काठमाडौं—नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भएर उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइडको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो ।
एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई साता अघि अत्याधिक दुखाइ भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्स—रे गरेर हेर्दा देब्रे साइटको मिर्गौलामा पत्थरी देखिएको थियो ।
त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्ण रुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट यूरोसर्जन डा. वेश अन्सारीले बताए । ‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो । पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्ण रुपमा बिग्रिसकेको थाहा पायौँ,’ कन्सल्टेन्ट यूरोसर्जन डा. अन्सारीले भने ।
मिर्गौला पूर्ण रुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा. अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो । बिरामी दाहाल अप्रेसन भएको तेस्रो दिन नै आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भएर गएको थियो । अस्पतालले तत्कालै रोगको पहिचान गरी अप्रेसन समेत गरिदिएपछि बिरामी नवराजले राहतको श्वास फेरेका छन् । ‘पत्थरीकै कारण मिर्गौला नै बिग्रिएछ । डाक्टर साबले तत्कालै अप्रेसन गर्न सल्लाह दिनुभयो । दुरबिनबाट अप्रेसन गर्ने भनेर सबै बुझाउनुभयो । उपचारमा संलग्न सम्पूर्ण डाक्टर, नर्सहरूलाई विशेष धन्यवाद दिन चाहन्छु,’ बिरामी नवराजकी श्रीमती गीता त्रिपाठी दाहालले बताइन् ।
ल्याप्रोस्कोपी विधिबाट विभिन्न प्रकारका अप्रेसनहरू भइरहेपनि मिर्गौला नै निकालिएको कलेजको इतिहासमा सम्भवतः पहिलोपटक हो । कलेजले पछिल्लो समय विभिन्न प्रकारका अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधिलाई प्राथमिकताका साथ अवलम्बन गर्दा धेरै बिरामीहरूले राहत पाएका छन् । सर्जरीका हरेक विभागहरुले ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसनहरू गरिरहेका छन् ।
ल्याप्रोस्कोपी प्रविधिको अप्रेसन परम्परागत चिरेर गरिने अप्रेसनभन्दा प्रभावकारी हुने गर्दछ । यस विधिबाट अप्रेसन गर्दा शरीरमा ठूलो घाउ बनाउन नपर्ने भएकाले अप्रेसन पछि बिरामी छिट्टै रिकभर हुन्छन् । ‘ल्याप्रोस्कोपी अप्रेसन चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी छ । शरीरमा स–साना प्वालहरू पारेर अप्रेसन गरिन्छ । ठुल्ठूलो घाउ पार्नु पर्दैन् । रक्तस्राव कम हुन्छ, लामो समय अस्पतालमा बस्नु पर्दैन, इन्फेक्सन हुने चान्स रहँदैन् । लामो समय पेनकिलर सेवन गर्नु पर्दैन्,’ डा. अन्सारीको दावी छ ।
डा. अन्सारीकाअनुसार जन्मजातै भएका किड्नीका रोगहरु, पत्थरी, ट्युमर, घातक क्यान्सरहरु, पाइलोप्लास्टी, चोटपटक लागेर किड्नीमा समस्या भएकाहरुलाई ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गर्न सकिन्छ । त्यस्तै, पेट तथा आन्द्राको समस्या, मुत्रासयको समस्या, पाठेघरको अप्रेसनलगायत धेरै अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुन्छ ।