निमोनिया के हो ? कसरी हुन्छ ?
निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ । यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरुमध्ये निमोनिया मुख्य रोग हो ।
निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रशवासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणुहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।
समुदायमा हुने निमोनिया २ महिनाभन्दा कम उमेरमा अधिकांशमा स्ट्रेप्टोकोकस तथा इ–कोलीलगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुम स्ट्रेप्टोकोकस निमोने, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियसलगायतका ब्याक्टेरियाहरुले निमोनिया गराउँदछन् ।
त्यसैगरी, पाँच वर्षभन्दा माथिका बालबालिकाहरुमा माइक्लोप्लास्मा निमोने र क्लामाइडिया भन्ने किटाणुको संक्रमण बढी हुन्छ ।
निमोनिया हुँदा देखिने लक्षण
–ज्वरो आउने
–श्वासप्रश्वास दर बढ्ने
–खोकी लाग्ने
–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने
–श्वास फेर्न कठिन हुने
–स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने
– निलो हुने
निमोनियाबाट कसरी जोगाउने बालबालिका
– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेरभित्र दिइने खोप लगाइयो भने निमोनियाबाट जोगाउन सकिन्छ ।
–पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ । बालबालिकालाई आमाको दूध र थप आहार प्रशस्त खुवाउनुपर्छ ।
–धुवाँ, धुलो र चिसोबाट बालबालिकालाई सधैं सुरक्षित राख्नुपर्छ ।
–बालबालिकाको सरसफाईमा ध्यान दिनुपर्छ ।
–सुरक्षित गर्भ जाँच र प्रसुती सेवामा ध्यान दिनुपर्छ ।
–बालबालिकाहरुलाइ रुघाखोकी र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परामर्श तथा उपचारका लागि लैजानुपर्छ ।
–सबैभन्दा महत्वपूर्ण कुरा बालबालिकाहरुलाई खुवाउनु अघि राम्रोसँग हात धुनुपर्छ ।
–संयुक्त परिवार भएको घरपरिवारमा बालबालिकाहरुलाई हो–हल्ला हुने ठाउँबाट टाढा राख्नुपर्छ ।
बच्चामा अन्य निमोनिया र कोभिड–१९ कसरी छुट्याउने?
नेपालमा बच्चामा हुने थुपै स्वास्थ्य समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ । निमोनिया फोक्सोमा संक्रमण हुने रोग हो । रुघाखोकी बिग्रेर निमोनिया हुन्छ । निमोनिया प्रायः बच्चालाई मात्र हुने रोग भनेर बुझिए पनि यसले बुढेसकालसम्मै दुःख दिन्छ । यसर्थ, पनि जाडोमा निकै सावधानी अपनाउनुपर्छ ।
निमोनिया र कोभिड–१९ जँचाउने बेलामात्र छुट्याउँन सकिन्छ । दुवैको लक्षण एउटैजस्तो देखिन्छ । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, ज्वरो आउने सामान्य लक्षण हुन् ।
बच्चामा खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने, कोखामा हान्ने (श्वास फेर्दा छाती र करङको भाग धस्सिने), श्वास फेर्न गाह्रो हुने, दुध चुस्न नसक्ने लक्षण देखिन्छन् ।
कुनै–कुनै बालबालिकामा लक्षण देखिँदैन् । तर, निमोनिया भइसकेको हुन्छ । लक्षण नदेखिएका बेला बालबालिकाको व्यवहार हेरेर थाहा पाउन सकिन्छ । जस्तै, अल्छी हुने, खाना कम खाने, अरू बेलाभन्दा कम खेल्ने, झगडा बढी गर्नेजस्ता लक्षण पनि निमोनियाको हुनसक्छ । यस्तो अवस्थामा पनि बालबालिकालाई जचाउन लानुपर्छ । तुलनात्मक रूपमा हेर्न हो भने कोभिड—१९ बच्चामा कम पुष्टि भएको छ ।
पहिले निमोनियाका लक्षण देखिनासाथ बच्चामा उपचार सुरु गर्ने गरिन्थ्यो । महामारीका समयमा उपचारसँगै अहिले निमोनियालाई कोभिड—१९ हो कि भनेर शंका चाहिँ गर्नुपर्छ । निमोनिया भएका बालबालिकाको पिसिआर परीक्षण भने गराउनुपर्छ । यसले गर्दा उपचार गर्न सजिलो हुन्छ ।
प्रस्तुतीः पदमराज भट्ट