नाकबाट रगत बग्नु चिकित्सा क्षेत्रअन्र्तगत ‘एपिस्ट्यासीस’ अथवा ‘नाथ्री फुट्नु’ भनिन्छ । हाम्रो समाजमा यसलाई सामान्य रुपमा लिइन्छ । नाकबाट हुने रक्तस्राव गम्भीर प्रकारको पनि हुने भएकाले यसलाई वेवास्ता गर्न हँुदैन ।
करिव ७० प्रतिशतमा नाकमा कुनै बाधा नपुगेको अवस्थामा पनि एक्कासी नाकबाट रगत बग्छ । त्यसैले यसले शरीरको अन्य स्वास्थ्य अवस्थातर्फ समेत संकेत गरिरहेको हुन्छ । जसकारण हामीले यसलाई बेवास्ता गर्ने गल्ती गर्नुहुदैन ।
यी कारण बग्छ नाकबाट रगत
सामान्यतया नाकबाट हुने रक्तश्राव २ कारणले हुने गर्छ । जसलाई स्थानीय र सामान्यगरी दुई भागमा विभाजन गरिएको छ ।
स्थानीय कारण
चोटपटक
सवारी दुर्घटना, नाक ठोक्किदा, बाह्य वस्तुले ठेस लाग्दा वा नाक कोट्याउनेजस्ता बानीले नाकको नशामा असर पुगेमा नाकबाट रगत बग्छ ।
बाह्य वस्तु प्रवेश गर्दा
पानी खाँदा नाकभित्र जुकाँ पसेमा, झिंगाले फुल पारेमा, अन्य कुनै किराहरु नाकभित्र प्रवेश गरेमा वा केटाकेटिले नाकभित्र केहि बाह्य वस्तुहरु पसाएमा ।
संक्रमण
ब्याक्टेरियल, भाइरस, रुघाखोकी, पिनास, एलर्जी, ट्युमर, धेरै हाछ्यँु आएमा र मतिष्कको अगाडिको भागमा ट्युमर भएमा ।
सामान्य कारण
- शरीरमा रगत जम्ने तत्व (भिटामिन ए, सी, के र रक्तकोष)को अभाव हुनु
- रगत बन्ने प्रकृयामा अवरुद्धता
- रक्तअल्पता
- ल्युकेमिया (ब्लड क्यान्सर)
- मुटुरोग
- मिर्गाैला सम्बन्धि रोग
- कलेजोको खराबी
- वातावरणीय सुख्खापन ।
कस्तो रक्तस्रावलाई गम्भीर मान्ने ?
नाकबाट हुने रक्तस्राव सामान्य र गम्भीर दुवै प्रकारका हुन्छन् । जसअन्र्तगत सामान्य किसिमको रक्तस्रावमा व्यक्तिको रगत नाकको भित्री अघिल्लो भागबाट चुहिन्छ । यस्तो अवस्थामा नाकको अगाडि भागलाई राम्ररी बन्द गरियो भने रक्तस्रावलाई रोक्न सकिन्छ । र, यसको खतरा कम हुन्छ ।
नाकबाट रगत बग्दा बिरामीको नाक र घाँटी दुवैतर्फबाट जान्छ । यस्तो अवस्थामा नाक बन्द गरिएमा सो रगत घाँटी हुँदै मुख वा पेटमा जान सक्ने सम्भावना उच्च रहन्छ । यो गम्भीर एवं जोखिमपूर्ण अवस्था हो । साथै एकपटक रक्तश्राव हुँदा आधा लिटरभन्दा बढी र हप्तामा ४ पटकभन्दा बढी हुने रक्तश्रावको अवस्थालाई पनि जोखिम अवस्था मानिन्छ ।
नाकबाट रगत बगेमा के गर्ने ?
अत्याधिक रक्तश्राव भएर शरीरमा रगतको कमी हुन गई मस्तिष्कमा समेत रक्तसञ्चार कम हुने डर हुन्छ । जसकारण बिरामी बेहोस वा अर्धचेत हुने, रिंगटा लाग्ने, आँखा धमिलो देख्ने तथा मुटुले काम नगर्नेजस्ता स्थिति समेत सिर्जना हुनसक्छ । तसर्थ सबैभन्दा पहिला बिरामीको स्वास्थ्य अवस्था हेर्नुपर्छ ।
बिरामी नाडीको गती तथा रक्तचापको मात्रा जाँच गर्नुपर्छ । यसपछिको महत्वपूर्ण काम भनेको बिरामीको पोजिसनमा ध्यान दिनु हो । यदि बिरामी होसमै छ तर, रक्तस्राव भइराखेको छ भने, बिरामीलाई बसाएर टाउको अगाडिपट्टि निहुराएर राख्न लगाउनुपर्छ । यसपछि बिरामीलाई मुख खोलेर मुखबाट सास फेर्न लगाई बुढि औँला र चोर औँलाको सहायताले नाक पूर्ण रुपमा बन्द हुने गरी समाउनु पर्छ ।
९० प्रतिशत रक्तस्राव अघिल्लो भागबाट हुने हुँदा यसो गरेमा रक्तस्राव रोकिने सम्भावना उच्च रहन्छ । रक्तस्राव रोकिएपछि सफा कपडालाई पातलो एवम् लामो बनाएर रगत जम्ने औषधिले भिजाई नाकभित्र बिस्तारै लगाउन सकिन्छ । यस्ता बिरामीलाई आराम गराउनुपर्छ । अत्याधिक तातो खाना खान दिनु हुँदैन । यति गर्दा पनि रगत बग्न नरोकिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।
प्रस्तुतीः सृजना मगर