फोक्सोको श्वासनलीमा आएको संकुचनका कारण श्वास—प्रश्वासमा हुने कठिनाई, श्वास फुल्ने समस्या तथा श्वास—प्रश्वासमा तीब्रता आदिको समुच्च रुपलाई दम भनेर चिनिन्छ । यो एक दीर्घ रोग हो । दम दुई प्रकारका हुन्छन् पहिलो सिओपीडी क्रोनिक (Chronic Obstructive Pulmonary) र दोस्रो ब्रोन्कियल (bronchial) दम हो
सिओपिडी कसरी हुन्छ त ? यो रोग विशेषगरी चुरोट पिउने, दाउरा बालेर खाना पकाउने र उच्च वातावरण प्रदुषण भएको क्षेत्रहरुमा बसोवास गर्ने हरुलाई लाग्छ । यो रोग चालिस वर्षभन्दा माथिका मानिसहरुमा लाग्ने गर्छ । यसका लक्षणहरु खोकी लाग्ने, घ्यार—घ्यार हुने, छाती कस्सिएको अनुभव हुने हुन्छ ।
जसले गर्दा अनिद्रा हुने, थकित हुने, आलस्य लाग्ने गर्दछ । यो रोग बढ्दै जाने रोग हो, यसको उपचार राम्रोसँग गरे पूर्ण रुपले निको हुन नसकेपनि यसलाई नियन्त्रणमा ल्याउन भने सकिन्छ ।
कसरी थाहा पाउने ?
खोकी लाग्ने, घ्यार—घ्यार हुने, छाती कस्सिएको अनुभव हुने, खकार आउनेजस्ता समस्या ३ महिनासम्म भएमा वा यस्ता लक्षण देखियो भने दीर्घकालीन दम रोग लागेको छ भन्ने सोच्नु पर्छ । यो रोगको औषधीहरु खाँदा शरीरमा अरु जोखिमहरु गर्दैन । दम रोगका बिरामीहरुले ‘इनहेलर थेरापी’ लिनुपर्छ । खाने औषधीभन्दा तान्ने औषधी जोड गर्दा यसलाई कन्ट्रोल राख्न सकिन्छ । तान्ने औषधी एकदम सुरक्षित हुन्छ ।
तान्ने औषधी सम्बन्धी समाजमा धेरै नै नकारात्मक धारणा रहेको देखिन्छ । तान्ने ओषधी भनेको फोक्सो बिगार्छ, यसको बानी पर्छ यो भनेको अन्तिम अवस्थामा प्रयोग गर्नुपर्ने औषधी हो भन्ने गरेको सुनिन्छ । तर, त्यो सबै भ्रम मात्रै हो । यसले कुनै पनि प्रकारको नकारात्मक असर पार्दैन । तान्ने औषधी चिकित्सकको परामर्शमा नियमित रुपमा लिने हो भने यसलाई नियन्त्रण गर्न एकदम सजिलो हुन्छ ।
ब्रोन्कियल (bronchial) दम कसरी हुन्छ ?
यो दम भनेको एलर्जीको दम हो । यो एलर्जी भएका बिरामीलाई हुने दम हो । यो रोग १२ वर्षमुनिका बच्चालाई पनि हुन सक्छ । र, टिनएजर्सदेखि पछिसम्म पनि हुन सक्ने हुन्छ । यो दममा बेला—बेलामा दमका लक्षणहरु देखिन्छन् । जस्तोः खोकी लाग्ने, घ्यार—घ्यार हुने र कुनै बेला सबै ठिक केही पनि समस्या नभएको हुन सक्ने हुन्छ ।
जस्तैः धुवाँ घुलोमा गएपछि यो रोग देखिन्छ र औषधी खाएपछि सन्चो पनि हुन्छ । त्यस्ता बिरामीलाई हाछ्यु आउने, नाकबाट पानी बग्ने आँखा चिलाउने छालामा डामहरू आउनेजस्ता लक्षणहरु देखिन्छन् ।
कसरी थाहा पाउने ?
यो दम प्रायजसो वंशाणुगत हुन्छ । आमाबुवालाई भएको छ भने बच्चालाई हुने सम्भावना प्रवल रहन्छ । सानो बच्चामा छिटो—छिटो श्वार फेर्ने, घयार—घ्यार गरेर घाँटी बज्नु, दुध नचुस्ने, खाना खाने बच्चा भए खान मन नगर्ने, खेल्न कम गर्ने, बोल्न सक्ने बच्चा छ भने श्वास फेर्न गाह्रो भो भन्नेजस्ता समस्याहरु देखियो भने एलर्जीको दम हो भन्ने बुझ्नुपर्छ ।
एलर्जीको दम धेरैजसो निको पार्न सकिन्छ । तर, यही रोग ४० वर्षभन्दा माथिसम्म रहन्छ भने यो निको हुन सक्दैन् । त्यसपछि नियन्त्रणमा राख्न सकिन्छ ।
प्रस्तुतीः भूमिका विष्ट