काठमाडौं—दुई जना प्रतिष्ठित चिकित्सक साथी मिलेर स्थापना गरेको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले एक वर्षमा झण्डै २ अर्ब रुपैयाँको कारोबार गरेको छ । अस्पतालले सन् २०२४ मा १ अर्ब ९५ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको हो ।
अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा अस्पतालले निरन्तर आर्थिक उन्नति हासिल गर्दै गइरहेको छ । अस्पतालले सन् २०२० मा ८५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा उसको कारोबार ९४ करोड ८० लाख रुपैयाँमाथि पुग्यो ।
यस्तै, बी एण्ड बी अस्पतालले सन् २०२२ मा १ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार ग¥यो । सन् २०२३ मा १ अर्ब ४२ करोड रुपैयाँ बढीको कारोबार गरेको अस्पतालले सन् २०२४ मा १ अर्ब ९५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् १९९४ मा दुई जना वरिष्ठ चिकित्सकहरु प्रा.डा. अशोककुमार बाँस्कोटा र प्रा.डा. जगदीश लाल वैद्यले अस्पतालको स्थापना गरेका हुन् । अस्पतालले मेडिकल, सर्जिकल र डाइग्नोष्टिक सेवा विस्तार गर्दै लगेको छ ।
सुरुमा अर्थोपेडिक्सका लागि कहलिएको बी एण्ड बी अस्पतालले अहिले युरोलोजी, जनरल सर्जरी, कार्डियोलोजी, न्यूरोलोजी, अकंलोजीलगायतका सेवा दिदैं आएको छ ।
अस्पतालको स्वामित्व प्रा.डा. बाँस्कोटा, प्रा.डा. वैद्य र उनका परिवारका सदस्यहरुको नाममा रहेको छ ।