अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइदैं आइएको छ । सन् २०२३ मा ‘कसैले पनि स्तन क्यान्सर एक्लै सामना गर्नुपर्दैन’ भन्ने नाराका साथ अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाइदैंछ ।
यो नाराले कुनै पनि स्तन क्यान्सर पीडित बिरामीले स्तन क्यान्सरको रोकथाम र उपचारमा परिवारहरूसँग साझेदारी गर्न सक्ने कुराको वकालत गर्दछ । रोगको बारेमा महिलाहरूमा सचेतना जगाउने, रोगको प्रभावकारी रूपमा सामना गर्न र समयमै उपचार पाउन प्रारम्भिक जाँचको महत्व बुझाउनु नै अन्तर्राष्ट्रिय स्तन क्यान्सर सचेतना महिनाको प्रमुख उद्देश्य हो ।
स्तन क्यान्सर जीवनलाई खतरामा पार्ने रोग हो । जसले वर्षेनी विश्वभर लाखौं मानिसहरूलाई असर गर्छ । मुख्यतयाः स्तन क्यान्सरले महिलाहरूलाई असर गर्छ । विश्वमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो नम्बरमा छ ।
तर, नेपालमा पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ । ८ महिलामध्ये १ महिलामा र १ हजार पुरुषमध्ये १ पुरूषमा उनको जीवन अवधिभरमा यो क्यान्सर देखा पर्दछ ।
स्तनको तन्तुमा असामान्य कोषिकाहरू अनियन्त्रित रूपमा बढ्न थालेपश्चात स्तन क्यान्सर देखा पर्ने गर्छ । स्तन क्यान्सर, यसको कारण, लक्षण र रोकथामका उपायहरू बुझ्नु प्रारम्भिक पहिचान र प्रभावकारी उपचारको लागि आवश्यक छ ।
स्तन क्यान्सरका कारणहरू
स्तन क्यान्सरको सही कारणहरू अस्पष्ट छन् । तर, धेरै जोखिम कारकहरू यस रोग विकासको सम्भावनासँग सम्बन्धित छन् ।
१. वंशाणुगत
स्तन क्यान्सरको पारिवारिक इतिहाससँग सम्बन्धित क्यान्सर हो । विशेषगरी यदि अघिल्लो पुस्ताका पारिवारिक सदस्यहरुमा देखिएको भएमा पछिल्लो पुस्तामा पनि स्तन क्सान्सरको जोखिम बढी हुन्छ ।
२. हर्मोन
एस्ट्रोजनको लामो समयसम्म एक्सपोजर, जस्तै प्रारम्भिक महिनावारी वा ढिलो रजोनिवृत्तिजस्ता कारणले पनि स्तन क्यान्सरको जोखिम बढाउन सक्छ ।
३. उमेर
स्तन क्यान्सरको जोखिम उमेरसँगै बढ्दै जान्छ । यो अधिकांश ५० वर्षभन्दा माथिका महिलाहरूमा हुने गर्छ ।
४. अस्वस्थकर जीवनशैली
अत्याधिक मदिरा सेवन, धुम्रपान र शारीरिक गतिविधीको कमीजस्ता अस्वस्थ बानीहरूले स्तन क्यान्सरको जोखिममा योगदान पु¥याउँछ ।
५. विकीरण एक्सपोजर
विकीरणको उच्च डोजका कारण पनि यसको जोखिम बढ्छ । जस्तैः अघिल्लो क्यान्सर उपचारको समयमा हुने विकीरण जोखिम पनि स्तन क्यान्सरको कारण बन्न सक्छ ।
स्तन क्यान्सरका लक्षणहरू
स्तन क्यान्सरका सम्भावित लक्षणहरूबारे सचेत हुनु महत्वपूर्ण छ ।
१. स्तन वा अन्डरआर्ममा गाँठो, पीडारहित, कडा मासु सामान्यतयाः प्रारम्भिक लक्षण हो ।
२. स्तनको साइज वा आकारमा परिवर्तन
३. छाला परिवर्तनहरूः क्यान्सरयुक्त स्तनमा रातोपन, डिम्पल वा पकरिङ देखा पर्नु
४. निप्पल परिवर्तनहरूः निप्पलमा दुखाइ हुन सक्छ
५. स्तन दुखाइः स्तन दुखाइ सधैं क्यान्सरको लक्षण नभएपनि लगातार स्तन दुखाइ एक कारण हुन सक्छ ।
स्तन क्यान्सर रोकथामका उपायहरू
केही जोखिम कारणहरू हाम्रो नियन्त्रणभन्दा बाहिर भएतापनि स्तन क्यान्सरको जोखिम कम गर्न हामीले चाल्न सक्ने कदमहरू यसप्रकार छन् ।
१. स्वस्थ जीवनशैली, सन्तुलित आहार, नियमित व्यायाम, लागुपदार्थ सेवन र धुम्रपान नगर्ने
२. स्तनको आत्मपरीक्षणः स्तनमा कुनै परिवर्तनहरू पत्ता लगाउन नियमित आत्मपरीक्षण गर्ने
३. क्लिनिकल स्क्रिनिङः स्वास्थ्यकर्मीले भनेअनुसार नियमित म्यामोग्राम र क्लिनिकल स्तन परीक्षणहरू गर्ने
४. आनुवंशिक परामर्शः यदि स्तन क्यान्सरको पारिवारिक इतिहास छ भने जोखिम मुल्यांकन गर्न आनुवंशिक परामर्श लिने
५. स्तनपानः केही अध्ययनकाअनुसार स्तनपानले स्तन क्यान्सरको जोखिम कम गर्न सक्छ ।
अतः स्तन क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या हो । तर, प्रारम्भिक पहिचान र नौलो उपचार विधिको आविष्कारले नियमित रोगको निदानमा उल्लेखनीय सुधार भएको छ । नियमित स्क्रिनिङ, स्वस्थ जीवनशैली र लक्षणहरूको सचेतनाले स्तन क्यान्सरलाई रोक्न र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यदि तपाईंले आफ्नो स्तनमा कुनै असामान्य परिवर्तनहरू शंका गर्नुहुन्छ भने उचित मूल्याङ्कन र मार्गदर्शनको लागि स्वास्थ्यकर्मीसँग परामर्श गर्न आवश्यक छ ।
(अधिकारी एमबीबीएस दोस्रो वर्षकी विद्यार्थी हुन् ।)