काठमाडौं—मुटु सम्बन्धी स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय फोटो पत्रकार समूह नेपालका पूर्व केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इञ्चार्ज राजेन्द्र थापालाई उपचारमा आर्थिक कठिनाई भएपछि सहयोग जुटाउन थालिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहले थापाको उपचारका लागि आर्थिक सहयोग अपिल गरेको छ । मंगलबार संस्थाका उपाध्यक्ष सुशील श्रेष्ठ, सागर श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठको उपस्थितिमा उपाध्यक्ष शुशील कुमार श्रेष्ठले त्रिवि शिक्षण अस्पताल पुगेर एनएफपिजे नेपाल आपतकालीन राहत कोषमार्फत २५,००० हजार रुपैयाँको चेक थापालाई हस्तान्तरण गरेका छन् ।
संस्थाका सदस्य तथा शुभचिन्तकहरुले एनएफपिजे नेपाल आपतकालीन कोषमा आर्थिक सहयोग जुटाएका थिए। सोही रकम थापालाई हस्तान्तरण गरिएको हो ।
उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या देखिएपछि थापा एक हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा बसेर उपचार गराइरहेका छन् । ‘म एक हप्तादेखि उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा बसेर उपचार गराइरहेको छु,’ उनले भने, ‘यो समस्या देखिएको एक महिना भयो ।’ यसअघि उनी धनगढीबाट नै उपचारका लागि आउने जाने गर्दै आएका थिए ।