काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । शुक्रबार एक कार्यक्रम गरी उनले उक्त पुस्तक ५ असोजबाट बजारमा आउने जानकारी दिए ।
जीवन–सम्बन्ध, संस्कार, पारिवारिक सम्बन्ध, आमाबुबाको हेरचाह, जीवन संघर्ष, सफलता र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।
व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै सम्बन्धहरूको गहिराईलाई केलाइएको छ । लेखकले यस पुस्तकमार्फत मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने कोशिस गरेका छन् । पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ रहेका छन् ।
उक्त किताबको बजार मूल्य ६ सय रुपैयाँ तोकिएको छ भने विशेष प्रकाशनको मूल्य १ हजार ( हार्डकभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्याग) रहेको छ । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा. ओम फाउन्डेसनले जनाएको छ ।
‘जीवन्त सम्बन्ध’ पुस्तक अनलाइनमार्फत बिक्रीका लागि आजदेखि बुकिङ खुल्ला गरिएको छ । दराज, ई–सेवा, हाम्रो पात्रोलगायतका अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ । काठमाडौैं उपत्यकाभित्र अनलाइनमार्फत् अर्डर गर्ने पाठकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था छ ।
देशभरका पुस्तक पसलहरूमा भने समीक्षा पब्लिकेसनले वितरण गर्नेछ । साथै, विभिन्न सुपर स्टोर एवम् कपी सप तथा क्याफे आउटलेटहरूमा समेत यो पुस्तक उपलब्ध हुनेछ ।