२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु

नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु


काठमाडौं–नर्भिक इन्टरनेशनल अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पेडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो । बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको गुणस्तरीय उपचार सेवाका लागि अस्पतालले पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको हो ।

‘जन्मेदेखि १८ वर्ष तथा बालबालिका हुँदाखेरी सुरु भएका समस्याको उपचारका लागि यो सुरु गरिएको हो,’ कन्सल्ट्यान्ट पेडियाट्रिक अर्थोपेडिक सर्जन डा. देवले भने, ‘शिशु गर्भावस्थामा हुँदादेखिको परामर्शदेखि लिएर जन्मजात हुने समस्या, विकलांगता तथा बालबालिकाको विकासमा हुने समस्या, हातखुट्टा तथा मेरुदण्डमा हुने समस्याहरुका बारेमा परामर्श तथा उपचार दिइन्छ ।’

अर्का कन्सल्ट्यान्ट पेडियाट्रिक सर्जन डा. ओडले नेपालमै पहिलो पटक नर्भिकमा पेडियाट्रिक अर्थोपेडिक सेवा विभाग स्थापना गरेर उपचार सुरु गरिएको बताए ।

बालबालिकामा हड्डी भाँचिने, जोर्नी खुस्किने, लिगामेन्टको चोटको समस्या, जोर्नी तथा हड्डीमा हुने संक्रमणजस्ता समस्या आउन सक्ने भएकाले तिनीहरुको निवारण तथा भविष्यमा आउन सक्ने समस्यासम्मको उपचार पेडियाट्रिक अर्थोपेडिक विभागमार्फत् गरिने डा. ओडले जानकारी दिए ।

बालबालिकामा हाडजोर्नी सम्बन्धी समस्या

बालबालिकामा जन्मजात हातखुट्टामा टेढोपन आउने, उभिँदाखेरी घुँडामा टेढोपन देखिने, जन्मजात जोर्नी खुस्किने, मेरुदण्डको टेढोपनजस्ता समस्या देखिन सक्छन् । बेलैमा उपचार गर्ने हो भने यी समस्या निको हुन्छन् । अन्यथा यसले शारीरिक विकलांगता निम्त्याउने र पछि जीवन निर्वाहमा समेत समस्या निम्त्याउने हुन्छ ।

त्यसैगरी, बालबालिकामा मांसपेशीका समस्या पनि देखिन सक्छन् । आनुवंशिक (जेनेटिक) समस्याका कारण पछि गएर मांसपेशी कमजोर हुने, असन्तुलन हुने, जन्मजात हड्डीको बनावटमा समस्या देखिने तथा जोर्नी कडा हुने हुन सक्छन् । जसका कारण पछि गएर खेलकूदमा सहभागी हुन नसक्ने समस्या पनि देखिन सक्छन् ।

क्याल्सियमको कमीका कारण आउने समस्या (मेटाबोलिक बोन डिजिज), क्याल्सियम, भिटामिन डीजस्ता पोषक तत्वको कमी भएर लाग्ने रिकेटस् पनि हुन सक्छन् । यस्तै, जन्मने क्रममा घाँटीको नसामा चोट लागेर हात नचल्ने हुन सक्छ । यस्ता समस्याको बेलैमा पहिचान र उपचार गरी दीर्घकालीन रुपमा निम्तन सक्ने समस्याको निराकरण गर्न सकिन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ