नयाँदिल्ली—भारतको सेरम इन्स्टिच्युटले पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर) विरुद्ध बनाएको खोप ‘सेरभाभ्याक’ यही महिनाबाट बजारमा पाइने भएको छ । २ हजार मुल्य भएको यो खोपका दुई डोज हुनेछन् ।
यो सर्वाइकल क्यान्सर विरुद्ध भारतमा बनेको पहिलो ह्युमन पेपिलोमा भाइरस (एचपीभी) भ्याक्सिन हो ।
भ्याक्सिनको सेरम इन्स्टिच्युट अफ इण्डिया, डिपार्टमेन्ट अफ बायोटेक्लोलोजी, बायोटेक्नोलोजी इन्डष्ट्री रिसर्च असिस्टेन्ट काउन्सिल र विल एण्ड मेलिन्डा फाउण्डेसनले मिलेर बनाएका हुन् । सेरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाकाअनुसार सुरुवाती चरणमा खोप केही कम हुने छ । आगामी वर्ष भने खोप उत्पादनलाई बढाइने उनले बताएका छन् ।
भारतीय सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशमा देशभर छात्राहरुलाई सर्वाइकल क्यान्सरको रोकथाम र एचपीभी खोपको महत्वका बारेमा सचेतना फैलाउन निर्देशन दिएको छ । यसका अलावा पाठेघरको मुखको क्यान्सरको खतरा रोकथामका लागि भारत सरकारले चाडै स्कुल तहमा भ्याक्सिनेसन कार्यक्रम संचालन गर्ने बताइएको छ । भारतीय केन्द्रीय सरकारको यो अभियानका क्रममा सुरुमा ९ देखि १४ वर्षसम्मका केटीहरुले यो खोप दिइनेछ ।
सर्वाइकल क्यान्सर संसारभरमा महिलाका लागि दोस्रो सबैभन्दा घातक बिमारी मानिन्छ । यो क्यान्सर योनीबाट सुरु भएर मुत्रासय, मलाशयलगायतका अंगहरुमा तीब्र गतिमा फैलिन्छ । यो क्यान्सर पेपिलोमा भाइरसको संक्रमणबाट हुने गर्छ । बढी ध्रुमपान गर्ने र इम्युनिटी कम नर्गे औषधी सेवन गर्ने महिलाहरुमा यसको खतरा बढी हुने गर्छ ।
-एजेन्सीको सहयोगमा