प्यानक्रियाज शरीरको अभिन्न अंग हो । माछा आकारको बनावट भएको प्यानक्रियाज सानो आन्द्रा सुरु हुने भागमा हुन्छ । यसका मुख्य दुई काम हुन्छ । एउटा खाना पचाउने इन्जाइम निकाल्ने र अर्को शरीरमा सुगरलाई बढ्न नदिन इन्सुलीन निकाल्ने ।
यसलाई असर गर्ने रोग भनेको प्यानक्रियाटाइटिस हो । यो पनि दुई किसिमको हुन्छ । एक्युट प्यानक्रियाटाइटिस र क्रोनिक प्यान्क्रियाटाइटिस ।
एक्युट प्यानक्रियाटाइटिस
अचानाक हुने प्यानक्रियाज काे खराबी लाई एक्युट प्यानक्रियाटाइटिस भनिन्छ । यो रोग हाम्रो देशमा धेरै मदिरा सेवन गर्ने व्यक्तिलाई बढी देखिन्छ । एकै पटक धेरै रक्सी सेवन गर्नेको प्यानक्रियाज बिग्रन्छ । पित्तथैली मा ढुंगा हुँदा पनि यो समस्या देखिन्छ । त्यहाँ भएको ढुंगा बगेर पित्तनलीमा पुग्छ जसले प्यानक्रियाजलाई असर गर्छ ।
क्रोनिक प्यानक्रियाटाइटिस
विस्तारै प्यानक्रियाजलाई असर पु¥याउने, वर्षौंसम्म प्यानक्रियाज बिग्रिदै जाने, कहिलेकाहीँ पेट दुखाउने तर, त्यसबाहेकको अरु असर चाहिँ नगर्ने हुन्छ । विस्तारै प्यानक्रियाज बिग्रिदै जाँदा खाना नपच्ने हुन्छ । पातलो दिसा हुने समस्या हुन्छ । चिल्लो कुराहरु शरीरले पचाउन सक्दैन् । दिशामा पनि तेलजस्तो मिसिएको देखिन्छ । इन्सुलीन बनाउँन सक्दैन र विस्तारै मानिसलाई मधुमेह देखिन थाल्छ ।
क्रोनिकका बिरामीमाभन्दा बढी समस्या र गाह्रो हुने एक्युट प्यानक्रियाटाइटिसका बिरामीलाई हो । अहिले वीर अस्पतालमा साताको ४/५ वटा यस्ता बिरामीका केस आइरहने गर्छन् ।
अलिअलि मात्र असर देखिएका र लक्षण भएका एक्युट प्यानक्रियाटाइटिसका बिरामीलाई गम्भीर समस्या देखिदैंन् । २/३ दिन पेट दुख्ने हुन्छ, त्यसपछि पेनकिलर औषधी खाएर ठिक हुने हुन्छ ।
तर, कसैमा भने यसले एकदमै धेरै खराबी देखिन थाल्छ । फोक्सोमा पानी जम्ने, किड्नीलाई असर गर्ने, निमोनिया गराउने, कलेजोमा खराबी देखिने, मुटुमा समस्या आउने हुन्छ । जसले बिरामीको मृत्युसमेत गराउन सक्छ । जतिसुकै प्रयास गर्दा पनि बचाउन नसकिने त्यसलाई ‘सिवियर एक्युट प्यानक्रियाटाइटिस’ भनिन्छ ।
यो रोग काे मुख्य लक्षण पेट दुख्ने हो । यसको दुखाइ र ग्याष्ट्रिकको दुखाइमा अलि फरक छ । नाइटोभन्दा माथि नै दुवै रोग लाग्दा दुख्छ । तर, प्यानक्रियाटाइटिस चाहिँ ढाडतर्फ पनि दुख्ने, मेरुदण्डका वरपर दुख्ने गर्छ । कतिपयले ग्याष्ट्रिक नै हो कि भनेर झुक्किएको पनि पाइन्छ । जसले गर्दा बिरामी घर नै बस्ने र गम्भीर भएसपछि मात्र अस्पताल धाउने गरेको पाइन्छ ।
यो रोग काे पत्ता लगाउने दुई वटा तरिका छन् ।
१. रगत जाँच गराउने
यो परीक्षणमा येमैलेज़ र लाइपेज़ इन्जाइमको मात्राले अनुमान गर्न सकिन्छ ।
२. भिडियो एक्स–रे/सिटीस्क्यान गर्ने
भिडियो एक्स–रे गर्दा प्यानक्रियाजमा सुन्नेको, पानी जमेको देखिन्छ । र, सिटिस्क्यान गर्दा यति प्रतिशत प्यानक्रियाज बिग्रियो भनेर थाहा पाउन सकिन्छ ।
प्यानक्रियाआटाइटिसका बिरामीलाई ठिक हुन समय चाहिँ लाग्छ । धेरैजसो बिरामीलाई भने ४/५ सातापछि प्यानक्रियाजमा जमेको पानी सुक्ने र विस्तारै ठिक हुने हुन्छ । कसैमा भने प्यानक्रियाजमा जमेको पानी सुक्दै नसुक्ने हुन्छ । नसुकेपछि पानी डल्लो परेर बसिदिन्छ । जसलाई सियुडोसिस्ट भनिन्छ । त्यसले बिरामीलाई दुःख दिने गर्छ । पेट दुखिरहने, त्यसमा संक्रमण हुँदा ज्वरो आउने, जन्डिस गराउनेजस्ता समस्या देखिन सक्छन् । त्यस्ता लक्षण देखिएको ६ सातापछि पनि ठिक भएन भने वीर हामी बिरामी लाई सिस्टोग्यास्ट्रोटोमी गराउने सल्लाह दिन्छौ । यो केही सिमित अस्पतालमा मात्रै गरिन्छ । त्यो उपचार जोखिम हुन्छ तर गर्नेपर्ने हुन्छ ।
प्यानक्रियाजजस्ता पेट सम्बन्धी समस्या हुन नदिने के गर्ने ?
- स्वस्थ पोषणयुक्त खानेकुराहरु मात्रा मिलाएर खाने
- दैनिक रुपमा स्वस्थ आहार खाने
- खाली पेट नबस्ने
- पिरो, चिल्लो र अमिलो कम खाने
- मदिरा र धुम्रपान सेवन नगर्ने