२०८१ फागुन ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिकमा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सेवा सुरु

नर्भिकमा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सेवा सुरु


काठमाडौं–नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया (ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी) सेवा सुरु गरेको छ । अस्पतालले ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. किशोर भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालनमा ल्याएको हो ।

दुर्घटनामा परी मुख तथा अनुहारमा लागेका चोटपटक, अनुहारको हड्डी लामो, छोटो या बांगो भएर आकृति अस्वाभाविक भएको अवस्था, मुखको जोर्नी (टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट) को समस्या भएका तथा अनुहारको पुनःनिर्माण (फेसियल रिकन्स्ट्रक्सन) का लागि यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

‘नर्भिक अस्पतालका अत्याधुनिक प्रविधि, उपकरण एवं थ्रीडी प्रिन्टिङ प्रविधि प्रयोग गरेर हामीले सेवा सुरु गरेका हौं,’ ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. भण्डारीले भने, ‘गत महिना हामीले एक महिलामा गरेको अनुहारको आकृति मिलाउने शल्यक्रियाले पनि राम्रो नतिजा प्राप्त भएको छ ।’ मुखको माथिल्लो हड्डी अर्थात् म्याक्जिला कम विकसित र तल्लो हड्डी अर्थात् म्यान्डिला धेरै विकसित भएर लामो भएका कारण अनुहार अस्वाभाविक देखिएको, बोल्न र खाना खानसमेत अप्ठ्यारो अवस्थामा रहेकी महिलामा सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

डा. भण्डारीले मुख तथा अनुहारसम्बन्धी कुनै पनि समस्याका लागि नर्भिकमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण रहेको दावी गरे । खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा क्यामेरा छिराएर शल्यक्रिया गर्ने टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट (टीमजे) आर्थोस्कोपी तथा दाँत नभएका बिरामीमा गालाको हड्डीमा प्रत्यारोपण (इम्प्लान्ट) गरेर दाँत राख्ने फुल माउथ रिह्याबिलिटेसन (जाइगोम्याटिक इम्प्लान्ट) जस्ता नयाँ उपचार विधी पनि नर्भिकमा सुरु गरिएको डा. भण्डारीले जानकारी दिए ।

ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सामूहिक कार्य भएको उल्लेख गर्दै उनले यसमा ब्रेसेस लगाउने डाक्टर, प्लास्टिक सर्जन, हेड एण्ड नेक सर्जन, थ्रीडी प्रिन्टिङ गर्ने डिजिटल ल्याबलगायत सबै आवश्यक हुने र सामूहिक सल्लाहमा उच्चतम प्रविधि प्रयोग गरेर गुणस्तरीय सेवा दिइने बताए । यसका अलावा मुख तथा अनुहारमा हुने सिस्ट तथा ट्युमरको सर्जरी पनि नर्भिकमा हुने अस्पतालले जनाएको छ । म्याक्सिलोफेसियल सर्जरी टिमले हेड एण्ड नेक सर्जरी र प्लास्टिक सर्जरीको टिमको सहकार्यमा मुखको क्यान्सरको आधुनिक उपचार सेवा पनि दिने योजना बनाएको जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ