के हो पत्रु खाना ?
साधारणतयाः पत्रु खाना भन्नाले अत्यधिक चिल्लो, गुलियो, नुन हाली फ्याक्ट्रीमा तयार गरिएका प्रोटिन तथा पोषणरहित स्वास्थ्यमा हानी पुर्याउने पदार्थलाई बुझाउँछ । हामीले यसलाई ‘जंक फुड’ भनेर चिन्दछौं । आलुचिप्स, क्यान्डी, चाउचाउ, चटपटे, चिजबल्स र विभिन्न प्रकारका कोकजस्ता पेय पदार्थहरू पत्रु खानपानमा पर्दछन् ।
यस्ता खाद्य पदार्थबाट पाइने चिनी तथा नून हाम्रो लागि मन्द विषसरह हुन्छन् । फ्याक्ट्रीमा पतपति धुवाँ आउँदा आउँदै अत्याधिक नुन र तेल हालेर उच्च तापक्रममा खरो गरी बनाइएका बजारमा पाइने विभिन्न नामका खाजाहरू पत्रु खाना हुन् । कुरकुरे, लेज, चाउचाउ, चिजबल्स र प्याकेटमा आएका बिस्कुटहरू थप चिल्लो (ट्रान्स्फ्याट) राखेर बनाइएका हुन्छन् । स्वास्थ्यको निम्ति यी अत्यन्त खतरनाक हुन्छन् ।
किन हानिकारक छ पत्रु खाना तथा पेय पदार्थ ?
करकुरे, चाउचाउ, चिजबल्स खाँदाखेरि स्वादिलो हुन्छन्, त्यसैले बालबालिकाहरू यसलाई खाजाको रूपमा खान मन पराउँछन् । यी सबै प्रकारका पत्रु खानाहरूले भोक मार्दैनन् । गर्मीको समय छ, बालबालिकाहरू कोकलगायतका पेय पदार्थ पिउन रुचाउँछन् । बालबालिका मात्र के, हामी ठूला भएकाहरू पनि घरमा कोही आउने बित्तिकै चिसो खाउँ भन्दै फ्रिजबाट कोक झिक्न थाल्छौं । बाहिर हिँड्दा गर्मी छ भन्दै कोक नै पिउँछौं ।
तर, यस्ता पत्रु खाना तथा पेय पदार्थले हाम्रा बालबालिकामा कस्तो असर पारिरहेको छ र भविष्यमा कस्तो असर पर्नेछ भन्ने बारेमा हामीले ध्यान नै दिइरहेका छैनौं । हामी पैसा खर्च गरि क्यान्सर, हृदयघात, मधुमेहजस्ता भयानक प्राणघातक रोगहरूको जोखिम तत्वहरू किनिरहेका छौं र मेरो बच्चा त दिनको यति पैसा पत्रु खानामा खर्च गर्छ भनी गर्व गर्दछौं । यसले हाम्रा बालबालिकाको शरीरमा कस्तो असर गर्छ भन्ने बारेमा कहिल्यै सोचेनौं । वास्तवमा पत्रु खाना तथा पेय पदार्थको असर तुरुन्त देखिदैंन् । यसले त मन्दविषको रूपमा हाम्रो शरीरमा असर गरिरहेको हुन्छ । लगातार यस्ता पत्रु खाना खानेहरूको शरीरमा चिल्लो, कार्बोहाइड्रेट र चिनीको मात्रा बढ्दै जान्छ ।
भविष्यमा मुटुरोग, क्यान्सर, मधुमेह, उच्च रक्तचापको जोखिम बढ्ने गर्दछ । शरीरमा मोटोपना बढ्दै गै रगतका नलीहरू बन्द हुँदै जाने र यसले गर्दा हृदयघात हुने जोखिम पनि त्यत्तिकै रहन्छ । पत्रु खानाको कुलतले स्वस्थकर खानाहरू जस्तै फलफूल, सागसब्जीलगायतका अन्य हरियो काँचो खाइने तरकारी (सलाद) को रुची कम पार्छ र शरीरमा अति आवश्यक पोषण तत्वको मात्रा पनि घटाउँछ । पत्रु खानाहरूको तुलनामा गेडागुडी र अन्नले कम दाममै धेरै पोषिलो र स्वस्थकर तत्वहरू प्रदान गर्दछ र भोक मार्दछ । यस्ता पोषिलो र कम दाम पर्ने खाजाहरू धेरै हुन्छन् ।
किन मन पर्छ कोक ? कसरी असर गर्छ यसले ?
के तपाईंले कहिल्यै विचार गर्नुभएको छ एक लिटर कोक पिउँदा कति चिनी सेवन गरिरहनु भएको छ ? एक लिटर कोक खाँदा हामीले १०६ ग्राम अथवा २१.२ चम्चा चिनी सजिलै थाहा नै नपाई खान्छौं र बिस्तारै चिनी र क्याफिनको कुलतमा फस्दै जान्छौं । अत्याधिक मात्रामा गुलियो र क्याफिन खानाले मुटु र मधुमेयजस्ता अन्य नसर्ने खालका रोगहरूलाई निम्त्याउँछ । कोक पिएपछि यसमा भएको गुलियो २० मिनेटभित्र रक्त प्रणालीमा पसी तत्काल ऊर्जा आएको अनुभूति गराउँछ ।
कलेजोले त्यो चिनीलाई चिल्लो पदार्थ कोलेस्ट्रोलमा परिणत गर्दछ । कोक, पेप्सीजस्ता पेय पदार्थ खाएको ४० मिनेटभित्रमा यसमा भएको क्याफिन पूर्ण रूपमा शरीरमा सोसिन्छ । यसो हुँदा आँखाको नानी ठूलो हुने र कलेजोले शरीरमा झन् धेरै चिनी पठाउँदै जान्छ जसले गर्दा व्यक्तिको थकान निद्रामय अवस्था हटेर जान्छ । अब ४५ मिनेटभित्र हाम्रो दिमागले डोपामिन नामक रसायन उत्पादन गरी आनन्दको अनुभूति दिन्छ । यस अर्थमा कोकले लागूपदार्थ हिरोइनले जस्तै काम गर्दछ । तर यो आनन्दको अनुभूति लामो समयसम्म रहँदैन ।
अर्काे एक घण्टापछि फेरि कोक खान मन लाग्दछ । यसरी चाँडै नै कोकमा हाम्रो लत बसिसकेको हुन्छ । तपाईलाई अचम्म लाग्न सक्छ त्यति धेरै चिनी हाल्दा पनि कोक च्वास्स गुलियो हुँदैन । किनकि यसमा फोस्फोरिक एसिड हालिएको हुन्छ । जसले चिनीको च्वास्स गुलियोलाई धिमा पार्छ र यो हामीलाई स्वादिलो लाग्छ । वास्तवमा फोस्फोरिक एसिड मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक तत्व हो । यसको प्रयोगले मुटुलगायत मृगौलालाई हानी गरी हाड पनि खियाउने गर्दछ ।
धेरैजसो औद्योगिक क्षेत्रमा, चर्पी सफा गर्न र बगैंचामा कीटनाशक विषादीको रूपमा फोस्फोरिक एसिडको प्रयोग गरिन्छ । यसले हाम्रो दाँतको चम्किलो भाग इनामेललाई नष्ट गर्दछ । कोकमा मात्र हैन, प्रायः अन्य सबै यस्ता पेय पदार्थहरूमा फोस्फोरिक एसिड प्रयोगमा ल्याइन्छ । कोकलाई आकर्षक रंग दिन क्यारामेलको प्रयोग गरिएको हुन्छ । यसले हाम्रो सुन्दर देखिने सेतो दाँतलाई पहेलो–खैरो बनाउँछ । कोक जस्ता पत्रु पेय पदार्थहरूभन्दा धेरै कम खर्चमा पाइने सर्वोत्तम पेय पदार्थ भनेको स्वच्छ पानीनै हो ।
कस्तो खाना खाने त ?
कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी गरी यी ६ अत्यावश्यक पौष्टिक तत्वहरू हुन् । यी ६ अत्यावश्यक पौष्टिक तत्वहरूलाई हाम्रो शरीर आफैंले उत्पादन गर्न नसक्ने हुँदा यिनलाई हामीले आहारद्वारा लिनुपर्दछ । चामल, गहुँको पिठो, कोदो, मकै आदि कार्बोहाइड्रेट हुन् भने गेडागुडी, चना, दुध, दहि, अण्डा, माछा (मासु आदि प्रोटिन हुन् ।
यसैगरि फलफुलहरू र हरियो सागसब्जीहरूलेभिटामिन र खनिज तत्व दिन्छन् । सूर्यमुखी, जैतुन, भटमास, तोरी तेलहरूबाट हामीले अत्यावश्यक पर्ने चिल्लो पदार्थ पाउछौं । छैठौं अत्यावश्यक पौष्टिक तत्व भनेको पानी हो । किनकी हाम्रो शरीरको ६०% भाग पानीले बनेको हुन्छ । त्यसकारण हामी सबैले प्रत्येक दिन कमसे कम दुई लिटर अथवा १२ ग्लास पानी पिउनुपर्दछ ।
यी ६ अत्यावश्यक पोषण तत्वहरू समावेश भएको खाद्य पदार्थलाई खाना र खाजाको रूपमा प्रयोग गर्नुपर्छ र हाम्रा बालबालिकालाई पनि यस्तै खाना खान प्रोत्साहित गर्नुपर्छ । अन्यथा भविष्यमा पछुताउनुको विकल्प रहने छैन ।
(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य शिक्षा प्रशासक प्रमुख हुन् ।)