तुलनात्मक रुपमा बालबालिकाको मानसिक स्थिति वयस्क तथा अन्य उमेर समूहको भन्दा बढी संवेदनशील हुन्छ । कलिलो उमेर र अपरिपक्वताका कारण उनीहरु आफूभन्दा ठूलाले भनेका कुरा सजिलै विश्वास गर्छन् । बालबालिकाको मानसिक स्वास्थ्य हामीले बोल्ने गरेका बोली र घरको वातावरणद्धारा पनि तय हुने गर्छ । त्यसैले हामीले बोल्ने प्रत्येक बोली तथा गर्ने व्यवहारले उनीहरुको मानसिक स्थितिमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हामीले सदैव विशेष ध्यान पु¥याउनु पर्छ ।
हाल विश्व नै कोभिड–१९ को संक्रमणबाट भयभित भएको देखिन्छ । पटक–पटक संक्रमण तथा मृत्युको समाचार बाहिरिइरहँदा त्रसित भएका हामी यस्तो समयमा साना बालबालिकाको मनोस्थितिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि सचेत रहन आवश्यक पर्दछ । यद्यपि साना बालबालिकाले यस्ता भाइरस संक्रमणको समाचारलाई चाख दिएर नसुनेतापनि हामीले यस्ता संक्रमणको जोखिमबाट उनीहरुलाई टाढा राख्न भएतापनि यसबारे उनीहरुलाई आवश्यक जानकारी तथा सूचना दिनु पर्दछ । तर, कहिलेकाहीं आफ्ना साथीभाइको माध्यमबाट पनि उनीहरुमा यसबारे विभिन्न जिज्ञासाहरु उत्पन्न हुन सक्छन् । यस समयमा भने हामीले उनीहरुको कुरा ध्यान दिएर सुन्नुपर्छ ।
प्रत्येक साना बालबालिकाको विश्वसनीय पात्र भनेकै आफ्ना घरका आमाबाबु तथा अभिभावक हुन् । तसर्थ, यस्तो अवस्थामा बालबालिकाले कोभिड १९ सम्बन्धि तपाईसँग राखेका र सोधेका प्रत्येक जिज्ञासाको सत्य एवं तथ्य जानकारी दिनुपर्छ । यस सँगसँगै हामीले यस संक्रमणबाट पनि बच्न सकिन्छ र कसरी जोगिने? भन्ने विषयमा पनि नछुट्याई उनीहरुको बुझ्ने क्षमताअनुसार राम्ररी ज्ञान प्रदान गर्नुपर्छ । यसका साथै यदि कुनै पनि बालबालिकाले यसको विषयमा कुरा गर्न चाहँदैन र सुन्न खोज्दैन भने हामीले जबरजस्ती रुपमा उनीहरुलाई सुनाउन र भ्रामिक जानकारी दिएर डराउने वा तर्साउने काम गर्नु हुँदैन ।
यसरी गर्नुहोस् आफ्ना बालबालिकासँग समय व्यतीत
कोभिड-१९ का कारण सरकारले लकडाउन गरेलगत्तै प्रत्येक शैक्षिक संस्था एवं अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द भएका छन् । संक्रमणबाहेक फरक दृष्टिकोणले हेर्ने हो भने यो अहिले आफ्ना परिवार तथा बालबालिकासँग समय व्यतीत गर्ने भरपर्दाे समय पनि हो । यस समयमा बाहिर आएका विभिन्न मृत्यु, संक्रमण तथा लकडाउनको खबरहरुले आफ्ना बालबालिकालाई नकरात्मक असर नपरोस् भन्नका लागि हामीले उनीहरुसंग यस्ता किसिमका क्रियाकलापहरुद्धारा समय व्यतीत गर्नुपर्दछः
- अन्य समयमाजस्तै नियमित रुटिङ अनुशरण गर्ने तथा गर्न लगाउने
- शारीरिक व्यायाम गर्न लगाउने
- सिर्जनात्मक एवं कलात्मक क्रियाकलापमा संलग्न गराउने
- नयाँ तथा रुची भएका काम गर्न प्रेरित गर्ने
- ज्ञान एवं रुची भएका किताब पढ्न लगाउने
- चिन्ता एवं तनाव लिएर उनीहरुको सामु प्रस्तुत नहुने
- घरेलु गतिविधिका काम गर्न सिकाउने
- हाँसखेल एवं ठट्टा गर्दै मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने ।
प्रस्तुतीः सृजना मगर ।