२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेशनल न्यूरो सेन्टरमा ‘बीएलएस’ तालिम सम्पन्न

नेशनल न्यूरो सेन्टरमा ‘बीएलएस’ तालिम सम्पन्न


काठमाडौं-महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरमा बेसिक लाइफ सपोर्ट (बीएलएस) तालिम सम्पन्न भएको छ । आइतबार सिमुलेसन सोसाइटी अफ नेपालसँगको सहकार्यमा सेन्टरले उक्त तालिम सम्पन्न गरेको हो ।

तालिममा सेन्टर र भैरहवास्थित न्यूरो एलाइड क्लिनिकका ३० जनाभन्दा बढी चिकित्सक, नर्स, फार्मासिष्ट, फिजियोथेरापिष्ट लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तालिममा विशेषगरी अकस्मात हृदयको चाल बन्द भएको अवस्थामा कसरी बिरामीलाई प्राथमिक उपचारमार्फत कसरी ज्यान बचाउन सकिन्छ भन्नेबारे तालिम दिइएको सिमुलेसन सोसाइटी अफ नेपालकी अध्यक्ष युनिशा श्रेष्ठले जानकारी दिइन् । ‘हामीले विगत लामो समयदेखि यस्तो तालिम विभिन्न स्थानमा गएर दिँदै आएका छौँ,’ उनी भन्दै थिइन्, ‘आज हामीले स्वास्थ्यकर्मीलाई यो तालिम दिइरहेका छौँ यस्तो तालिम आमनागरिकलाई पनि दिन आवश्यक छ ।’

नेपालमा लामो समयदेखि सिमुलेसनको पार्ट रहेतापनि यसका लागि सरकारले खासै ध्यान दिन नसकेको श्रेष्ठले बताइन् । ‘यस्तो खालको शिक्षा विद्यालयका शिक्षक विद्यार्थीदेखि सवारीचालकसम्मलाई दिन सकिन्छ,’ उनले भनिन् ।

यस्तै, नेशनल न्यूरो सेन्टरका निर्देशक एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले विदेशमा यस्ता खालको तालिम विद्यालय तहमै विद्यार्थीहरुलाई दिइने तर, नेपालमा अझै अभ्यासमा आउन नसकेको बताउँछन् । त्यसैलाई मध्यनजर गर्दै नेशनल न्यूरो सेन्टरले सुरुवाती चरणमा आफ्ना चिकित्सक, नर्स, पारामेडिक्सहरुबाट नै सुरुवात गरेको उनले बताए । ‘हुन त हामीहरुले सिमुलेसन गरिरहेकै हुन्छौँ तर हामीले गरिरहेको तरिका ठीक छ कि छैन भनेर जाँच्नका लागि हाम्रा चिकित्सक, नर्स, फिजियोथेरापिष्ट, फार्मासिष्ट, पारामेडिक्स, कर्मचारीलाई यो अवसर दिएका हौँ,’ उनले भने, ‘सेन्टरमा कुन बेला यस्तोखाले बिरामी आउनुहुन्छ थाहा हुँदैन यदि हामीले सबैलाई सिमुलेसन तालिम दिन सक्यौँ भने जसले पनि बिरामीको ज्यान बचाउन सक्नुहुन्छ ।’

डा. थापाका अनुसार यो तालिम अब गाउँगाउँमा पुर्याउन जरुरी छ । ‘हामीले यस्तो तालिम गाउँ गाउँका मानिसहरुलाई दिन सक्यौँ भने धेरैको ज्यान बचाउन सक्छौँ,’ उनले भने, ‘यसमा सरकारले बेलैमा ध्यान दिनुपर्छ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ