२०८१ फागुन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यराष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन

राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)मा स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षबारे लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले विमोचन गरेका छन्। मंगलबार चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त पुस्तक विमोचन गरेका हुन्।

एनएमएले प्रकाशन गरेको पुस्तकमा एनएमएका ३२ जना अध्यक्षहरुको जीवनी, संघमा उनीहरुले गरेका योगदान, संघर्षलगायतका विषयहरु समावेश छन्। पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको बताए। उनले स्तरीय उपचार सेवाको अनुभव आफूले पनि गरेको जानकारी दिए।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरुको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको हो।

दुई सयभन्दा बढी पृष्ठको उक्त पुस्तकको सम्पादक प्रवीण ढकाल हुन्। पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको सम्पादक ढकालले जानकारी दिए। ‘यसले नेपालको चिकित्सा क्षेत्रको विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘यसका साथै नयाँ पुस्ताका चिकित्सकहरुलाई पनि अग्रजहरुले गरेका काम र योगदानका विषयमा जानकारी हुनेछ ।’ ढकालले अहिलेको नयाँ पुस्ताका चिकित्सकलाई अनुभवी चिकित्सकहरुको जीवनी र योगदानले प्रेरणा प्रदान गर्ने पनि बताए।

२० फागुन २००७ मा स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेशागत संघ हो। वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकहरुले बैठकले संघको स्थापना गर्ने निर्णय गरेका थिए। संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन्।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ