्न के खाने/के नखाने ?
- मदिरा सेवन र धुम्रपान नगर्ने
- स्वस्थ डाइट खाने
- धेरै चिल्लो र बोसोयुक्त खाने कुरा नखाने
- हरियो सागसब्जी प्रशस्त खाने
- पौष्टिक आहार खाने
- रातो मासु कम खाने
- चीज बढी भएको खाना नखाने
- पानी प्रशस्त मात्रामा पिउने
- मैदाजन्य खानाहरू नखाने
- रिफाइन्ड कार्बोहाइड्रेट नखाने
कलेजो कसरी जोगाउने ?
हामीले आफनो शरीरलाई चाहिने एक्सरसाइज गर्ने, शरीर एकदमै मोटो छ भनो क्यालरी बर्न गर्नुपर्छ । लिभरमा बोसो जम्न दिनु हुँदैन् । रक्सी सेवन र धुम्रपान गर्नु हुँदैन् । हेपाटाइटिसले गर्दा लिभरमा समस्या हुने हुँदा हेपाटाइटिसबाट बच्नुपर्छ ।
यी कुरा नगर्नुहोस्
- दाह्री काट्ने रेजर निजी हुनुपर्छ, अर्कोको प्रयोग गर्नु हुन्न ।
- परिवार नियोजनका साधनहरु प्रयोग गरेर एचआईभीबाट पनि बच्नुपर्छ ।
- अनावश्यक पेन किलरहरुको प्रयोग नगर्ने, यसले पनि कलेजोलाई खराब गर्छ ।
- हेपाटाइटिस सी बाट बच्नका लागि नियमित रुपमा हात धुने । अहिले हेपाटाइटिस बी को भ्याक्सिन छ । तर, हेपाटाइटिस सी विरुद्ध कुनै भ्याक्सिन नभएको हुँदा यसबाट बच्न नियमित हात धुने बानी बसाल्नुुपर्छ ।
- लागू औषधहरुमा आई भी ड्रग गर्नेहरुको निडलले संक्रमण हुने हुँदा त्यो नगर्ने ।
- हर्बल मेडिसिनहरु सेवन गर्नु हुन्न । हर्बल प्रोडक्ट्हरुले लिभरलाई हानी गर्छ ।
बेलाबखत हेपाटाइटिस बी जाँच्नुपर्छ । सामान्य मानिसमा यो हुनसक्छ । यो सर्ने सम्भावना १५ वर्षमुनिका लाई बढी हुन्छ भने गर्भवती वा दूध खुवाउने आमाबाट बच्चालाई पनि सर्न सक्छ । नेपाल सरकारले हेपाटाइटिस बी को भ्याक्सिन दिने गरेको छ । त्यसैले अब बच्चालाई यसको सम्भावना निकै कम छ । यो खोप नलगाउनेले भने एकपटक परीक्षण गर्नु राम्रो हुन्छ । त्यसैगरी, कुनै पनि औषधी खाँदा डाक्टरको सल्लाह लिएर मात्रै खाने हामीले पिउने पनी जहिले पनि उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र पिउने गरौं ।
(भूमिका विष्टसँगको कुराकानीमा आधारित)