काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाएका छन् । बुधबार प्रजातन्त्र दिवस, २०८१ को अवसर पारेर टुडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
चिकित्सा क्षेत्रतर्फ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाएका डा. ओममूर्ति अहिलेका व्यस्त मुटु रोग विशेषज्ञ हुन् । उनले चिकित्सासँगै जनस्वास्थ्य र जनचेतनाका क्षेत्रमा पनि उल्लेख्य योगदान गर्दै आएका छन् ।
महोत्तरीमा जन्मिएका डा. ओममूर्तिले विभिन्न ग्रामीण वस्तीहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुका साथै मुटु रोग विरुद्ध जनचेतना जगाउन विद्यार्थीहरुका लागि विभिन्न प्रतियोगिता समेत आयोजना गर्दै आएका छन् । उनी सामाजिक सञ्जालमार्फत पनि जनचेतना अभिवृद्धिमा निकै सक्रिय छन् ।
सरकारले टेलिमेडिसिन क्षेत्रतर्फ सिन्धुपाल्चोकका डा. छिरिङ लामालाई पनि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । यस्तै, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ .गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार—२०८१ प्रदान गर्न लागेको हो । विशेष समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिनेछ ।