विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा परिरहेको बेला नेपालमा पनि संक्रमण दिन दुई गुण रात चौ गुणाको हिसाबले बढिरहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार जेठ २९ सम्म नेपालमा कोभिड–१९ संक्रमणको कारणले १५ जनाले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । संक्रमितमध्ये ८ सय ६१ भने निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।
२०७६ चैत्र ११ गतेदेखि सुरु भएको बन्दाबन्दी (लक डाउन) २०७७ जेष्ठ ३२ गते सम्मलाई लम्बाइएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान असार १५ सम्म स्थगन गरिएको छ । यो महामारीबाट बच्नका लागि सबैभन्दा सरल र सहज उपाय भनेको नै साबुनपानीले कम्तिमा २० सेकेण्ड मिचीमिची हात धुने र सामाजिक दूरी कायम गर्ने नै हो । तर हामी कोभिड–१९ बाट जोगिन खोज्दा खोज्दै कतै हामी डेंगु त निम्ताइरहेका छैनौ ?
यो बन्दाबन्दीको अवधिमा म मेरो हजुरआमा र बुबाको स्वास्थ्य समस्यालाई लिएर ४–५ वटा अस्पतालमा पुगे । सबै अस्पतालमा पुग्दा अस्पतालको गेट नजिकै साबुनपानीले हात धुनको निम्ति धारा र साबुन राखिएको थियो तर हात धोएर खेर गएको पानी व्यवस्थापन गरेको भने कतै देखिएन । त्यो खेर गएको पानी कि त भुइँमा छताछुल्ल थियो कि त अलिक पर गएर आल भएर बसेको ! कतिपय ठाउँमा त धारासम्म पुगेर हात धोएर आउदा लगाएको जुत्ता, चप्पलनै हिलो हुने अवस्था थियो ।
आल परेको ठाउँ हेर्दा नै अनेक झिंगा भन्किरहेको देखिन्थ्यो । के यस्ता क्रियाकलापहरुले अस्पतालमा रोग निको गर्न पुगेका मनिसलाई डेंगुलगायतका अन्य पानी जन्य संक्रमणहरु नहोला भन्न सकिन्छ र ? अस्पतालबाहेक अहिलेको अवस्थामा हामीले हाम्रो घर, आँगन, टोल, छर–छिमेकमा रहेका पानी जम्ने टिनका डब्बाहरु, टायर ट्युब, खाली ड्रमहरुमा र सार्वजनिक धाराहरुमा पानी जमेको छ या छैन भन्ने विषयलाई पनि ध्यान दिरहेका छौ त ? याद राख्नुस यस्ता ठाउँहरुले लामखुट्टेलाई अझ सशक्त रुपमा विकास हुन महत्वपूर्ण भूमिका खेल्दछ ।
आल भएको वा जमेको पानी र डेंगुको सम्बन्ध
एडिस एजेप्टाई र एई अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु भाइरसको संक्रमण हुन्छ । समयमै उपचार पाए यो रोग सहजै निको हुन्छ तर यसले जटिल रुप लिए बिरामीको मृत्यु समेत हुन सक्दछ ।
सामान्यतयाः १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ र यो गर्मी मौसम डेंगुको लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त समय हो । डेंगुको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ ।
वर्षायाम उपयुक्त तापक्रम र ह्युमिडिटी भएकाले डेंगुको प्रकोप बढ्न अझ मद्दत गर्दछ । जथाभावी खुल्ला रुपमा पानी जम्न दिनु भनेको डेंगुको जोखिम झन बढाउनु हो । किनकी जमेको पानीहरुमा लामखुट्टेले अण्डा पार्ने र लामखुट्टेलेको संख्या वृद्धि हुने गर्दछ ।
इन्डोनेसियाको सहरमा भएको एक अध्ययनले पनि खुल्ला रुपमा जमेको र पूर्ण रुपमा नढाकिएको पानीले डेंगु संक्रमणको जोखिम दोब्बर निम्त्याएको देखाएको छ ।
नेपालमा डेंगुको हालको अवस्था
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा डेंगुका ८२ जना संक्रमित भेटिएको र हालसम्म २६ जिल्लामा डेंगु फैलिएको छ ।
तथ्यांकअनुसार रुपन्देहीमा ३५, म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, सुनसरी र ललितपुरमा ४/४ जना डेंगुका संक्रमित भेटिएका छन् । कपिलवस्तु र मोरङमा ३/३, बागलुङ, कैलाली, धनकुटा, नुवाकोट र धादिङमा २/२ जना, मकवानपुर, गोरखा, तनहुँ, नवलपरासी, पाल्पा, नवलपरासी पश्चिम, डडेल्धुरा, बाँके, दाङ, रामेछाप, उदयपुर र झापामा १/१ जना संक्रमित भेटिएको छ ।
गत वर्ष महामारीको रुप लिएको डेंगुबाट ६८ जिल्लाका १६ हजार मानिस बिरामी भएका थिए । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।
डेंगु ज्वरोको लक्षण
- एक्कासी ज्वरो आउने
- टाउको दुख्ने
- आँखाको गेडी दुख्ने
- हाडजोर्नी तथा मासंपेशी दुख्ने
- झाडापखाला लाग्ने
- रक्तश्राव हुने
- बिमिरा आउनेलगायत लक्षण देखापर्ने ।
डेंगु ज्वरोबाट बच्ने उपाय
- लामखुट्टेको टोकाइबाट बच्ने
- लामखुट्टेको वृद्धि र विकासका नियन्त्रण गर्ने
- घर, आँगन, कौसीको हरहमेशा सरसफाइ गर्ने
- पानी जम्ने ठाउँहरु, टिनका डब्बाहरु, टायर ट्युब, खाली ड्रमहरुमा र सार्वजनिक धाराहरुमा पानी जम्न नदिने
- पानीको नाला, टिन, ड्रम, टायर, ट्युव आदिमा हप्ताको २ पटक डढेको मोबिल वा मट्टितेल छर्कने
- पानीको ट्यांकीहरु समय—समयमा खाली गरी सफा गर्ने र ढकन लगाएर राख्ने
- गमला, फूलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने र पानी सुक्न दिने
- पानी सुक्न नदिने खालका फूल भए डढेको मोबिल वा मट्टितेल छर्कने
- खाली भाँडाकुडा घोप्टाएर राख्ने
- पुरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने
- सुत्दा झुल प्रयोग गर्ने
- लामखुट्टेको टोकाइबाट बच्न मल्हम लगाउने ।
यस्तो जटिल घडिमा हामी कोभिड–१९ को सामना गर्दा–गर्दै अन्य संक्रमणहरु पनी थपिन थाल्यो भने स्थिती झन भयावह बन्न सक्छ । त्यसैले सम्बन्धित निकायबाट उचित कार्य, अस्पतालहरुमा खेर गएको पानीको व्यवस्थापन र व्यक्तिगत तवरबाट सरसफाइका सूचकहरु बेलैमा अपनाइएमा डेंगु ज्वरोको संक्रमणबाट जोगिन सकिन्छ नत्र कोरोना सँगसगै डेंगुले पनि महामारीको रुप नलेला भन्न सकिदैन् ।
‘प्रिभेन्स इज बेटर देन क्युअर’
(पौडेल जनस्वास्थ्यकर्मी हुन् ।)