काठमाडौं—नेपालको सबैभन्दा ठूलो प्रयोगशाला चेन नेशनल प्याथ ल्याब (एनपीएल)ले १२ औं शाखा ललितपुरको लगनखेलमा सञ्चालनमा ल्याएको छ । शुक्रबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखाको ओपनिङ समारोहको पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा १५ करोड रुपैयाँ लागतमा स्थापना भएको उक्त प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिकाबाट उपलब्ध गराइने एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिए ।
ललितपुर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धि परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत छ । यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट—जेनेरेशन सिक्वेन्सिङ (एनजीएस), साइटोजेनिटिक्स र फिस तथा नवजात शिशु परीक्षणजस्ता सुपरस्पेशियालिटी परीक्षण हुनेछन् ।
नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस) प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ। यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्तत्वपूर्ण योगदान पु¥याउँछ । यो प्रविधिद्वारा एनआईपीटी र क्यान्सरको Precision Medicine का लागि गर्नैपर्ने ‘जीन स्तरीय’ जाँचहरु गरिन्छ । साइटोजेनेटिक्स र फिस परीक्षणले क्रोमोजोमहरूको संरचना र संख्यामा हुने परिवर्तनहरूको अध्ययन गर्दछ । क्यान्सर र अन्य जेनेटिक विकारहरूको सटिक निदानका लागि यो सेवाले अभूतपूर्व सुधार ल्याउने प्रयोगशालाले जनाएको छ ।
यस्तै, नवजात शिशु परीक्षणअन्तर्गत नवजात शिशुमा खतराजन्य अवस्थाहरू जस्तैः जन्मजात थाइराइड समस्या, कन्जेनिटल एड्रिनल हाइपरप्लेसिया, सिस्टिक फाइब्रोसिस र ग्यालाक्टोसेमियाजस्ता समस्याहरू समयमै पत्ता लगाउन सकिनेछ ।
नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे । उनले जेनेटिक सम्बन्धि राष्ट्रियस्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको बताए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वदेशमै विशिष्टीकृत परिक्षण सेवाहरु प्रदान गरिरहेका निजि प्रयोगशालाहरुसँग सार्वजनिक निजी साझेदारी गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले प्रयोगशाला परीक्षण नेपाल बाहिर पठाउँदा अनेक किसिमका समस्या नमुनाको गुणस्तर सुनिश्चितता, चिकित्सक र प्रयोगशालाको समन्वय नहुने भएकोले बिरामीको निदान तथा उपचारमा समस्या हुने र अब नेपालमै यस्ता विशिष्टीकृत परिक्षणहरु उपलब्ध भएको हुँदा धेरै सजिलो हुने बिश्वास ब्यक्त गरे ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषालले नेपालमा यतिको प्रविधियुक्त गुणस्तरीय प्रयोगशाला हुनु सारा नेपालीहरुको लागि गर्वको विषय भएको र यसबाट धेरैभन्दा धेरै लाभ लिनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे ।
वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेसज्ञ डा. भोला रिजालले ऐलेको आवश्येकता बुझेर ठूलो जोखिम मोली यो स्तरको प्रयोगशाला संचालन गरेकोमा नेशनल प्याथ ल्याबलाई बधाई तथा शुभकामना दिए ।
डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी प्रमुख टिम गोसरले प्रयोगशालालाइ डिजिटल टेक्नोलोजी मैत्री बनाउँदै लैजाने र सोको लागि एआई तथा टेक्नोलोजीको प्रयोग गरि विश्वस्तरीय प्रयोगशाला सेवा नेपलमा उपलब्ध गराउने भने र यस प्रयोगशालालाई विश्वका अन्य स्वास्थ्य सस्थाहरुसँग जोडी नवीनतम सेवा उपलब्ध गराउने योजना रहेको बताए ।
संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय सेवा प्रदान गर्नका लागि ललितपुरमा प्रयोगशाला सञ्चालनमा ल्याइएको धारणा व्यक्त गरे । ‘गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि ललितपुरमा प्रयोगशाला स्थापना गरिएको हो,’ उनले भने, ‘यहाँ परीक्षणका लागि डिजिटल प्रविधिको माध्यमबाट घरबाटै नमुना संकलन गर्न सकिने व्यवस्था गरिएको छ र बिरामी वा आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सकिनेछ ।’
ल्याब हेड डा. जीवन अधिकारीले प्रयोगशाला सम्बन्धि विशिष्टीकृत परीक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताए । ‘अब प्रयोगशाला सम्बन्धि विशिष्टीकृत परिक्षणका लागि विदेश नमुना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । नमुना जाँचका लागि बाहिर पठाउँदा धेरै समय लाग्ने तथा बिरामीको उपचारमा प्रभाव पार्ने समस्या समाधान भएको छ,’ डा. अधिकारीले भने, ‘साथै, आर्थिक अवस्था कमजोर भएका बिरामीहरू र जेष्ठ नागरिकका लागि लागि जाँच सहुलियत दरमा ल्याब परिक्षण गर्ने व्यवस्था गरिएको छ।’
एनपीएलकी वरिष्ठ प्याथोलोजिस्ट डा. गीता सायमीले एन.पी.एल.ले विशिष्टीकृत जाँचहरु उपलब्ध गराउँदैं आएको बताइन् । ‘फ्लोसाइट्रोमेट्री प्रविधिबाट ब्लड क्यान्सर सम्बन्धि जााँचहरु, इम्युनोहिस्टोकेमिस्ट्री प्रबिधिबाट अन्य क्यान्सर सम्बन्धि जााँचहरु, पी.सी.आर. प्रविधिबाट इन्फेसीयस डिजिज सम्बन्धि जााँचहरु, इम्युनो फ्लोरेसेन्स र मल्टीप्लेक्स पीसीआर प्रबिधिबाट अन्य जाँचहरु गर्दै आएका छौं,’ उनले भनिन्, ‘यस्तै, रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस/इन्सेफ्लाइटीस प्यानललगायतका जाँचहरु पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् ।’
नेशनल प्याथ ल्याब वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको थियो । अहिले प्रयोगशालाका देशभर १२ वटा शाखा सञ्चालनमा छन् । काठमाडौं, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी, पोखरा, चितवन, र महेन्द्रनगरमा फैलिएका यी प्रयोगशालाहरूमध्ये, एन.पी.एल. काठमाडौं र बुटवलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ’ए’ ग्रेडको मान्यता प्राप्त गरेका छन् । यसका साथै, एन.पी.एल. काठमाडौं र बुटवल प्रयोगशाला NABL Accredited र ISO १५१८९ः२०१२ प्रमाणित प्रयोगशाला हुन् । यसले ८ सयभन्दा बढी इनहाउस परीक्षण गर्दै आएको छ र कर्मचारी संख्याका हिसाबले नेपालकै ठूलो ल्याबमा पर्छ ।
ओपनिङ समारोहमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, नेशनल प्याथ ल्याबका हेड अफ ल्याब डा. जीवन अधिकारी, डोल्मा फन्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) टिम गसरले आ—आफ्नो धारणा राखेका थिए ।