२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा स्वास्थ्यको किन र कसरी ख्याल गर्ने ?

जाडोमा स्वास्थ्यको किन र कसरी ख्याल गर्ने ?


नेपालमा दशैं लगतै चिसो भित्रिन सुरु भएको थियो । बढ्दो चिसोसँगै स्वास्थ्यमा जोखिम पनि उत्तिकै बढ्ने डर हुन्छ । जाडोमा हाम्रो मानव शरीर गर्मीको तुलनामा अलि नाजुक हुन्छ भने रोगहरु लाग्ने सम्भावना पनि बढ्ने कारण स्वास्थ्यको बढी ख्याल राख्नु पर्दछ ।

जाडोको कारण सामान्य चिसो, रुघाखोकी, घाँटी दुख्ने,ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण देखिने गर्दछन् । यी लक्ष्यणहरु धेरैजसो मानिसहरुमा देखिन्छ । जाडो मौसमले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई प्रतिकूल रूपमा असर गर्दछ, जसका कारण हाम्रो शरीरलाई संक्रमणहरुबाट लड्न गाह्रो बनाउँछ ।

जाडोले श्वासप्रश्वास प्रणालीमा असर गर्छ भने क्रोनिक अवरोधक फुफ्फुसीय रोग, दमजस्ता श्वासप्रश्वास रोगहरु बढाउँछ । चिसोमा श्वास फेर्दा हाम्रो वायुमार्गलाई गाह्रो हुनेका कारण श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, खकार आउनेजस्ता लक्ष्यणहरु ट्रिगर हुन्छन् । श्वासप्रश्वास रोगहरु एक अर्कामा संक्रमण पनि सजिलै हुन्छन् । त्यसैले हामी देख्न सक्छौ कि घरको कोही एक सदस्यलाई रुघाखोकी लागेमा घरका अरु सदस्यहरुलाई पनि तुरुन्तै लाग्ने गर्दछ ।

जाडोको अर्को खतरा के छ भने यसले विशेष गरी मुटुको रोग भएका मानिसहरुमा हृदयघात, स्ट्रोकजस्ता मुटुको समस्याहरु पनि बढाउँछ । यो शरीरको प्राकृतिक सुरक्षाको नतिजा हो, जुन तापक्रम घटेका कारण हुन्छ । जाडोमा रक्तनलीहरु संकुचन हुने गरेको हुनाले उच्च रक्तचाप हुने पनि गर्दछ । यही संकुचनका कारण पिसाब धेरै लाग्ने पनि हुन्छ र यदि पानी प्रशस्त पिइएन भने निर्जलीकरण समेत हुन सक्दछ ।

जाडोमा अर्को सुनिरहेको समस्या के छ भने ‘कार्बन मोनोअक्साइड विषाक्तता’ । चिसोका कारण हिटर बाल्ने, गिजर तथा सोलारको तातो पानीमा नुहाउनेजस्ता गतिविधिहरु गरिन्छ । यही सन्दर्भमा अक्सिजनको कमीले गर्दा कार्बन मोनोअक्साइड विषाक्तता हुने गर्दछ । त्यसैले धेरै बेरसम्म हिटर नबाल्ने, तातो पानीमा नुहाउँदा थोरै झ्याल खुल्ला राख्ने गर्नु पर्दछ भने आगो ताप्दा दूरी कायम गर्नु पर्छ र नाइलनको लुगा लगाउनु हुँदैन् ।

नेपालको सन्दर्भमा हामी देख्न सक्छौं कि प्रदूषण उच्च मात्रामा छ । गर्मीको तुलनामा जाडोमा प्रदूषण लामो समयसम्म रहने कारण हामीले श्वास फेर्दा उच्च दर मा प्रदुषित हावा पनि लिइरहेका हुन्छौँ । जाडोमा मर्निङ वाक जाँदा त्यति लाभदायक पनि नहोला किनकि प्रदुषित हावा र चिसोका कारणले गर्दा मुटु तथा फोक्सोको रोग लाग्ने र पहिले नै मुटु बिरामी हो भने हृदयघातसमेत हुन सक्ने छ । पक्कै पनि यी सबै कुरा हेर्ने हो भने जाडोमा आफ्नो स्वास्थ्यको बढी ख्याल राख्नुपर्ने देखिन्छ ।

जाडोमा ध्यान दिनुपर्ने कुरा

  • न्यानो लुगा लगाउने ।
  • मनतातो पानी पिइरहने ।
  • मह, अदुवा र कागती पानीको सेवन गर्ने ।
  • पर्याप्त मात्रामा आराम गर्ने ।
  • लामो समयसम्म हिटर नबाल्ने ।
  • तातो पानीमा नुहाउँदा थोरै झ्याल खुल्ला राख्ने ।
  • आगो ताप्दा दूरी कायम गर्नुका साथै नाइलनको लुगा नलाउने ।
  • पर्याप्त मात्रामा फलफूल, सागपात खाने र स्वस्थ तथा पौष्टिक खाना खाने ।
  • बाहिर जाने काम सकेसम्म दिउँसै जाने र यदि बिहान जान परे न्यानो लुगा लगाएर मात्र जाने ।
  • आफ्नो र आफ्नो वरिपरी वातावरणको स्वच्छता र सरसफाइमा ध्यान दिने ।
  • समय मिलेको बेला घाम ताप्ने ।
  • घरमै पनि व्यायाम गर्न सकिने भएकाले धेरै चिसो मा बाहिर नहिड्ने ।
  • धेरै चिसो लागिराख्छ भने फ्लू भ्याक्सिन लगाउने ।

(लेखक हाल मास्टर इन हेल्थ प्रमोसन एण्ड एजुकेशन अध्ययनरत छिन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ