काठमाडौं—नेपालमा अनौठो प्रकारको कोरोना भाइरस फेला परेको छ । एक अध्ययनले नेपालमा मानिस, चमेरो, कुखुरा र मुसामा कोरोना भाइरस भएको प्रमाणित गरेको हो ।
अध्ययनबाट सार्स र मर्सजस्तै रोग लगाउने भाइरस फेमेलीको कोरोना भाइरस नेपालमा पत्ता लागेको हो । सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले बिहीबार सार्वजनिक गरेको अध्ययनको निष्कर्षअनुसार सात वर्ष लगाएर ३० हजार नमुना परिक्षणबाट उक्त तथ्य पत्ता लागेको हो ।
विज्ञहरुले कोरोना भाइरसले सार्स र मर्सजस्ता संक्रामक रोग लगाउने बताएका छन् । मर्स उटबाट लाग्छ भने सार्स जनावरबाटै मानिसमा सर्ने गरेको छ । नेपालमा देखिएको उक्त कोरोना भाइरस भने सार्स र मर्स गराउनेभन्दा भिन्न रहेको संस्थाका कार्यकारी निर्देशक दिवेश कर्मचार्यले बताए ।
‘यो सार्स गराउने भाइरस भए÷नभएको बारे अझै अध्ययन आवश्यक छ । नेपालमा देखिएको भाइरसले अनौठो प्रकारको निमोनिया फैलाउने छ,’ उनले भने । त्यस्तै हान्टाभाइरस पनि पत्ता लागेको छ जुन मुसाबाट मानिसमा सर्छ । यसले भयावह रुप लिन सक्ने तर्फ चिकित्सकले सचेत गराएका छन् । मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रुपमा फैलन सक्ने डब्लुएचओले जनाएको छ । अध्ययनले विभिन्न १९ प्रकारका नयाँ भाइरस पत्ता लगाएको छ । कोरोना भाइरसका विभिन्न प्रजाती हुन्छ ।
संस्थाले मानिस र जनावर बीचको दूरी नजिक भएको ठाउँमा अनुसन्धान गरेको थियो । काठमाडौंको बाग्मती किनारमा बस्ने सुकुम्बासी बस्ती, जडिबुटी, टेकुदोभान, कलंकी, मकवानपुर, लाजिम्पाट, चितवन लगायतका क्षेत्रमा मुसा, बाँदर, चमेरो, मानिसहरुमा अध्ययन गरिएको थियो । वान हेल्थको नीति अवलम्बन गर्दै जंगली जनावर, घर पालुवा जनावर र मानिसबाट संकलन गरिएको नमुना परिक्षण गरिएको थियो ।
कुन जनावरबाट के सर्न सक्छ ?
अनुसन्धानले कुकुर–स्यालबाट रेबिज, कुखुरा र हास (चराचुरुङी) बाट बड्फ्लु एच७ एन९, सुगुरबाट स्वाइनफ्लु एच१ एन१, विरालोबाट टोक्सोप्लाज्मोसिस, मुसाबाट लेक्टोस्पाइरोसिस प्लेग, चमेरोबाट इबोला, बाख्रा–गाईबाट ग्रुचेलोसिस टिभी, मुसाबाट हान्टाभाइरस, परेवाबाट क्रिप्टोच्कोरिबिओसी सर्ने गरेको देखिएको छ । चिकित्सकहरुका अनुसार कोरोना भाइरसले स्वासप्रस्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पु¥याउँछ । भाइरस संक्रमणपछि ज्वरो, खोकी तथा स्वास प्रस्वासमा समस्या पैदा हुन्छ । त्यसका साथै निमोनिया तथा मृगौला फेल समेत हुन्छ । भाइरस संक्रमित व्यक्ति हाछ्यू गर्दा वा खोक्दा थुक वा खकारमार्फत यो भाइरस अर्को व्यक्तिमा फैलिन सक्छ ।