अहिले संसार नै कोभिड—१९ को महामारीसँग जुधिरहेको छ । कोभिड—१९ संक्रमणको जोखिम सबैभन्दा बढी दीर्घ रोगका बिरामीहरुमा देखिन्छ । मधुमेह (सुगर)को सन्दर्भमा भन्ने हो भने यो रोगका कारण व्यक्तिको शरीरमा रोग विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता एकदमै न्युन रहन्छ ।
जसकारण यो रोग लागेका व्यक्तिमा कोरोना संक्रमणको भय त रहन्छ नै सँगै सामान्य संक्रमणको अवस्थामा पनि यी बिरामीमा निमोनिया, पिसाब इन्फेक्सन, हृदयघात वा पक्षघातको सम्भावना उच्च रहन्छ ।
मधुमेह र यसका प्रकार
रगतमा चिनीको मात्रा एकदमै उच्च भएर देखिने रोग नै ‘मधुमेह’ हो । ‘सुगर’ पनि भनिने यो रोग शरीरमा देखिने विभिन्न दीर्घ रोगमध्ये एक हो । मधुमेहलाई सामान्यतयाः टाइप १ र टाइप २ गरी दुई भागमा विभाजित गरिएको छ ।
जसअन्र्तगत शरीरमा इन्सुलीन नामक तत्वको एकदमै कमी भएको अवस्थालाई मधुमेहको टाइप १ भनिन्छ भने शरीरमा इन्सुलीनको मात्रा कम छ र भएको इन्सुलीनले पनि शरीरमा राम्रोसँग काम गर्न नपाएको अवस्थाले भने मधुमेहको टाइप २ लाई जनाउँछ ।
टाइप १ मधुमेहको उपचार इन्सुलीनले मात्रै सम्भव रहन्छ । तर, टाइप २ मधुमेहमा भने पहिले औषधि चलाएर आवश्यकता अनुरुप इन्सुलीन चलाउनुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । यद्यपि, यी दुईमध्ये तुलनात्मक रुपमा ९० प्रतिशत वयस्कलाई टाइप २ प्रकारको सुगरले सताएको देखिन्छ ।
जोखिमयुक्त समूह
सामान्यतयाः हामीले के बुझ्नुपर्छ भने कुनै पनि रोग यहि व्यक्तिलाई नै लाग्छ भन्ने छैन । शरीरमा देखिने रोग व्यक्ति विशेष नभएर उसको जीवनशैली र शारीरिक गतिविधिले निर्धारण गरेको हुन्छ । यद्यपि, शारीरिक रुपमा निस्क्रिय रहने, मोटोपन भएका, अल्छी र परिवारको सदस्यमा सुगरको बिरामी रहेको व्यक्तिमा भने यो रोग देखिने सम्भावना रहन्छ ।
यस्तै, गर्भवती अवस्थामा हुने हार्माेन परिवर्तनका कारण पनि कहिलेकाहीं गर्भवती महिलामा सुगर देखिने सम्भावना रहन्छ । शरीरमा रहेको ‘प्यानक्रियाज’ नामक ग्रन्थीमा कुनै पनि संक्रमण भएमा वा ढुंगा (पत्थरी) पसेमा पनि शरीरमा सुगर देखिन सक्छ ।
यसका लक्षणहरु
- पानी प्यास लागिरहने
- भोक लाग्ने
- छिनछिनमै पिसाब लागिरहने
- थकानको महसुस हुने
- तौल घट्दै जाने
- र, घाउहरु निको हुन समय लाग्ने ।यसबाहेक सबै बिरामीमा एकै किसिमको लक्षण देखिन्छ भन्ने हुँदैन् । कतिपय बिरामीको मिर्गाैला तथा आँखामा असर गरिसकेपछि मात्रै शरीरमा मधुमेह रहेको छ भन्ने थाहा पाइन्छ भने कतिपयको खुट्टामा घाउहरु पनि देखिन्छ । तसर्थ, यस रोगबाट बच्नका लागि माथिका उल्लेख गरिएका लक्षण देखिएमा व्यक्तिले ढिलो नगरी तुरुन्त सम्बन्धित चिकित्सकको सल्लाह लिएर आवश्यक चेक जाँच गराउनुपर्छ ।
के खाने र कसरी खाने?
मधुमेहका बिरामीले खानै नहुने भन्ने खाना खासै केही छैन । यद्यपि, यस्ता बिरामी सकेसम्म गुलियो एवं चिनीयुक्त खानाबाट टाढै रहनु नै उचित रहन्छ । यस्तै, हाल चाडपर्व नजिकिरहेको अवस्था छ । यस समयमा पनि सुगरका बिरामीले आफ्नो खानपिनमा अन्त्यत ध्यान पु¥याउनुपर्छ ।
अन्यथा बिरामीमा यसको नकरात्मक असर देखिन्छ । तसर्थ, सुगरका बिरामीले आफ्नो स्वास्थ्यमा नकारात्मक असर नदेखियोस् र आफ्नो स्वास्थ्य स्वस्थ रहोस् भन्नका लागि चिल्लो, मसालेदार र गुलियोयुक्त खानाबाट टाढै रहनुपर्छ ।
यसैगरी, खाना खादा सुगरका बिरामीले एकै पटक नखाएर थोरै–थोरै मात्रामा धेरै पटक खानुपर्छ । र, खाएको खाना शरीरले सही मात्रामा पचाओस् भन्नका लागि व्यक्तिले नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ ।
उपचार
१) डाइट थेरापी
शरीरले पचाउन सक्ने र शरीरलाई फाइदा गर्ने खाना मात्रै थोरै–थोरै गरेर धेरै पटक खाने ।
२) नियमित व्यायाम
खाएको खाना शरीरले राम्ररी पचाउन सकोस् र शरीर चुस्त रहोस् भन्नका लागि नियमित रुपमा व्यायाम गरी शारीरिक रुपमा सक्रिय रहने ।
३) नियमित औषधि सेवन
लकडाउनका समयमा अधिकांश बिरामीले नियमित औषधि सेवन नगरेका कारण हाल अधिकांशमा सुगरको मात्रामा वृद्धि आएको देखिन्छ । यसले व्यक्तिमा अन्य गम्भीर अवस्था पैदा गर्ने सम्भावना उच्च रहन्छ । यसैकारण पनि मधुमेहको बिरामीले नछुटाई औषधिको प्रयोग नियमित मात्रामा गर्नुपर्छ भनिएको हो ।
प्रस्तुतिः सृजना मगर ।