हरेक वर्ष जेठ १८ (मे ३१) का दिन विश्व धुम्रपानरहित दिवसको रुपमा मनाइन्छ । यो दिवस मनाउनुको खास उद्देश्य भनेको मानिसलाई धुम्रपानजस्तो कुलतबाट छुटाएर उसलाई स्वास्थ्य जीवनमार्गमा ल्याउन जनचेतना जगाउनु हो । धुम्रपान सेवन गर्नाले तपाईंको स्वास्थ्यलाई मात्र होइन मस्तिष्कलाई समेत असर पार्दछ । धुम्रपानले सोच्ने शक्ति र तर्कसँग सम्बन्धित शक्तिलाई समेत असर पार्ने तर्क किंग्स कलेज लन्डनका अनुसन्धानकर्ता बताउँछन् ।
८ हजार ८ सय जना व्यक्तिमा गरिएको सर्भेक्षणमध्ये ५० जना भन्दा धेरैमा उच्च रक्तचाप देखिएको थियो र यसले वजनलाई समेत केही हदसम्म कम गर्दछ । अनुसन्धानकर्ताले धुम्रपान सेवन गरेमा हुने असरहरु जस्तैः हृदयघात या स्ट्रोक, मस्तिष्क र स्वास्थ्यमा पर्ने असर सम्बन्धि जाँच गरेका थिए ।
धुम्रपान भन्नाले के बुझिन्छ ?
सूर्तिजन्य वनस्पति (निकोटियना रस्टिका र निकोटियना) टोवाकमको पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिसाएर प्याकेटमा राखी बनाइएका चुरोट, बिडी, सुर्ती, सुल्फा, जर्दा, पराग, गुट्खा आदिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई मुख, म्युकोसा, नाक वा छालाबाट शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्रपानको संज्ञा दिइन्छ । यो धुँवा सेवन मात्र नभएर सूर्ति सेवन हो र एक प्रकारले दुर्व्यसन हो ।
संसारभरि हरेक दिन १५ अर्ब चुरोट बिक्दछ भने हरेक मिनेट १ करोड चुरोट बिक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सूर्ति सेवनका कारणले हुने गर्दछ भने हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट सेवनले हुने गर्दछ । यस्तो क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये १ जना मान्छेको मृत्यु गराउने विश्वब्यापी तथ्याकंगत पूर्वानुमान छ । युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटनाभन्दा दुई गुणा ज्यादा मानिसको मृत्यु धुम्रपानका कारणले भएको छ ।
चुरोट मुखमा राखेर धुँवा उडाएपछि हामी सोच्दछौ कि हिरो भएँ । चलचित्रमा पनि चुरोटका ठुटाहरु अनि धुँवाका मुस्लोसँगै पात्रहरु देखाइन्छ । चुरोट नखानेलाई पनि चुरोटको धुँवाको त्यति नै असर गर्छ जति चुरोट तान्नेलाई हानी गर्छ । आमाले गर्भवती हुँदा चुरोट सेवन गरेकाले जन्मदै विभिन्न समस्या लिएर जन्मने अवोध पुस्ताहरुको आफ्नै ब्यथा छ । धुम्रपानका कारणले कम उमेरमै कष्टकर जीवन बिताँउदै धन, मन अनि तनको खती भएकाहरुको कथाहरु । धुम्रपान एउटा कुलत हो, जसमा हामी जो कोही पनि पर्न सक्दछौ । पुराना सामाजिक मान्यताले धुम्रपानलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको छ ।
धुम्रपानको लतमा आजको भोलि नै धुम्रपान गर्न छाड्न पक्कै अप्ठ्यारो हुनसक्छ, तसर्थ बिस्तारै यो लतबाट आफूलाई छुटाउने कोशिस गर्नुपर्छ । विश्वभरिका अधिकांश धुम्रपान गर्ने व्यक्तिहरु साथीभाइको लहलहैमा लागेर सानै उमेरमा धुम्रपान गर्न सिक्छन् । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो हैन पक्कै जिरो बनाँउदछ यो कुरा बुझ्नु जरुरी छ ।
नकारात्मक असर
अम्मली बनाउने तत्व निकोटिनको ६० मि.लि. ग्राम सुइले मानिसको मृत्यु गराउँछ जुन चुरोट, बिडी, कक्कड, तम्बाखु आदि सूर्तिमा २० मिलि ग्राम पाइन्छ । सूर्तिजन्य पदार्थमा पाइने रसायनले शरीरलाई क्षीण र दुर्बल बनाउनुका साथै आर्थिक एवं सामाजिक रूपमै कंगालसमेत बनाउँछ ।
हालै गरिएका अनुसन्धानहरूले पुरुषको तुलनामा महिलाहरूमा धुम्रपान गर्दा दुई गुणा बढी फोक्सोको क्यान्सर हुने खतरा देखाएका छन् । धूम्रपानमा भएका तत्वहरूले शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्तनली, श्वासप्रश्वास, प्रजनन, दन्त स्वास्थ्यका साथै मस्तिष्कमा घातक असर गर्छन् । धुम्रपान गरेको एक मिनेटमै मुटुको धड्कन ३० प्रतिशतका दरले बढ्छ, कोरनरी हार्ट रोगको खतरा बढ्छ, दम, स्तन क्यान्सर, मुखको क्यान्सर, मुटु रोग आदि २५ किसिमका रोग र दुई–तिहाई क्यान्सरको जोखिम बढाउँछ ।
धुम्रपान नगर्ने महिलाको तुलनामा धुम्रपान गर्ने महिलाको मासिक चक्र बढी गडबड हुने, धेरै गुणा रिस डाह गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनै–कुनै बेला अरुभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छ । चुरोट, बिडी, तम्बाखु आदिमा पाइने नशालु तथा हानिकारक तत्वले महिलाको जीवरस (हर्मोन) निर्माण गर्ने ग्रन्थीहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपनसम्म सिर्जना गर्न सक्छ ।
कसरी धुम्रपानको लत छुटाउने ?
विस्तारै धुम्रपानको लत छुटाउन दिनहुँको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित तजविजले यो बानी छुटाउन सकिने अध्ययनहरुले देखाएको छ । कहिलेकाहीँ त चुरोट छाड्नका लागि सल्काउन अघि नै केही चुरोटका सूर्तिभएका ठुटा भाँचेर आधा मात्र सल्काउने गर्नाले पनि केही मात्रामा भएपनि थोरै चुरोटको धुँवा खाइन्छ । संगीत, खेलकुद अनि साहित्यको रस पनि चुरोटभन्दा कम मिठो हुँदैन ।
अहिले आएर त चुरोटको प्याकेटमै चुरोट सेवनले असर गरेका फोक्सो, कलेजो अनि मुखहरुका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा धुम्रपान सहज देश पनि हो, अन्य देशका तुलनामा यहाँ धुम्रपान गर्नेलाई कडा कानुनी प्रावधानको कार्यान्वयन कम छ । अहिले आएर सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि कार्यान्वयनमा कमी छ ।
चुरोट र अन्य सूर्तिजन्य पदार्थका सेवन आजको विश्वका लागि एउटा चुनौती हो । निकोटीनको यो लतबाट संसारलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धुँवाजन्य कुरा अनि पान अर्थात सेवन, यस अर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिँडीलगायत अन्य धेरै धुम्रपानजन्य कुराहरुका बारेमा आज संसारभरि जनजागरण फैलाइन्छ । सन् १९८७ देखि यस दिनलाई धु्रमपान रहित दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।
धुम्रपान बारेमा अनुसन्धान
डा. एलेक्सको भनाइलाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘धुम्रपान गर्ने व्यक्तिहरुको स्वास्थ्य जोखिममा पर्नुका साथै उमेर पनि घट्दै जान्छ । हामीले मस्तिष्क कमजोर हुने र त्यसबाट हुने जोखिमको कारण पत्ता लगाई आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरूरी छ ।’
प्रयोगकर्ताहरुलाई थाहा छैन कसरी आफ्नो मस्तिष्क गिरावट भएर दैनिक जीवनमा धुम्रपानले प्रभावित पार्न सक्छ । उनले भने निश्चित छ कि धुम्रपानले मस्तिष्कमा छिट्टै नै आक्रमण गरी पागलपन पनि गराउन सक्छ ।
अल्जाइमर रिसर्च यूकेबाट डा. साइमन रिड भन्छन्, ‘पटक—पटक अनुसन्धान गर्दा यो थाहा भयो कि धुम्रपान गर्नाले उच्च रक्तचापको बिमार हुने, उमेर घट्ने साथै मस्तिष्कमा धेरै नोक्सान पु¥याउनलाई दबाव दिन्छ र यो प्रमाणित छ कि वजन पनि धेरै घटाउँछ ।’
पचास बर्ष नाघेका एक समूहको स्वास्थ्य र जीवनशैलीको बारेमा अनुसन्धान गरी डाटा संकलन गरिएको थियो । उक्त समयमा मस्तिष्क परीक्षणको लागि मानिस र केही जनावरहरुलाई पनि समावेश गरी जाँच गरिएको थियो । यो कार्य आठ वर्षसम्म निरन्तर चलाएका थिए । उनीहरुले जब धुम्रपान गर्ने र नगर्नेबीच यस अनुसन्धानबाट यो नतिजा पाए कि धुम्रपान गर्नेको तुलनामा धुम्रपान नगर्नेहरुको हृदयघात या स्ट्रोकको जोखिम धेरै हदसम्म कमी पाए ।
सफा फोक्सो, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एसट्रेभन्दा पनि गमला अनि फूलको विक्री बढोस् अबको सालहरुमा । धुम्रपान विरुद्धको दिवसको मर्यादा राखौ है त !