२०८१ असोज ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने


काठमाडौं—नेपाल नेत्रज्योति संघले बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । २३ असोजमा विश्वदृष्टि दिवसका अवसरमा संघअन्तर्गतका देशभरमा संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गर्न लागेको हो ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन र आईएपीबीले बाल आँखा स्वास्थ्यलाई प्राथमिकतामा दिएकाले नेपाल नेत्रज्योति संघले पनि बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका संजालबाट अक्टोबर ९ तारिख अर्थात २३ असोजमा एक दिन बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गरिनेछ ।

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभरमा संचालित २८ वटा आँखा अस्पताल तथा १६० आँखा उपचार केन्द्रहरुबाट उक्त दिन १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परिक्षण गरिनेछ । ‘पछिल्लो समय विश्वभरी नै बालबालिकाहरुमा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यो पटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइरहेका छौं,’ महासचिव चन्दले भने ।

नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब ७ लाख बालबालिकाहरु अझैपनि दृष्टिदोषको उपचारबाट बन्चित रहेका छन् ।

पछिल्लो समय डिजिटल माध्यमहरुको बढ्दो प्रयोगले समेत बालबालिकाहरुमा दृष्टि दोषको समस्या समेत बढिरहेको संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त बताउँछन्। ‘दृष्टिदोषको समस्या भएका बालबालिकाहरुले आँखा परिक्षण पश्चात चश्मा लगाएमा उनीहरुको उत्तीर्ण दरमा समेत ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनहरुले समेत देखाएकोे छ,’ प्रा.डा. पन्त भन्छन्, ‘नेपालमा अधिकांश बालबालिकाहरु र उनीहरुका अविभावकहरुलाई समेत बालबालिकाको आँखामा समस्या भएको जानकारी समेत हुँदैन्, त्यसैले बालबालिकाहरुलाई हरेक वर्ष विद्यालय पठाउनु अघि आँखा परीक्षण गर्न जरुरी छ ।’

आईएपीबीकाअनुसार अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा उपचार आवश्यक पर्ने दृष्टि सम्बन्धि समस्या छ भने त्यसमध्यमा धेरै बालबालिकाहरुले सस्तो र सुलभ आँखा उपचार प्राप्त गर्न सकिरहेका छैनन् ।

त्यसैगरी, कम र मध्यम आय भएका देशहरुमा दृष्टि गुमाएका बालबालिकाहरुको बिद्यालय जाने सम्भावना करिब २.५ गुणाले कम हुने देखिएको छ । त्यसैले बाल आँखा स्वास्थ्यका बारेमा सबैलाई सचेत बनाएर बालबालिकाहरुको आँखा सम्बन्धि समस्याहरुको समयमै उपचार गराउन आवश्यक छ ।

सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाइदैं आइएको छ । यो वर्ष पनि विश्वभरी नै ‘आँखालाई माया गरौं : बालबालिकाको आँखालाई विशेष ख्याल गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइदैंछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ