काठमाडौं—रोटरी क्लब अफ महाराजगन्ज र केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालयका तीन सुधार गृहमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । १२ साउनबाट संचालित उक्त निःशुल्क स्वास्थ्य शिविर महिला सुधार गृह, केन्द्रीय सुधार गृह र भद्र सुधार गृहमा संचालन भएको थियो ।
उक्त निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरअन्तर्गत आँखा स्वास्थ्य, दाँत तथा मुख स्वास्थ्यको जनचेतना, स्वस्थ राख्न सरसफाईमा दिनुपर्ने ध्यानहरु, परीक्षण, परामर्श, उपचार, चश्मा तथा आवश्यक औषधी वितरण गरिएको थियो ।
शिविर कारागार कार्यालय, सुनधारामा रहेका महिला तथा पुरुष कैदी, थुनुवा वन्दीहरु र कार्यरत कर्मचारीसमेत ४ हजार जनालाई लक्षित थियो । जसबाट प्रत्यक्ष रुपमा ३० देशका १ सय ४४ विदेशीसहित २ हजार ७ सय ३३ जनाले आँखा तथा दाँत परिक्षण र परामर्श लिएका थिए ।
जसमा १ सय ८० जनाको दाँत सफा र ९ सय ६५ जनालाई पत्रपत्रिका तथा अध्ययनका लागि आवश्यक चस्मा, पावरवाला र सनग्लास चस्मा वितरण गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको अध्यक्षतामा भएको उक्त शिविरमा राष्ट्रिय योजना आयोगका सदस्य रोटरियन डा. जयबहादुर टण्डन, कारागारका प्रशासक कृष्णवहादुर कटुवाल, रोटरी क्लव अफ महाराजगन्जका अध्यक्ष ई. सुदर्शन भण्डारीले मन्तव्य राखेका थिए ।