काठमाडौं—सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको दुई महिनापछि उनको मृत्यु भएको हो ।
गत मार्चमा मिर्गौलाका रोगबाट गम्भीर बिरामी बनेका ६१ वर्षीय रिचार्ड रिक स्लेम्यानले मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका थिए । अस्पतालले त्यो बेला यो प्रत्यारोपणलाई चिकित्सा विज्ञानमा माइलस्टोन भनेको थियो ।
यस उपलब्धिलाई संसारभर मिर्गौला कमीको सम्भावित समाधानका रुपमा हेरिएको थियो । तर, शनिबार अस्पतालले स्लेम्यानको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित कारणले नभएको जनाएको छ ।
स्लेम्यानको परिवारले उनको उपचारमा संलग्न मेडिकल टिमप्रति आभार व्यक्त गरेको छ । उनको परिवारले डाक्टरहरुका कारण रिकसँग आफूहरुले ७ हप्ता बिताउन पाएको र यो दौरानको स्मृतिहरु आफूहरुको दिल दिमागमा हमेशा रहने उल्लेख गरेको छ ।
मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकले स्लेम्यानले संसारभरका अनगिन्ती बिरामीहरुको मनमा एक आशाको किरण जगाएका बताए । ‘हामी जेनोट्रान्सप्लान्ट (एक प्रजातिको अंग दोस्रो प्रजातिमा प्रत्यारोपण)को क्षेत्रलाई निरन्तर अगाडि बढाउनका लागि उनको विश्वास र इच्छाका लागि आभारी छौं,’ ती चिकित्सकले भने ।
-एजेन्सीको सहयोगमा