प्रा. डा. दिनेशकुमार लम्साल मुलुकको प्रमुख अस्पताल सिभिल सर्भिस अस्पतालको फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी मेडिसिनका विभागीय प्रमुख हुन् । त्यसबाहेक डा. लम्साल सिभिल अस्पताललाई सन् २०२१ मा एकेडेमिक संस्थाका रुपमा विकास गर्न गठन भएको एकेडेमिक काउन्सिलका निर्देशक पनि हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डका सदस्य, सिभिल अस्पतालको चीन इन्टर्नसीप कार्यक्रमका कोर्डिनेटर, सिभिल हब सेटेलाइट हस्पिटलका कोर्डिनेटर र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपत्तकालीन स्वास्थ्य व्यवस्थापन केन्द्रको टेक्नीकल कमिटीका सदस्य उनका थप जिम्मेवारी हुन् । डा. लम्साल जिपीईएमएएनका उपाध्यक्षसमेत छन् ।
अहिले डा. लम्साल सिभिल अस्पतालको इन्स्टिच्युसन रिसर्च रिभ्यु बोर्डका दोस्रो कार्यकाल अध्यक्ष छन् । सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को रिभ्यु बोर्ड गठन गर्दा पनि अध्यक्ष नै रहेका थिए । अहिले उक्त बोर्डमा सदस्यसचिवका रुपमा डा. विकलचन्द्र शाक्य र सदस्यहरुमा डा. कमल शर्मा लम्साल, डा. परिमल आचार्य, डा. जितेन्द्र परियार, डा. विशेष शर्मा पौडेल, डा. इशा श्रेष्ठ, डा. सुदीपचन्द्र दाहाल, र मंगलमाया प्रजापति रहेका छन् भने आमन्त्रित सदस्यमा डा. पियुष दाहाल छन् ।
सरल स्वभावका डा. लम्साल रुपन्देहीको करैयामा जन्मिएका हुन् । उनको बाल्यकाल एकदमै पिरमिटीभ रुपमा बितेको थियो । किसान परिवारमा जन्मिएका उनको गाउँमा स्कुल पनि थिएन् । त्यही कारण उनले प्रारम्भिक शिक्षा आँपको बगैचामा इटटा बिच्छयाएर र बोरा बिछ्याएर पढेको झल्झल्ती सम्झन्छन् ।
‘हामी पानी पनि खोलाको खान्थ्यौं,’ उनले सुनाए । विस्तारै उनको गाउँमा स्कुल स्थापनाको कार्य अगाडि बढाइयो । स्कुल बन्दा त्यहाँका विद्यार्थी एक/दुई पिरियड श्रमदान गर्थे ।
मणिग्राम शान्ति नमुना माध्यमिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरेका हुन् । ‘०४२—०४३ तिर मैले त्यो स्कुलबाट एसएलसी उत्तीर्ण गरे,’ हालैको एक विहान हेल्थआवाजसँग उनले भने, ‘म त्यो बेला जिल्लाकै टपर भएको थिए ।’ त्यसपछि उच्च शिक्षा पढ्नका लागि उनी काठमाडौं आए । उनले काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे ।
त्यसपछि उनी हेल्थ असिस्टेन्ट (एचए) पढ्नका लागि महाराजगन्ज क्याम्पस गए । महाराजगन्ज क्याम्पसबाट एचए सकेपछि उनले केही समय पाटन अस्पतालमा काम गरे । पाटन अस्पतालमा काम गर्दागर्दै उनले सन् १९९४ बंगलादेशमा छात्रवृत्तिमा एमबीबीस पढ्नका लागि छानिए । बंगलादेशस्थित तत्कालीन नेपाली राजदूतले आफन्तलाई त्यो कोटामा छानेपछि उनी एमबीबीएसको अधुरो सपना बोक्दैं नेपाल फर्किए । ‘मेरो जीवनमा त्यो दुःखद् कुरा भयो । तर, मेरो पढाइ रोकिएन्,’ उनले भने।
‘जहाँ इच्छा, त्यहाँ उपाय’ उनले एमबीबीएसका लागि निरन्तर अवसरहरु खोजी नै रहे । लगतै डा. लम्सालले रसियामा छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाए । सन् १९९८ मा उनी एमबीबीएसको पढाइ कसेर रसियाबाट नेपाल फर्किए । त्यसपछि उनले कान्ति बाल अस्पताल, बुटवलस्थित आम्दा अस्पताल, गंगालाल हृदयरोग केन्द्रमा काम गरे । ‘गंगालालमा काम गर्दागर्दै म स्थायी भए,’ उनले भने, ‘त्यही बेला काजमा १ वर्ष वीर अस्पतालमा पनि काम गरे ।’
त्यही क्रममा उनले एमडीका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नाम निकाले । छात्रवृत्तिमा नाम निकालेपछि सन् २००२ मा उनी इन्टरनल मेडिसिनमा एमडी गर्न धरान गए । त्यहाँबाट उनले सन् २००५ मा एमडी सके । त्यसपछि उनले विभिन्न अस्पतालमा रहेर बिरामी हेरे । त्यहीक्रममा उनी चीनमा थ्री गर्जेज युनिभर्सिटी र गएर भिजिटिङ प्रोफेसरका रुपमा पढाए । चीनबाट फर्केर आएपछि उनले पुनः ६ महिना वीर अस्पतालमा काम गरे ।
त्यसपछि उनले काठमाडौं मेडिकल कलेजमा लेक्चररका रुपमा काम गर्न थाले । यही क्रममा वि.सं. २०६६ सालमा निजामती कर्मचारी अस्पतालले सेवा सुरु ग¥यो । डा. दिनेशलाई अस्पताल विकासका लागि काम गर्न आग्रह गरियो । ‘निजामती अस्पताललाई राम्रो बनाउनका लागि नै म यहाँ आएको हो,’ उनले भने, ‘यहाँ काम गर्दागर्दै म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पनि प्रोफेसर भए ।’
सिभिल सर्विस अस्पतालको गठन आदेशमा पनि एकेडेमिक नै लेखिएको छ । डा. लम्साल नेतृत्व गरिरहेको सिभिलको एकेडेमिक काउन्सिलले अस्पतालका शैक्षिक गतिविधीहरु विकासमा काम गरिरहेको छ । शैक्षिक गतिविधीहरु अगाडि बढाउनका लागि सिभिल अस्पतालले न्याम्ससँग वि.सं. २०७१ सालमा सम्झौता गरेर कामहरु अगाडि बढाइरहेको छ । जसअन्तर्गत मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, इमर्जेन्सी, फ्यामिली मेडिसिन, गाइनोकोलोजी, एनेस्थेसियोलोजी, अंकोलोजी र हेमाटोलोजीका एमडी/एमएसका रिजेडेन्टहरुलाई पढाइरहेको छ ।
यस्तै, मेडिसिन, हेमाटोलोजी, अर्थोपेडिक्स, इमर्जेन्सी, फ्यामिली मेडिसिन र गाइनोकोलोजीमा पाकिस्तानको एफसीपीएसको पोष्ट ग्राजुयसन कोर्स चलाइरहेको छ । यस्तै, सिभिलको वि.सं. २०७४ मा इन्टरनेशनल गाइनोकोलोजिक सोसाइटीसँग पनि ग्लोबल करिकुलम एण्ड मेन्टरसीप प्रोग्रामअन्तर्गत अंकलोलोजी फेलोसीपका लागि सम्झौता भएको छ भने वि.सं. २०७८ मा न्याम्ससँग डिएमको हेमाटोलोजी र अर्थोप्लास्टी फेलोसीपका लागि सम्झौता भइसकेको छ ।
‘४०—५० जना न्याम्सका रेजिडेन्टहरु यहाँबाट ट्रेनिङ लिएर पासआउट भइसकेका छन्,’ डा. लम्साल भन्छन्, ‘अन्य एकेडेमिक कुरामा पनि न्याम्ससँग सम्झौता हुँदैछ । विदेशका केही संस्थाहरुसँग पनि हामी सम्झौता गर्दैछौं । एक किसिमले हाम्रो अस्पताल पूर्णतयाः एकेडेमिक वातावरणमा छ । यहाँकै वस्तुगत तथा फ्याल्टीका हिसाबले सक्षम भएकाले हामीले यसलाई एक्सटेन्सन प्रोग्राममा लगेर सबल बनाउने हाम्रो लक्ष्य हो । बजेट बनेर बोर्डबाट पनि पास भइसकेको छ ।’ उनकाअनुसार अस्पतालको र देशको आवश्यकता हेरेर बीएस्सी, बीएन नर्सिङका कार्यक्रमहरु, प्याथालोजीमा बिएमएलटी चलाउने र रेडियोलोजीमा टेक्नीसीयनहरु उत्पादन गर्ने हिसाबले अहिले कामहरु भइरहेका छन् । सिभिल झण्डैं आधा दर्जन अन्तर्राष्ट्रिय एकेडेमिक इन्स्टिच्युटसँग एकेडेमिक प्रोग्रामका लागि सहकार्य गरेको डा. लम्साल बताउँछन् ।
यसबाहेक सिभिलले विभिन्न अनुसन्धान तथा अनुसन्धानमूलक प्रकाशनहरु समेत गर्दै आएको छ । थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा पनि सिभिलमा भएका अनुसन्धानहरु प्रकाशित भएका छन् । ‘अन्तर्राष्ट्रिय अनुसन्धानहरु पनि यहाँ भइरहेका छन् । अब छिट्टै युनिट गठन गरेर पब्लिकेसन्स पनि गर्ने तयारीमा छौं,’ उनले भने, ‘हामीले यहाँ फ्याकल्टी विकास गर्न सक्यौं भने पछि त्यही फ्याकल्टीले काम गर्छ । रेजिडेन्टले उपचार गर्दाखेरि त्यसको क्वालिटीमा पनि फरक पर्छ । ह्युमन रिसोर्स पनि विकास हुन्छ । सरकारलाई पनि इन्भेष्ट गर्नै नपर्ने हुन्छ ।’ विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि सिभिलमा केही अनुसन्धानहरु गरेको छ, जसमा डा. लम्साललगायतका चिकित्सकहरु संलग्न छन् ।