काठमाडौं—काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र काठमाडौं धुम्वाराहीस्थित भण्डारी सेवा समाज, नेपालबीच उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलका तर्फवाट ॐ हस्पिटल संचालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलमा एक कार्यक्रमकाबीच ॐ हस्पिटलमा प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र भण्डारी सेवा समाजका अध्यक्ष बिर बहादुर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा भण्डारी सेवा समाजका सदस्यहरु अस्पतालमा भर्ना भई उपचार गर्नुपरेमा समाजबाट प्रेशित सदस्यहरुको नामावली तथा आधिकारिक ब्यक्तिको सिफारिसका आधारमा बिशेष छुट प्रदान गरिने जनाइएको छ। समारोहमा ॐ हस्पिटलका तर्फबाट अस्पताल सञ्चालक समिति सदस्य तथा सिनियर कन्सल्ट्यान्ट गाइनेकोलोजिष्ट प्रा.डा. जागेश्वर गौतम, मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. हरिश जोशीको समेत उपस्थिति थियो ।
भण्डारी सेवा समाजका तर्फबाट समाजका संरक्षक जीवनकुमार भण्डारी, संगठन विभाग प्रमुख कुमार भण्डारी, सामाजिक उत्तरदायित्व विभाग प्रमुख रामकाजी भण्डारीलगायतका सदस्यहरुको उपस्थिती थियो ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित ॐ हस्पिटलले तीन दशक अधिदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचारसम्मका सेवाहरु साथमा पेन मेडिसिनलगायत अन्य ३७ वटा भन्दा बढी विशिष्टिकृत विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको अस्पतालले जनाएको छ ।
नेपालमा पहिलो आई.भि.एफ. सेवा सुरु गरेको ॐ हस्पिटलले मातृ शिशु सेवा, मुत्र रोग, मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियतसहितको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।