हिजो बिहान ठिक ९ देखि ९ः३० समय थियो । म अस्पतालको इमर्जेन्सी कक्षमा थिएँ । एउटा रगताम्य भएकी बालिकालाई इमर्जेन्सीमा ल्याइएको थियो । त्यो बेलाको अवस्थाको अहिले आँकलन गर्ने हो भने ती बालिका जीवनमरणको दोसाँधमा थिइन् । उनको पूरै शरीर रगतले लतपतिएको थियो ।
इमर्जेन्सीमा भागदौडजस्तै थियो । सबैजना कोकोहोलो गर्दै थिएँ । इमर्जेन्सीको केस प्रायः यस्तै नै हुन्छ । हामीलाई विहान ल्याइएकी बालिका प्रकृतिको केस हेर्नुपर्ने थियो । मान्छेहरुको भिड विस्तारै बढ्दै थियो ।
कोहलपुर हाइस्कुलमा भएको सडक दुर्घटनाको केस हो भन्ने थाहा पाएँ । त्रिभुवन मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दको सडक दुर्घटना पश्चात उनलाई इमर्जेन्सीमा ल्याइएको थियो । म उनको उपचारतिर हान्निए । मैले या यो सेतो एप्रोन लगाउनेहरुले गर्ने पेशा मानवीय पेशा हो । यो पेशाको पहिलो धर्म र प्राथमिकता हो—बिरामीलाई बचाउनु । यो पेशामा को दुश्मन, को मित्रको वा आफन्ती केही हेरिदैंन् । र, यसको केही सीमा पनि हुँदैन् । बस, बिरामीलाई बचाउनु पहिलो काम हो । प्रकृतिका दुवै खुट्टाको अवस्था चिन्ताजनक थियो । उनको ब्लडप्रेसर र भाइटल सबै ठिक थियो । उनी होसमै थिइन् । तुरुन्तै हातजोर्नी रोग विभागका रेसिडेन्ट डा. अमन पनि आउनुभयो ।
डा. अमन, डा.चन्द्रशेखर, मेडिकल स्टाफ जित दाइ र सुष्मा सिस्टर पूरा समय ती बालिकाको उपचारमा लागि रहनुभएको थियो । बालिकाका बावु र आमाबाहिर रुँदै थिए । म रेड एरियाबाट बाहिर आए, अनि उनको बाबुआमालाई सम्झाउन तिर लागे, ‘दिदी नरुनु अहिले उनको अवस्था ठिक हुँदैछ । उनको उपचारमा कोहलपुरका सबै डाक्टरहरु लागि परेका छौं, उनलालाई ठिक हुन्छ । नानुको खुट्टामा गहिरो चोट लागेको छ, नानुलाई बचाउन हामी सबै लागि परेका छौं ।’
बालिकाका बावु भन्दै थिएँ, ‘डाक्टर’ साब छोरीलाई जसरी भएपनि बचाइदिनु प¥यो । म स्कुटीमा छोरीलाई लगेर विद्यालय छोड्न गएको थिएँ । हामी स्कुलभन्दा केही मिटर अगाडि पुग्नै लागेका थियौं । अगाडिको लडियालाई साइडबाट क्रस गर्दा नानी लडिन र पछाडिबाट आएको ट्रकले किच्यो । डाक्टर साब छोरीलाई बचाइदिनु प¥यो ।’
बालिका होसमै थिइन् । बाहिर मिडियाहरुमा पनि उनको अवस्थाका बारेमा गलत प्रचार भएको रहेछ । मलाई दिनभरजसो बालिका होसमै छिन भनेर ब्रिफिङ गर्नु परेको थियो । बाहिरको माहोलबारे हामी त्यति जानकार भने थिएनौं तर पनि बाहिरको माहोल झन भयानक हुँदैछ भन्ने कुरा अरुले सुनाइरहेका थिए । उता बाहिर सडकमा आगो बलेको थियो यता हामी त्यो आगोको घानमा परेका घाइतेहरुले उपचारमा लागेका थियौं ।
दुर्भाग्य घटनाको ४ घन्टापछि अस्पतालमा क्रमसः प्रहरी र प्रहरीले चलाएको गोलीको छर्रा लागेर घाइतेहरु आउने क्रम बढिरहेको थियो । प्रहरीले अस्पतालमा थप घटना नहोस् भनेर घाइते प्रहरीहरुलाई नजिकैको शसस्त्र प्रहरीको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा लगिरहेको थियो । मलगायतका इमर्जेन्सीमा कार्यरत डा. विवेक, डा. चन्द्रशेखर र डा. रचित घाइतेहरुकै उपचारमा लागेका थियौं । यता बिहानबाट हातजोर्नी रोग विभागका रेजिडेन्ट दाजु डा. अमन बालिकाकै उपचारमा खटिरहनु भएको थियो । उता घाइतेहरु आउने क्रम जारी थियो । जनआन्दोलनजस्तै स्वरुप झल्किने अवस्था अस्पतालको इमर्जेन्सीमा थियो । त्यो बेला घाइतेहरुलाई अस्पतालमा लगेका थुप्रै घटनाहरु हामीले सुनेका थियौं ।
अस्पतालमा अस्पताल निर्देशक डा. दिनेश श्रेष्ठको नेतृत्वमा विपद् वयवस्थापन टिम छ र डा. दिनेश सरको नेतृत्वमा हामी बेलाबखत विपद् व्यवस्थापन सम्बन्धि ड्रिल गर्थौ । र, यसले धेरै हदसम्म नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक तथा स्टाफहरुलाई यस्ता मास क्याजुलिट अथवा विपद्बारे सजग तथा सचेत बनाएको छ ।
अस्पतालमा मास क्याजुलिटीमा आवश्यक मेनपावर र स्रोत सामग्रीका अस्पतालका निर्देशकद्वय डा. श्रेष्ठ र डा. सुमित पाण्डे सरलाई जानकारी गराएर अस्पतालको साइरन बजाइयो र सम्पूर्ण विभागबाट स्टाफहरु इमर्जेन्सीमा झिकाइयो । सबै घाइतेहरुलाई जाच्दा घाइतेहरुमध्येबाट दुई जना एकदमै सिरियस देखिएका एकजनाको दायाँतिरको अण्डाकोषबाट अण्डा नै बाहिर आएर पिसाबनली नै इन्जुयर भएको थियो भने अर्को एकजनाको दायाँतिरको पेटमा छर्रा लागेको थियो । यता मेडिकल स्टाफ दाजु सरोजले कतिजना घाइते छन् भनेर डाटा कलेक्ट गर्दै हुनुहुन्थ्यो । जम्मा २३ जना आएकामध्ये १४ जनाजति प्रहरीले प्रहार गरेको गोलीको छर्रा लागेको थियो । दुईजनाबाहेक अरुलाई छर्रा एकजनालाई घाटीमा र अन्यप्रायः सबैलाई कम्मरमुनि तिघ्रा र घुडामुनि लागेको थियो ।
उता बालिकाको रगतको रिपोर्ट आयो । खुट्टाबाट रगत धेरै बगेका कारण बालिकाको शरीरमा रगतको मात्रा अर्थात हेमोग्लोबिनको मात्र २ थियो । उनलाई तुरुन्तै २ पिन्ट रगत चढाइयो । तर, बालिकाको एकछिनपछि विस्तारै होस अलि ढिला हुँदै गयो । यता एनेस्थेसियामा एम.डी. गर्दै गर्नु भएकी दिदी डा. एलिशा पनि आई पुग्नुभयो ।
रगत कम छ, बालिकाको मुटुको चाल बढिरहेको छ । तर श्वासप्रश्वास राम्रो छ । उसलाई इन्टुबेट गर्नु पर्दैन भन्नु’भो । अर्थाेपेडिसिएन दाजुहरु डा. सबिन श्रेष्ठ, डा. सुशील योगी र डा. प्रतीक कार्की पनि बालिकाकै ज्यान बचाउन लागि रहनु भएको थियो । उता अण्डकोष रप्चर भएको घाइतेका लागि युरोसर्जन डा. नरेशमान श्रेष्ठ पनि आउनु भएको थियो । त्यस्तै सर्जरीका रेजिडेन्ट दाजुहरु पनि लागिराख्नु भएको थियो । अस्पताल प्रशासनको तर्फबाट अस्पताल उप–निर्देशक वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. सुमित पाण्डे सर आफै उपस्थित हुनुहुन्थ्यो । घाइतेहरुको अवस्था बुझ्न कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जुकुमारी थारु पनि आउनुभयो ।
प्रशासकीय अधिकृत सन्जय पन्त दाइले सोध्नुभयो, ‘डाक्टर’साब सिरियस कतिजना ? हेलिकप्टर आउँदैछ ।’ सम्बन्धि रोगका विशेषज्ञ डाक्टरहरुको सल्लाहअनुसार घाइते बालिकासहित तीनजनालाई रिफर गर्नुपर्ने जवाफ मैले दिएँ । अरु सबैलाई तत्काल त्यहीँ राखियो । बालिकालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो । सबै बिरामीलाई प्रथामिक उपचार पश्चात् अस्पतालका निर्देशक डा. सुमित सर र म अस्पतालबाहिर आयौ । बजारमा भएको आन्दोलनको अवस्थाबारे मैले जे सुने पनि त्यो सबको प्रमुख कारण भनेकै सडक दुर्घटना नै रहेछ भन्ने थाहा पाएँ ।
अस्पातालमा आएका मेरा छिमेकीभाइहरु भन्दै थिए, ‘दाइ बालिकालाई गाडीले ब्याक गरेर मार्यो रे ! अनि पुलिसले दुईजनालाई गोली हानी मार्यो रे ! अनि बल्ल हामी जोसिएर पुलिस चौकी तोडफोड गर्न गएको ।’ अनि धेरै बेरपछि मैले सोचें विश्वमा दैनिक हजारौं मानिसहरु आज सवारी दुर्घटनामा आफ्नो ज्यान गुमाउन बाध्य छन् । कति जानीजानी हुन्छन् त कति अन्जानमा तर जसरी कोहलपुर घटनालाई एउटा दंगा भड्काउने उद्धेश्यले जीवित बालिकालाई सडकको अनावश्यक मासले मृत घोषणा गरेर स्कुले विध्यार्थीहरु र आम सर्वसाधारणलाई प्रहरी प्रशासनका विरुद्ध जाइलाग्ने बनायो । त्यो जसले गरेपछि सरासर गलत हो । यो आन्दोलनले ठूला अप्रिय घटनाहरु भने हुन पाएनन् । ठूलो मानवीय क्षति हुनबाट जोगियो । यदि कथमकदाचित यस्तो भड्किलो दंगामा कसैको ज्यान गएको भए न प्रशासन जिम्मेवार हुन्थ्यो, न दंगा भड्काउनेहरु । आज जति घाइते छन्, उनीहरुको हालत के छ ? कस्तो छ ? कसैलाई चासो छैन । आफू मनपरी घटनाको व्याख्या गरेर हिड्यो र अपकल्पित अनलाइनका न्यूज शेयर ग¥यो अरु के चाहियो र !
………………..
कोहलपुर मेडिकल कलेजले आफ्नो स्रोत साधनले भ्याएसम्म सबै घाइतेहरुलाई औषधी उपचार गरिदियो । अब यस्ता घटनाबाट हामी सचेत रहन जरुरी छ । समाजमा शान्ति वैभव कायम राख्नु प्रशासन मात्रै होइन्, हामी आफूले आफूलाई राजनीतिका नोकर ठान्ने र आम सम्पूर्ण सर्वसाधारण जनताको पनि कर्तव्य हो । प्रहरी प्रशासन, जनता, राजनीतिक दल, अस्पताल सम्पूर्ण निकायबीच आगामी दिनमा घट्ने यस्ता घटनाको लागि पूर्व तयारी, छलफल र सहकार्य आवश्यक छ । अनि बल्ल हामी शान्ति समाजको परिकल्पना गर्न सक्छौं ।
एकपटक सबै सरोकारवालानिकायहरु सडक दुर्घटना न्यूनीकरण गर्नकालागिआवश्यक छलफल, नीतिनियमबनाउनु जरुरी रहेको छ ।
(आचार्य हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमर्जेन्सी विभागमा कार्यरत छन् ।)