साधारणतयाः मानसिक स्वास्थ्यले व्यक्तिको जीवनमा हामीले सोचे, देखे र महशुस गरे भन्दा बढी प्रभाव पार्दछ । तसर्थ जसरी हामीले हाम्रो शारीरिक स्वास्थ्यको ख्याल राख्छौ त्यसरी नै मानसिक स्वास्थ्यको ख्याल राख्नु पनि अत्यावश्क हुन्छ । र, अभिभावकको रुपमा भन्नुपर्दा हाम्रा बालबालिकाको मानसिक स्वास्थ्यप्रति हाम्रो महत्वपुर्ण भुमिका रहन्छ ।
बालबालिकाको मानसिक स्वास्थ्य हामीले बोल्ने गरेका बोली र घरको वातावरणद्धारा पनि तय हुने गर्दछ । यसैगरी बढ्दो उमेरक्रममा कतिपय बालबालिकाहरु मानसिक रोगबाट पनि शिकार हुने गरेको देखिन्छ । हामीले पनि आफ्नो बालबालिकालाई मानसिक आघात पुगेको वा नपुगेको भन्ने कुरा उनीहरुको ब्यवहारबाट अड्कल लगाउन सकिन्छ ।
क्यानडामा बालबालिका तथा युवाहरुको मानसिक स्वास्थ्यस्थितीको बारेमा गरिएको अनुसन्धानमा प्रत्येक ५ मध्ये १ जना अर्थात् कुलको २० प्रतिशत बालबालिका तथा युवाहरु मानसिक रोगको शिकार हुने गरेको निस्कर्ष पत्ता लागेको छ । परीक्षणमा हाइपर गतिविधि मानिने तनावमा तथा डिप्रेशनमा रहेका बालबालिका, लामो समय देखि नकरात्मक असर परेका बालबालिका र खानपिनको गडबढी तथा सिक्ने प्रकृयामा कमजोर भएका आदि बालबालिकालाई लिइएको थियो । त्यसमध्ये अधिकांश बालबालिकाहरु नम्र भएता पनि उनीहरुको ब्यवहार तथा भावनाबाट समस्या परेको निस्कर्ष उक्त सर्वेक्षणले निकालेकोे थियो ।
मानसिक समस्याले युवाहरुमा जुनसुकै समयमा पनि आक्रमण गर्न सक्दछ । व्यक्तिमा यस्ता समसया देखा पर्नु पछाडि पनि विभिन्न कारणहरु हुने गर्दछन्ः
- वशांणुगत समस्या
- आर्थिक समस्या
- मानसिक तनाव
- असामान्य घरायसी वातावरण
- टाउकोमा गहिरो चोट लागेको बालबालिका
- अकल्पनीय घटना
- ठुलो आघात वा झट्का
- औषधि तथा लागु औषधको प्रयोग
आफ्ना बालबालिका मानसिक रोगको शिकार भए नभएको कसरी थाहा पाउने?
प्रत्येक बालबालिका तथा व्यक्ति आफ्नै स्वभाव तथा प्रकृतिका हुन्छन् । त्यसमध्ये पनि अधिकांश समय बालबालिकाको समीपमा रहने अभिभावकलाई मात्रै आफ्ना बालबालिकाहरुको स्वभाव तथा रुचिको बारेमा थाहा हुन्छ । त्यस्ता अभिभावकले मात्रै आफ्नो बालबालिका मानसिक रोगको शिकार भएको कुरा थाहा पाउन सक्छन् । बढ्दो उमेर क्रमसंगै बालबालिकाको बानी ब्यवहारमा पनि परिवर्तन आउने हुन्छ । तर, उमेर अगावै वा अकस्मात् देखिएको परिवर्तन भने मानसिक रोगको संकेत हुन सक्छ:
- झिझो मान्ने
- समुहबाट टाढै रहने
- एकोहोरिने तथा एक्लोपनमा बस्न रुचाउने
- लगातार रुने
- डराउने तथा छिनछिनमा तर्सिने
- मन पर्ने खाना, ब्यक्ति तथा सामानबाट टाढिनु
- निन्द्रा तथा खानाको रुचिमा गडबढी हुनु
- जिद्दि हुनु
- नङ टोकि रहनु
रोकथाम तथा उपचारका उपायहरु:
अन्य उमेरका समुहको तुलनामा बालबालिका अति नै संवेदनशील हुने भएकोले हामीले सदैव उनीहरुसंग सरल अथवा उनीहरुको साथीको रुपमा प्रस्तुत हुनु पर्दछ । कम उमेरमा नै अधिकांश ब्यक्तिहरुले आफ्नो जीवनभरको निम्ति उपयोगी हुने कुरा सिक्ने भएकोले हामीले सकेसम्म शान्त तथा सिर्जनशील पारिवारिक वातावरणको सिर्जना गर्नुपर्छ । यस्तै उनीहरुको कुनै पनि कुरालाई नजरअन्दाज गर्नु हुदैन । उनीहरुको प्रत्येक भाव र विचारको सम्बोधन गर्दै सहि वा गलत छुट्याइदिनु पर्दछ । यो समय अरुहरुको देखासिकी गर्ने उमेर भएकोले उनीहरुले गलत बाटो पनि पहिल्याउन सक्छन् । त्यसको निमित्त प्रत्येक अभिभावकले आफ्ना बालबालिकासंग सके जति अधिकतम् समय बिताइ उनीहरुलाई आइ परेको प्रत्येक समस्यालाई समाधान गर्ने सहज वातावरण बनाइदिनु पर्दछ ।
बालबालिकाको उमेरजस्तै उनीहरुको मानसिक स्थिती पनि कलिलो नै हुने भएकोले उनीहरुको दिमागले कुनै पनि पीडा वयस्क ब्यक्तिहरुले जस्तो सहन र पचाउन सक्दैन । जसकारण उनीहरुमा यस्ता समस्या देखा पर्न सक्छ । यसो हुन नदिनका निम्ति हामीले उनीहरुसंग सदैव साथीको व्यवहार गरेर मिठो बोली गर्नुपर्छ । तर यस्तो देखा परेको खण्डमा उनीहरुलाई के कारणले यस्तो प्रभाव प¥यो भन्ने कुरा पत्ता लगाई उनीहरुको मनोबल बढाउनतर्फ लाग्नु पर्छ।
यसका साथै आफ्ना बालबालिकामा मानसिक समस्या परेको थाहा पाउने बित्तिकै तुरुन्त सम्बन्धित योग्य परामर्शदात्ता संग सम्पर्क राख्नु पर्छ । तर, यसो गर्दा गर्दै पनि कहिलेकाँहि आफ्नो बालबालिकाको स्वभाव तथा रुचिमा परिवर्तन देखा परेको खण्डमा हामीले उनीहरुको बारेमा राम्ररी बुझ्नु पर्दछ । र, यस्तो समस्या लगातार बालबालिकामा देखा परेको खण्डमा तुरुन्त सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्दछ ।
– एजेन्सीको सहयोगमा