२०८१ फागुन ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा


काठमाडौं—नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पु¥याउँदैं आएको योगदानको कदर गर्नुपर्ने बताए।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उहाँको भनाई छ । प्रा.डा. अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाए।

कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रा.डा. अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गरे । कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उनले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिदैं ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।

साथै उनले गत वर्षको वार्षिक साधारण सभामा आफूले व्यक्त गरिएका धेरै योजनाहरु कार्यान्वयन भएको जनाउँदैं आगामी वर्षहरुमा कलेजलाई अझ नयाँ उचाईमा लैजाने बताए । उनले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरु थप गरिएको, सिट संख्यामा वृद्धि भएको पनि जानकारी दिए । भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पतालभित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

साधारण सभामा बोल्दै कलेजका प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नेपाल मेडिकल कलेजको शैक्षिक, स्वास्थ्य क्षेत्र र प्रशासनिक सेवा सुधार्न आफूहरुले चालेका योजनाहरु सफल हुँदै गएको र त्यसमा सबैले साथ सहयोग गरेको बताए । आगामी दिनहरुमा कलेजलाई नयाँ उचाइमा पु¥याउन सबैको सकारात्मक सल्लाह सुझावको अपेक्षा गरिएको उनको भनाइ छ ।

साधारण सभामा कलेजका सञ्चालक समिति सदस्य डा. भोला रिजाल, डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीले पनि सबैको सहकार्य र सहयोगले कलेज अगाडी बढाउने बताए।

कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाकाअनुसार आर्थिक वर्ष २०८०/०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ